इरानसँगको युद्ध सुरु भएको ६ महिना बितिसक्दा खाडी क्षेत्रमा वास्तवमा के–के परिवर्तन भए भन्नेबारे समीक्षा गर्नु उपयुक्त हुन्छ ।
२०२५ जुनमा कतारस्थित अल उदिएड वायुसेना ढाँचामा इरानले गरेको मिसाइल आक्रमणपछि मैले आगामी वर्षहरू खाडीका लागि अझ जोखिमपूर्ण हुने र अन्ततः गहिरो रक्षा सहकार्य एवं एकीकरण अनिवार्य बन्ने तर्क गरेको थिएँ । यसै महिनाको सुरुमा मैले यहाँ लेखेको थिएँ कि खाडीले अब पुराना सुरक्षा उपकरणहरूमा मात्र पूर्ण रूपमा निर्भर रहन सक्दैन र उसले आफ्नै एउटा सुरक्षा पारिस्थितिक प्रणाली निर्माण गर्नुपर्ने हुन्छ । अहिलेसम्मका घटनाक्रमहरूले ती दुवै तर्कहरूको समग्र दिशालाई पुष्टि गरेका छन् ।
विगत ६ महिनामा के कुरा अझ स्पष्ट भएको छ भने युद्धले केवल रक्षा बजेट मात्र बदलिरहेको छैन वा नयाँ सुरक्षा सम्झौबाहरू मात्र सिर्जना गरिरहेको छैन । यसले खाडी मुलुकहरूले सुरक्षालाई हेर्ने दृष्टिकोण नै बदल्न थालेको छ, उनीहरूले क–कससँग काम गर्नुपर्छ, आफ्ना साझेदारहरूबाट के अपेक्षा राख्नुपर्छ र जब वास्तवमै कुनै संकट सुरु हुन्छ, तब सहकार्य कस्तो हुनुपर्छ भन्ने कुरामा परिवर्तन आउँदैछ ।
यीमध्ये केही परिवर्तनहरू प्रस्ट देखिन्छन् ।
मिसाइल, ड्रोन र अन्य प्रकारका अवरोधहरूबाट सहरहरू, ऊर्जा पूर्वाधारहरू, विमानस्थलहरू, बन्दरगाहहरू र समुद्री व्यापारिक मार्गहरू कति संवेदनशील र जोखिममा छन् भन्ने कुरा युद्धले प्रत्यक्ष रूपमा देखाएको छ । अभ्यास र योजना सम्बन्धी दस्तावेजहरूमा प्रायः छलफल गरिने खतराहरू अहिले तत्कालका कार्यगत समस्या बनेका छन् ।
दशकौँदेखि खाडीको सुरक्षा एउटा परिचित ढाँचामा टिकेको थियो, संयुक्त राज्य अमेरिकाले मुख्य बाह्य सुरक्षा छाता प्रदान गर्थ्यो, खाडी मुलुकहरूले वासिङ्टन र अन्य पश्चिमी राजधानीहरूसँग द्विपक्षीय सम्बन्ध कायम राख्थे र जीसीसीले एउटा क्षेत्रीय ढाँचा प्रदान गर्थ्यो, जसमा रक्षा एकीकरण अझै असमान थियो ।
त्यो प्रणाली हराएको छैन । न त यो हराउनु नै पर्छ । अमेरिकी सुरक्षाका लागि वासिङ्टन अझै पनि अपरिहार्य छ र निकट भविष्यमा पनि उसले केन्द्रीय भूमिका खेलिरहनेछ । के कुरा मात्र परिवर्तन भइरहेको छ भने यो ढाँचा आफैँमा पर्याप्त छ भन्ने पुरानो मान्यता अब रहेन ।
युद्धले अझ बढी तहगत सुरक्षा प्रणालीतर्फको यात्रालाई तीव्र बनाएको छ । खाडी मुलुकहरूले आपसमा सहकार्य बलियो बनाउँदै व्यापक साझेदारहरूसँगको सम्बन्धलाई गहिरो बनाइरहेका छन् । टर्किए अझ महत्वपूर्ण बन्दै गएको छ । युरोपेली राष्ट्रहरूसँग कार्यगत भूमिका खेल्न सक्ने ठूलो क्षमता छ । विद्यमान द्विपक्षीय सैन्य सम्बन्धहरूबाट अझ बढी नतिजाको अपेक्षा गरिँदैछ भने पुराना संयन्त्रहरूसँगै नयाँ क्षेत्रीय प्रबन्धहरू पनि उभरिरहेका छन् ।
