हिमनदीको पहिरो कसरी विपत्ति बन्यो ?

पहिलो नजरमा तीव्र बाढीजस्तो देखिने रसुवागढीको घटना वास्तवमा तीव्र रूपमा अस्थिर बन्दै गएको हिमालय क्षेत्रमा विकसित भएका शृंखलाबद्ध घटनाहरूको अन्तिम कडी मात्र हो

जब जलवायु परिवर्तन ग्राफ वा तथ्यांकबाट बाहिर निस्केर पानी, बरफ, चट्टान र हिलोको विशाल पर्खालका रूपमा प्रकट हुन्छ, त्यतिबेला कस्तो दृश्य सिर्जना हुन्छ भन्ने कुराको दर्दनाक सम्झना हिमालयले यसै हप्ता हामीलाई गराएको छ ।

नेपाल–तिब्बत सीमापारि हिमनदीको अचानक पहिरो जाँदा आएको विनाशकारी बाढीले गाउँबस्ती, सडक, पुल र जलविद्युत् पूर्वाधारहरू बगाएर तहसनहस बनाइदियो । उद्धार कार्यहरू अझै जारी छन्, जहाँ सयौँको मृत्यु भएको पुष्टि भइसकेको छ र यो संख्या अझै बढ्दैछ । तर एउटा कुरा भने पहिले नै प्रस्ट भइसकेको छ, यो कुनै सामान्य मनसुनी बाढी मात्र थिएन।

प्रारम्भिक मूल्यांकनहरूले घटना परम्परागत हिमताल विस्फोटपछिको बाढी नभई, बरफ र चट्टानको हिमपहिरो वा हिमनदीको पहिरोका कारण उत्पन्न भएको विशाल लेदो सहितको बहाव भएकोतर्फ संकेत गरेका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले पछि स्पष्ट पारेअनुसार सुरुमा भूकम्पका रूपमा दर्ता भएको तरङ्ग कुनै भूगर्भीय हलचल नभई हिमनदी ढल्ने र लेदो बहावकै कारण उत्पन्न भएको भूकम्पीय तरङ्ग थियो ।

वैज्ञानिक दृष्टिकोणले हेर्दा हिमालयको भिन्नताले महत्व राख्छ । तर राजनीतिक र नैतिक रूपमा यसले खासै फरक पार्दैन । हिमालय क्षेत्र तीव्र रूपमा अस्थिर भूबनोटमा परिणत भइरहेको छ र जलवायु परिवर्तनले यसलाई अझ भयावह बनाउँदै लगेको छ । युनिभर्सिटी अफ एक्सेटरको ग्लोबल सिस्टम्स इन्स्टिच्युट र १६० भन्दा बढी अनुसन्धानकर्ताहरूको नेतृत्वमा तयार पारिएको ग्लोबल टिपिङ पोइन्ट्स रिपोर्ट २०२५ अनुसार तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसको नजिक पुग्दै गर्दा वा त्यसलाई नाघ्दा टिपिङ–पोइन्ट (अन्तिम संकटको बिन्दु) को जोखिम उच्च हुन्छ ।

प्रतिवेदनले उल्लेख गरेअनुसार निरन्तरको तापक्रम वृद्धिका कारण अनपेक्षित वा तीव्र प्रतिक्रिया देखाउन सक्ने प्रणालीहरूमध्ये हिमाली हिमनदीहरू पनि एक हुन् । टिपिङ पोइन्टहरू एक्लै आउँदैनन् । मूल्यांकन गरिएका अधिकांश प्रणालीहरूबिचको अन्तरक्रियाले एकअर्कालाई झन् अस्थिर बनाउँछ । एउटा परिवर्तनले अर्को परिवर्तनको सम्भावनालाई बढाउँछ, जसले गर्दा पारिस्थितिक र मानवीय प्रणालीहरूलाई शृंखलाबद्ध जोखिममा धकेल्छ ।

