काठमाडौँ । जेनजी विद्रोहपछि राज्यसत्ता र विशेष महाधिवेशनपछि पार्टीसत्ताबाट समेत किनारा लागेको नेपाली कांग्रेसको एउटा समूहले धार्मिक नीति बदल्दै हिन्दु राष्ट्रको पक्ष लिएको छ ।
पूर्वसभापति शेरबहादुर देउवा हङकङबाट फर्किएपछि नेता शशांक कोइरालाको नेतृत्वमा सम्पन्न राष्ट्रिय सम्मेलन (राष्ट्रिय भेला भनेर शुरु गरिएको) ले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने निर्णय गरेको हो ।
सम्मेलनका निर्णयको तेस्रो बुँदामा भनिएको छ, ‘नेपालमा सनातनदेखि चलिआएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालमा रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गर्दै सनातनदेखि चलिआएका हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने ।’ संविधान संशोधनको बहस चलिरहेका वेला कांग्रेसको इतर समूहले हिन्दु राष्ट्रको पक्षमा रहने गरी नीतिगत निर्णय लिएको हो । आवश्यकताका आधारमा संशोधन गर्न संविधानमा भएको व्यवस्थाअनुसार नै सम्बन्धित सबैसँग संवाद गरी निकास दिने सम्मेलनको चौथो निर्णयमा उल्लेख छ । अर्थात्, कांग्रेसको देउवा–कोइराला समूहले अब नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने धार्मिक एजेन्डालाई स्थापित गरेको छ ।
नेता डा. प्रकाशशरण महतले देउवासहित सबैको सहमतिमा सनातन धर्मको पक्षमा सम्मेलनले निर्णय गरेको दाबी गरे । उनले अन्य सबै धर्मावलम्बीको धार्मिक स्वतन्त्रता सुनिश्चित गर्ने गरी सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अगाडि बढाउने निष्कर्ष निकालिएको बताए । ‘सभापति (देउवा) सहित हामी धेरै साथीहरू राष्ट्रिय पहिचानका रूपमा सनातन धर्म हुनुपर्छ भन्ने सबैको सहमतिका साथ त्यो निर्णय गरिएको हो’, उनले भने, ‘सनातनदेखि चल्दै आएका हिन्दु, बौद्ध धर्म, किरात, प्राकृत धर्महरूलाई संरक्षण गर्ने गरी राष्ट्रिय पहिचानको रूपमा अगाडि बढाउने कुरा हो । पहिला यसमा कन्फ्युजन थियो। अहिले स्पष्ट पारेर अघि बढिएको हो ।’
पूर्वसभापति देउवा स्वयं सम्मेलनमा खुलेर प्रस्तुत भए। तीन पटक ‘म हिन्दु हुँ’ भन्दै उनले सनातन हिन्दु धर्मका पक्षमा आफूलाई उभ्याए । भेलाको अन्तिम दिनको छोटो सम्बोधनमा उनले पटक–पटक आफू हिन्दु भएको दोहोर्याएका थिए । ‘नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा छु म। नेपाल के हुने, के नहुने भन्ने कुरा त नेपाली जनताको हातमा छ । तर नेपाली हिन्दुलाई ‘हिन्दु हुन पाउँदैनस्’ भन्न चाहिँ पाइँदैन’, उनले जोड दिएर भने, ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ !’