साउदी अरब, टर्किए र पाकिस्तानबिच भएको मक्का संयुक्त रक्षा सम्झौता, यसको सबैभन्दा स्पष्ट भर्खरैको उदाहरण हो । कुनै एक देशमाथि भएको सशस्त्र आक्रमणलाई सबैमाथिको आक्रमण मानिनेछ भन्ने यसको घोषणालाई तुरुन्तै नेटोसँग तुलना गरियो ।
यो सिद्धान्त खाडी सुरक्षाका लागि आफैँमा नयाँ भने होइन । जीसीसीको विद्यमान संयुक्त रक्षा सम्झौताले पहिले नै कुनै एक सदस्यमाथिको आक्रमणलाई सबैमाथिको आक्रमणका रूपमा हेर्छ, जुन प्रतिबद्धतालाई जीसीसी राष्ट्रहरूले वर्तमान युद्धका क्रममा पटक–पटक दोहोर्याएका छन् । मक्का सम्झौतालाई के कुराले फरक बनाउँछ भने यसले सामूहिक रक्षाको यो तर्कलाई जिसीसीभन्दा बाहिर विस्तार गर्दै साउदी अरबलाई टर्किए र पाकिस्तानसँग जोड्छ ।
नेटोसँगको तुलना बुझ्न सकिने खालको छ तर यसले वास्तवमा के भइरहेको छ भन्ने मुख्य कुराबाट ध्यान मोड्न पनि सक्छ । खाडीलाई नेटोको हुबहु प्रतिलिपि बनाउनु आवश्यक छैन, न त समग्र मध्यपूर्व नै एउटै मर्यादाक्रम र खतराको एउटै बुझाइमा बनेको ठूलो सुरक्षा गठबन्धनका लागि उपयुक्त छ ।
खाडी मुलुकले सामना गर्ने खतरा कुनै दिन राज्यबाट आउन सक्छ भने अर्को दिन गैरराज्य पक्षबाट । एउटा खतरालाई समान रूपमा हेर्ने देशहरूको अर्को खतराका बारेमा धेरै फरक दृष्टिकोण हुन सक्छ । अनि कुनै पनि क्षेत्रीय देश जतिसुकै सक्षम भए पनि हरेक सम्भावित गठबन्धनको स्थायी राजनीतिक र सैन्य नेताका रूपमा स्वीकारिने सम्भावना हुँदैन ।
यसको सट्टा एउटा ठूलो महागठबन्धनको साटो एकअर्कामा खप्टिएका साझेदारीहरूको प्रणाली भर्खरै उदीयमान भइरहेको देखिन्छ । फरक–फरक देशहरूले फरक–फरक खतराहरूविरुद्ध मिलेर काम गर्नेछन् । केही प्रबन्धहरू खाडीको नेतृत्वमा हुनेछन्, अन्यले क्षेत्रीय वा पश्चिमी साझेदारहरूलाई भित्र्याउनेछन् ।
यस्तो प्रणालीका लागि नेतृत्वका बारेमा सोच्ने फरक तरिका पनि आवश्यक पर्छ । स्थायी मर्यादाक्रम वरिपरि बनेको क्षेत्रीय सुरक्षा संयन्त्रले सधैँ प्रतिरोधको सामना गर्नेछ । खाडी र मध्यपूर्वी राष्ट्रहरू आफ्नो सार्वभौमिकताप्रति सचेत छन् र टेबलमा निकै फरक–फरक क्षमताहरू लिएर आउँछन् ।
त्यसैले नेतृत्वले खतराको पछ्याउनुपर्छ । तत्कालको खतरा सामना गरिरहेको देशसँग प्रतिक्रियाका उद्देश्यहरू, वृद्धिको स्वीकार्य स्तर र आफ्नो भूभागको प्रयोग तोक्ने प्रमुख राजनीतिक आवाज हुनुपर्छ । तर कार्यगत नेतृत्वले राजनीतिक मर्यादाक्रमलाई नै पछ्याउनुपर्छ भन्ने छैन ।