त्यसैले यो चिन्ता यसै हप्ता प्रभावित भएका उपत्यकाहरूमा मात्र सीमित छैन । तात्तै गएको हिमनदी खुम्चिएर सानो मात्र हुँदैन, पूर्णरूपमा फरक प्रकारको खतरामा परिणत हुन सक्छ । हिमनदीहरू पग्लिएर पछि हट्दै गर्दा पग्लेको पानी तालहरूमा जम्मा हुन्छ, जुन प्रायः बरफ, चट्टान र मोरेन (हिमोढ) का अस्थायी र अस्थिर पर्खालहरूले रोकिएका हुन्छन् । यी तालहरू तीव्र गतिमा फैलिन सक्छन् । अचानक आउने हिमपहिरो, भूक्षय, बरफ ढल्ने वा पर्खाल फुट्ने घटनाले तल्लो तटीय क्षेत्रमा विशाल मात्रामा पानी र लेदो बगाएर ल्याउन सक्छ । भिरालो हिमाली उपत्यकाहरूमा बाँकी काम गुरुत्वाकर्षणले नै गरिदिन्छ ।

क्षेत्रीय स्तरमा ५ हजार ४०९ वटा हिमाली हिमतालहरूको विश्लेषण गर्दा सन् १९९० देखि २०२० बिच तिनको संख्या र क्षेत्रफल दुवै बढेको पाइएको छ, जसमा मध्य र पूर्वी हिमालयका क्षेत्रहरूमा यो विस्तार बढी केन्द्रित छ । सुप्राग्लासिएल तालहरू (हिमनदीको माथिल्लो सतहमा बन्ने तालहरू) को अध्ययनले पनि चञ्चल बरफ र पानीको यस्तै कथा भन्छ । यी नक्सामा कोरिएका कुनै अमूर्त जोखिमहरू मात्र होइनन् । यी वास्तविक गाउँ, सडक, पुल, जलविद्युत् आयोजना र तीर्थाटनका मार्गहरूभन्दा ठीक माथि बनिरहेका छन् ।

फरक परिणामहरू

खतरा पहिले नै यस भूबनोटभित्र निर्माण भइसकेको छ । यस क्षेत्रमा ५ हजारभन्दा बढी हिमतालहरू अवस्थित छन् र हिमाली हिमताल विस्फोटको जोखिमबारे गरिएका अध्ययनहरूले के देखाउँछन् भने १०० वर्षमा एक पटक आउने यस्ता बाढीले मुख्य मनसुनी नदीहरू सरहकै उच्च बहाव तल्लो क्षेत्रमा पठाउन सक्छन् । हिमनदीहरू पनि निरन्तर खुम्चिरहेका छन् । १४ हजार ७९८ हिमाली हिमनदीहरूको साइन्टिफिक रिपोट्र्सअनुसार तिनले ‘लिटिल आइस एज’ (लघु हिमयुग) यताको आफ्नो कम्तीमा ४० प्रतिशत क्षेत्रफल गुमाइसकेका छन् र हालैका वर्षहरूमा बरफ पग्लिने दर विगतको दीर्घकालीन औसतभन्दा लगभग १० गुणा तीव्र छ ।