त्यसो त यसअघि शंकर भण्डारी समूहले कांग्रेसभित्र हिन्दु राष्ट्र र राजसंस्थाको आवाज उठाउँदै आएको थियो । त्यो आवाज अहिलेसम्म एउटा धारमा सीमित थियो । तर अहिले भने कांग्रेसको सिंगो इतर समूहले धार्मिक एजेन्डालाई राजनीतिक मुद्दा बनाएको हो । हिन्दु धर्मसापेक्ष राष्ट्र बनाउने उद्देश्यका साथ एजेन्डा अघि सारिए पनि इतर समूहभित्रै यसमा मतैक्य भने छैन। पूर्वउपसभापतिसमेत रहेका नेता विमलेन्द्र निधि र प्रकाशशरण महतबीच शब्दावलीलाई लिएर मञ्चमै कागज खोसाखोस भएको थियो ।
निधि ‘धार्मिक स्वतन्त्रता’ मात्र राख्नुपर्ने पक्षमा थिए भने महतले सनातनदेखि मानिँदै आएका धर्म मान्न सबै स्वतन्त्र हुने भाषा राख्न खोजेका थिए । अन्ततः देउवाले हस्तक्षेप गरेपछि महतको भाषा पारित भयो ।
त्यसो त कांग्रेसकै नेतृत्वमा नेपाललाई धर्मनिरपेक्ष राज्यका रूपमा परिभाषित गरिएको वर्तमान संविधान जारी भएको थियो । अहिले इतर समूहमा रहेका अधिकांश शीर्ष नेताहरू त्यसका हस्ताक्षरकर्ता हुन् । यही संविधानको व्यवस्थाभन्दा फरक ढंगले धर्मसापेक्ष राज्यको मुद्दा बनाउने प्रयासमा देउवा कांग्रेसभित्रै एकमत देखिएको छैन । संविधानकै हस्ताक्षरकर्ता मध्येका एक रामहरि खतिवडा नेपाल बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले धर्मसापेक्ष हुन नहुने बताउँछन् ।
‘कसैले यही धर्म राज्यको हुन्छ भनेर हुँदैन । नेपाल भनेको बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । सबै जाति, वर्ग र धर्म सबैको अस्तित्व कायम गर्नुपर्छ’, उनी भन्छन्, ‘म चाहिँ व्यक्तिगत रूपमा धार्मिक स्वतन्त्रताको पक्षको मान्छे हुँ। संविधानमा सही गरेको छु ।’ खतिवडाका अनुसार धर्मको नाराले चुनाव जित्ने वा जनमत बढाउँछ भन्ने ठान्नु भ्रम मात्रै हो । उनी भन्छन्, ‘धर्मको नारा लिएर चुनाव जितिन्छ, जनमत बढ्छ भन्ने कुरा भ्रम हो । त्यसो हो भने त कमल थापाले कहिल्यै चुनाव नहार्नुपर्ने !’
कांग्रेसको इतर समूहले हिन्दु राष्ट्रसँगै घुमाउरो रूपमा राजसंस्थातिर पनि रुझान देखाएको छ । सम्मेलनले बीपी कोइरालाको २०३३ सालको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिलाई आजको संकटसँग जोड्दै राष्ट्रिय तथा लोकतन्त्रवादी शक्तिसँग संवाद गर्ने निर्णय गरेको छ । बीपीले त्यसबेला राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि तत्कालीन राजसंस्था र लोकतन्त्रवादी शक्तिबीच सहकार्यको आवश्यकता देखाएका थिए । अहिले देउवा–कोइराला समूहले त्यही इतिहासलाई ब्युँताएको हो । निर्णयको दुई नम्बर बुँदामा भनिएको छ, ‘२०३३ सालमा महामानव बीपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखी देश फर्कनुभएको थियो । आज पनि देश अप्ठेरो स्थितिमा छ । यस अवस्थामा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील रहने ।’
राजसंस्थाको नाम नलिए पनि देउवा–कोइराला कांग्रेसले त्यसतर्फ रुझान देखाउँदै बहसको ढोका भने खुलाएको देखिन्छ । जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक वातावरण र विशेष महाधिवेशनपछि मूलधारबाट बाहिरिएको कांग्रेसको इतर समूहका लागि चुनौती एउटै छ– राजनीतिक अस्तित्व कसरी जोगाउने ? त्यसैले धर्म, राष्ट्रिय पहिचान र बीपीको मेलमिलाप नीतिलाई एउटै राजनीतिक प्याकेजमा जोडेर अघि बढेको देखिन्छ । राजनीतिक विश्लेषक डा. लोकराज बराल राजनीतिक पुनरुत्थानका लागि मात्रै धार्मिक राजनीतिको सहारा देउवा कांग्रेसले लिएको औँल्याउँछन् । तर यसलाई उनी औचित्यहीन पश्चगमनतर्फको कदमका रूपमा अर्थ्याउँछन् ।
‘यो अरू केही होइन । अस्तित्व संकटमा परेको वेला केही मान्छेलाई मोबिलाइज गर्न सकिन्छ अथवा ध्यानाकर्षण गर्न सकिन्छ कि भनेर मौका छोपेको देखिन्छ। राजवादीहरूको साथ पनि लिन खोजेको र बाह्य रूपमा पनि बीजेपी (भारतीय जनता पार्टी) को समर्थन पाइएला भनेर यतातर्फ अग्रसर भएको देखिन्छ’, उनी भन्छन्, ‘तर मैले चाहिँ यसको औचित्य देखेको छैन । अग्रगामी हुनुपर्नेमा यो पश्चगमनतिरको यात्रा हो ।’ विश्लेषक बराल बीपीले नै जनमत संग्रहका वेला नेपाललाई हिन्दुराष्ट्र बनाउने विषयलाई ‘फ्रड’ भनेको दाबी गर्छन् । ‘उनीहरू आफूलाई बीपीको चेला र अनुयायी भन्छन्, तर बीपीले नै जनमत संग्रहका बेला नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नु फ्रड हो भनेर भनेका छन् ।’
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