समुद्री संकटलाई सम्भवतः सबैभन्दा बलियो नौसैनिक क्षमता भएको साझेदारले उत्कृष्ट ढङ्गले सम्हाल्न सक्छ । वायु रक्षा संकटमा सबैभन्दा सान्दर्भिक क्षमता भएको साझेदारले ठूलो कार्यगत भूमिका लिनुपर्ने हुन सक्छ ।
यस प्रकारको लचिलपन नै गहिरो सुरक्षा सहकार्यका लागि एकमात्र व्यावहारिक आधार हुन सक्छ । तर यो कुरा यी एकअर्कामा खप्टिएका सम्बन्धहरू आवश्यक परेका बेला जोडिन सक्छन् कि सक्दैनन् भन्नेमा निर्भर गर्छ । यहीँनिर अन्तर–सञ्चालनशीलता महत्वपूर्ण बन्छ । यदि धेरै देशहरू संकटमा एकअर्कालाई सहयोग गर्न सहमत हुन्छन् भने के उनीहरूले वास्तवमै त्यो गर्न सक्छन् ? के उनीहरूले द्रूतरूपमा सूचना आदानप्रदान गर्न, आफ्ना सेनाहरूबिच सञ्चार कायम गर्न, निर्णयहरूको समन्वय गर्न र कसलाई के गर्ने अधिकार छ भन्ने कुरा अगाडि नै थाहा पाउन सक्छन् ?
एउटा देशमाथि आक्रमण हुँदैमा हरेक साझेदारले उही तरिकाले प्रतिक्रिया दिनुपर्छ भन्ने छैन । गुप्तचर जानकारी, वायु रक्षा र लजिस्टिकदेखि समुद्री सुरक्षा वा अतिगम्भीर परिस्थितिमा प्रत्यक्ष सैन्य कारबाहीसम्मका धेरै रूपहरूमा सहयोग हुन सक्छ । संकट आउनुअघि यी अपेक्षाहरू जति स्पष्ट हुन्छन्, संकट आउँदा प्रतिबद्धता त्यति नै विश्वासयोग्य हुन्छ ।
ठूलो क्षेत्रीय संस्थाको आवश्यकता नपरिकनै गहिरो एकीकरण कस्तो देखिन सक्छ भन्ने उदाहरणहरू पहिले नै विद्यमान छन् । कतारको बेलायतसँगको सैन्य सम्बन्ध परम्परागत क्रेता–बिक्रेता मोडलभन्दा माथि उठेको छ । ब्रिटिश र कतारी कर्मचारीहरूले संयुक्त स्क्वाड्रनमार्फत सँगै टाइफुन विमानको तालिम र सञ्चालन गरेका छन्, जबकि कतार र टर्किएले संयुक्त सैन्य कमान्ड ढाँचा विकास गरेका छन् ।
यी प्रबन्धहरू वर्तमान युद्धभन्दा अघिका हुन् । बेलायत–कतार सम्बन्धको, यद्यपि युद्धको समयमा पनि परीक्षण भयोः मार्चमा संयुक्त स्क्वाड्रनसँगै सञ्चालनमा रहेको आरएएफ टाइफुनले कतारतर्फ लक्षित इरानी आक्रमणकारी ड्रोनलाई खसालेको थियो ।
एकीकरण सधैँ १० वटा देशहरूले हस्ताक्षर गरेको सन्धिबाट नै सुरु हुनुपर्छ भन्ने छैन । कहिलेकाहीँ यो २ देशका सेनाहरूले कसरी राम्ररी मिलेर काम गर्ने भनेर सिक्नुबाट सुरु हुन्छ । अमेरिकालाई विस्थापित नगरीकनै युरोपले ठूलो भूमिका खेल्न सक्छ । खाडी मुलुकहरूले बेलायत, फ्रान्स, टर्किए र अन्य सक्षम साझेदारहरूसँग गहिरो कार्यगत सम्बन्ध निर्माण गरिरहँदा वासिङ्टन सम्भवतः खाडीको सबैभन्दा महत्वपूर्ण सुरक्षा साझेदारका रूपमा रहिरहनेछ ।