जलवायु परिवर्तनको अर्थ हरेक प्रकारका हिमताल विस्फोटन बाढीहरू एकनास र सीधा रेखामा बढ्दै जान्छन् भन्ने होइन । नेचर क्लाइमेट चेन्जको अध्ययनले सन् १९८० को दशकको उत्तराद्र्धदेखि हिमालयमा मोरेनले थुनिएका हिमताल फुटेर आएका बाढीहरूमा कुनै सांख्यिकी रूपमा उल्लेख्य वृद्धि नभएको पाएको छ । यद्यपि भूबनोट नै परिवर्तन भइरहेको छ, यसको एक्सपोजर (जोखिमको दायरा), संकट निम्त्याउने कारकहरू, कमजोर बिन्दुहरू र यसका परिणामहरू बदलिरहेका छन् ।
यो अझ जटिल र सम्भवतः अझ बढी खतरनाक समस्या हो । हामी सडक, बाँध, सुरुङ, होटल र बस्तीहरू यस्तो हिमाली प्रणालीमा निर्माण गरिरहेका छौँ, जसले अब पुराना मान्यता र अनुमानअनुसार काम गर्न छाडिसकेको छ । हिमाली उपत्यकाहरू साँघुरा छन् र तिनले इन्जिनीयरिङको घमण्डका लागि कुनै ठाउँ छाड्दैनन् । परम्परागत जलवायु जोखिम मूल्यांकन यस्ता अनपेक्षित र तीव्र व्यवहारलाई सम्बोधन गर्न सक्ने गरी बनेका छैनन् । टिपिङ–पोइन्ट जोखिमहरूमा अनिश्चितता, आकस्मिक परिवर्तन र शृंखलाबद्ध प्रभावहरू समावेश हुन्छन् । दक्षिण एसियाका लागि यसको मूल्य निकै ठूलो छ । ३ अर्बभन्दा बढी मानिसहरू संकटमा रहेका मनसुनी प्रणालीमा निर्भर छन्, जबकि हिमाली नदी, हिमनदी र पर्वतीय पारिस्थितिक प्रणालीले तल्लो तटीय क्षेत्रका खेतबारी, सहर, जलविद्युत् र अर्थतन्त्रलाई जीवन दिन्छन् ।

गलत प्रश्न सोध्दै

हरेक विपत्तिपछि सोधिने परम्परागत प्रश्न भनेको के जलवायु परिवर्तनले यो गराएको हो त भन्ने हुन्छ । यो प्रायः गलत प्रश्न हो । सही प्रश्न त के हो भने के जलवायु परिवर्तनले भूबनोटलाई यस्तो बनाउँदैछ, जसले पहिले दुर्लभ, साना वा नियन्त्रण गर्न सजिला मानिने विपत्तिहरूलाई अझ बढी बारम्बार र विनाशकारी रूपमा उत्पन्न गराउन सक्षम बनाउँदैछ ? तीव्र रूपमा यसको उत्तर ‘हो’ भन्ने नै आउँछ ।
हाम्रोसामु यही छनोट छ, ऊर्जा प्रणालीलाई जीवाश्म इन्धनबाट टाढा लैजाने । पूर्वाधार नियोजनलाई जलवायु उत्थानशीलतातर्फ मोड्ने । सीमापार हिमनदी र हिमतालहरूको वास्तविक समयमा अनुगमन प्रणाली निर्माण गर्ने । तल्लो तटीय क्षेत्रमा बस्ने मानिसहरूसम्म वास्तविक रूपमा पुग्ने पूर्वसूचना प्रणालीहरू बनाउने । अनि हिमाली उपत्यकाहरूलाई अर्को सडक, बाँध वा रिसोर्टको पर्खाइमा बसेका खाली ठाउँका रूपमा हेर्न छाड्ने ।

त्यसैले क्षेत्रीय सहकार्य राजनीतिक मौसमको बन्दी बनिरहन सक्दैन । नदी, हिमनदी र लेदोको बहाव नक्साका रेखामा रोकिँदैनन्, न त तिनले कूटनीतिक सम्बन्ध सुधार हुने पर्खाइ नै गर्छन् । भारत, नेपाल, भुटान, पाकिस्तान, बंगलादेश र चीनलाई साझा हिमनदी तथ्यांक, संयुक्त जोखिम मानचित्रण, खुला जलवैज्ञानिक जानकारी र अन्तर्राष्ट्रिय तनावका समयमा पनि काम गर्ने विपद्–चेतावनी प्रोटोकलहरू आवश्यक छन् । उच्च हिमालयमा शंका र अविश्वासका कारण ढिलो भएको चेतावनी, ढिलो गरी पुगेको चेतावनी साबित हुन सक्छ । (लेखक वातावरण अनुसन्धानकर्ता तथा सनवे सेन्टर फर प्लेनेटरी हेल्थ मलेसियाका एडजङ्कट फेलो हुन् ।) एनडीटीभीबाट भावानुवाद