काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले अब आफूलाई कुनै पद वा जिम्मेवारीको लोभ नभएको बताएका छन् ।
कांग्रेसका संस्थापन र इतर पक्षले छुट्टाछुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेका बेला साझा व्यक्तिका रुपमा देउवालाई अघि सारेर महाधिवेशन गर्नुपर्ने केही नेताले बताइरहेका बेला देउवाको यस्तो अभिव्यक्ति आएको हो । मंगलबार सात बुँदे अपिल जारी गर्दै देउवाले अब कुनै पदको लालसा नभएको बताएका छन् ।
‘मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन । अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन,’ देउवाले भनेका छन्, ‘तर राज्य र नेपाली कांग्रेसले मेरो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न म पछि हट्ने छैन ।’ यससँगै उनले कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित सभापति भएका नाताले १५औं महाधिवेशन गर्नु आफ्नो कर्तव्य भएको उनले उल्लेख गरेका छन् ।
देउवाले भनेका छन्, ‘ देशभरिका महाधिवेशन प्रतिनिधिहरूद्वारा विधिवत् सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु मेरो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व हो, र त्यसलाई पूरा गर्नु मेरो कर्तव्य पनि हो ।’
कांग्रेसलाई कमजोर बनाउने कार्य भएमा आफू मुकदर्शक भएर नबस्ने उनले चेतावनी दिएका छन् । ‘नेपाली कांग्रेसको विधान र नेपालको संविधान बमोजिम महाधिवेशन गर्ने पर्याप्त समय बाँकी हुँदा पनि सहमति वेगर हतारमा कथित विषेश महाधिवेशन पक्षधरहरूले पार्टीलाई कमजोर गर्ने, विभाजन गर्ने गरि अवैधानिक रूपले अधिवेशन गरेमा म पार्टीलाई कमजोर गर्ने कार्य हुँदा मुकदर्शक भएर बस्न सक्ने छैन,’ उनले भनेका छन् ।
विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वमा हुने महाधिवेशनमा सहभागी नहुने पनि उनले अपिल गरेका छन् । यससँगै आउँदो मंसिर २१ देखि २३ गतेसम्म हुने एकताको महाधिवेशनमा जुट्न पनि उनले आग्रह गरेका छन् ।
‘नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई पार्टीभित्र देखिएको वर्तमान मतभेदको अन्त्य गर्दै एकताबद्ध रूपमा आगामी मंसिर २१, २२ र २३ गते सम्पन्न हुने १५औँ महाधिवेशनको तयारीमा जुट्नुपर्ने आवश्यकता रहेको विश्वास दिलाउन चाहन्छु,’ देउवाले भनेका छन्, ‘पार्टीभित्रको एकता, सहमति र सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने यस अभियानमा आ–आफ्नो स्थानबाट साथ, सहयोग र सहकार्यका लागि सबैमा हार्दिक अपिल गर्दछु ।’



