विगत ६ महिनाले त्यसो गर्ने आधारलाई अझ बलियो बनाएको छ । खाडी र युरोपेली सेनाहरूले बढी मात्रामा उस्तै–उस्तै कार्यगत समस्याहरूको सामना गरिरहेका छन्ः मिसाइल, ड्रोन, समुद्री असुरक्षा, इलेक्ट्रोनिक युद्ध र महत्वपूर्ण पूर्वाधारमाथि खतरा । त्यसैले खाडी–युरोपेली रक्षा सम्बन्धको आगामी चरणलाई हस्ताक्षर गरिएका सम्झौताहरूको मूल्यभन्दा पनि परिस्थितिअनुसार उनीहरूका सेनाहरूले वास्तवमै मिलेर काम गर्न सक्छन् कि सक्दैनन् भन्ने आधारमा मूल्यांकन गरिनुपर्छ ।
यसको अर्थ बढी अभ्यास, सम्मिलित कर्मचारी र संयुक्त योजना, साथै द्विपक्षीय साझेदारीहरूलाई व्यापक जीसीसी र क्षेत्रीय ढाँचाहरूसँग जोड्न दिने प्रबन्धहरू हुन् । मक्का सम्झौताले पनि उही परीक्षणको सामना गर्नेछ । टर्किएको रक्षा मन्त्रालयले भनेको छ कि ३ देशहरूले राजनीतिक र सैन्य समन्वय, संयुक्त अभ्यास, वायु–रक्षा सहकार्य र गहिरो रक्षा–औद्योगिक सम्बन्धको योजना बनाएका छन् ।
यद्यपि यी कार्यगत एकीकरणको प्रमाण हुनुको सट्टा योजनाका रूपमा मात्र रहेका छन् । सम्झौताको महत्व अन्ततः सउदी, टर्की र पाकिस्तामी सेनाहरूले सहकार्यको बानी विकास गर्छन् कि गर्दैनन् भन्नेमा निर्भर हुनेछः के उनीहरूले गुप्तचर जानकारी साझा गर्न, वायु रक्षा समन्वय गर्न, सँगै सञ्चालनहरू कायम राख्न र व्यावहारिक सैन्य समस्याहरू समाधान गर्न रक्षा–औद्योगिक सहकार्य प्रयोग गर्न सक्छन् ?
इरान युद्धको ६ महिना बितिसक्दा खाडीको फरक सुरक्षा संयन्त्रको रूपरेखा देखिन थालेको छ । यो एउटै गठबन्धन, एउटा नेता वा खतराको एउटै परिभाषामा आधारित हुने सम्भावना कम छ । न त खाडीले अमेरिकालाई छाड्दैछ, न त दशकौँदेखि सेवा गर्दै आएका सुरक्षा सम्बन्धहरूलाई भत्काउँदैछ । यसको सट्टा यी विद्यमान सम्बन्धहरू वरिपरि एक अझ लचिलो प्रणालीले आकार लिइरहेको छः बलियो खाडी सहकार्य, थप क्षेत्रीय साझेदारीहरू, युरोपेली सेनाहरूसँग गहिरो सम्बन्ध र देशहरूले वास्तवमै सँगै काम गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा बढी जोड ।
यदि तत्कालको खतरा कम भयो भने यो गतिशीलता केही फिक्का हुन सक्छ । अबको चुनौती भनेको विगत ६ महिनाका पाठहरूलाई दिगो बनाउनु हो । अन्ततः परीक्षण एउटा सरल कुरामा रहन्छ । जब अर्को मिसाइल प्रहार हुन्छ, अर्को ड्रोनले सीमा पार गर्छ वा अर्को समुद्री मार्ग खतरामा पर्छ, के सम्बन्धित देशहरूले खतरालाई सँगै देख्न, सँगै निर्णय लिन र सँगै प्रतिक्रिया दिन सक्छन् ?
यदि उनीहरूले सक्छन् भने यो युद्धको सबैभन्दा महत्वपूर्ण विरासत अर्को सन्धि वा अर्को गठबन्धन हुने छैन । यो खाडी सुरक्षा प्रणालीको सुरुआत हुन सक्छ, जुन अझ जोडिएको, अझ लचिलो र यसले वास्तवमा रक्षा गर्नुपर्ने क्षेत्रका लागि अझ बढी उपयुक्त हुनेछ ।
(लेखक सेन्टर फर इन्टरनेसनल पोलिसी रिसर्चका उपाध्यक्ष हुन् ।) अलजजिराबाट भावानुवाद


































