काठमाडौँ । भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरुङमा फसेका मानिसको खोज तथा उद्धार अझै जारी छ ।
बाढीका कारण ११ वटा जलविद्युत आयोजना प्रभावित भएका थिए । तीमध्ये केही आयोजनाका सुरुङमा कामदार तथा प्राविधिकहरू फसेपछि नेपाली सेनाको नेतृत्वमा सुरक्षा निकाय, आयोजनाका प्राविधिक, विदेशी टनेल विशेषज्ञ र अन्य उद्धारकर्मी परिचालन गरिएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार बाढीका कारण प्रभावित ११ वटै आयोजनाका सुरुङमा मानिसहरू फसेका थिए । हाल नेपाली सेनाको नेतृत्वमा रसुवागढी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ए र त्रिशूली–३ बी जलविद्युत आयोजनामा खोज तथा उद्धार भइरहेको छ । उद्धारका क्रममा अहिलेसम्म तीन जनालाई सुरुङबाट जीवितै निकालिएको छ । भदौ १९ गते त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङबाट सञ्जय साह र कविर महर्जनको सकुशल उद्धार भएको थियो । त्यसको भोलिपल्ट अर्थात् भदौ २० गते माथिल्लो त्रिशूली–१ को सुरुङमा करिब २२५ मिटर भित्रबाट चिनियाँ नागरिक लुआइतोको जीवितै उद्धार गरिएको थियो । रसुवागढी जलविद्युत आयोजनाबाट पनि सुरुमा दुई जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।
यता, रसुवा भोटेकोशी जलविद्युत आयोजनाको सुरुङबाट एक जनाको शव फेला परेको छ । त्रिशूली–३ ए आयोजनामा पनि एक जनाको शव भेटिएको छ । भदौ २४ गते रसुवाको रेङ्गास्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको सुरुङभित्र करिब ५० मिटर पुगेपछि एक जनाको शव फेला परेको थियो । त्यसपछि सो आयोजनामा तत्कालका लागि खोजी कार्य रोकिएको छ । बाढी आएको करिब २० दिन पुगिसक्दा पनि सुरुङभित्र फसेका सबै मानिसको अवस्था अझै स्पष्ट हुन सकेको छैन । यही कारण उद्धार कार्य कहिलेसम्म जारी रहन्छ भन्ने प्रश्न पनि उठिरहेको छ । तर सुरुङभित्र अझै जीवित मानिस भेटिन सक्ने सम्भावना रहेको भन्दै उद्धारकर्मीले खोजीलाई निरन्तरता दिएका छन् ।
पूर्वऊर्जामन्त्री कुलमान घिसिङले पनि चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र जीवित मानिस भेटिने सम्भावना रहेको बताउँदै आएका छन् । चिलिमेमा आठ जना मानिस फसेको अनुमान छ । उनीहरूको खोजीलाई अहिले उच्च प्राथमिकतामा राखिएको छ । ठूलो उपकरण प्रयोग गरेर सुरुङभित्रको अवरोध हटाउने र पानी निकाल्ने काम भइरहेको छ । नेपाली सेनाले भने सुरुङको ‘ब्रेक थ्रु’लाई खोज तथा उद्धारको मुख्य आधार बनाएको छ । अर्थात् सुरुङको अवरुद्ध भाग पार गरेर सम्पूर्ण सुरुङ क्षेत्रमा पहुँच नपुगेसम्म खोजी कार्य जारी राख्ने सेनाको तयारी छ ।
सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतका अनुसार सरकारले खोज तथा उद्धार रोक्ने निर्णय नगरेसम्म अभियान निरन्तर चल्नेछ । उनले सुरुङको ब्रेक थ्रुलाई नै खोज तथा उद्धारको ‘बटमलाइन’ बनाइएको बताए । उनका अनुसार कुनै सुरुङमा खोजी रोक्ने वा अन्य निर्णय गर्नुपर्ने अवस्था आएमा सम्बन्धित आयोजनाका प्राविधिक र विशेषज्ञको सुझावसमेतलाई आधार बनाइनेछ । ‘विशेष गरी टनेल ब्रेक थ्रुलाई हामीले खोज तथा उद्धारको बटमलाइन बनाएका छौँ,’ बस्नेतले भने, ‘सरकारले खोज तथा उद्धारलाई निरन्तरता गरेसम्म रोकिँदैन । बीचमा रोक्ने निर्णय गरेमात्र रोकिन्छ ।’
अहिले सुरक्षाकर्मीले आयोजनाका प्राविधिक र विदेशी विशेषज्ञसँग समन्वय गरेर संयुक्त रूपमा खोजी गरिरहेका छन् । सेनाले आफूखुसी छुट्टै ढंगले काम नगरी सम्बन्धित आयोजनाका प्राविधिकलाई समेत उद्धार कार्यमा सहभागी गराएको छ । सुरुङको संरचना, पानीको अवस्था, सम्भावित जोखिम र भित्र फसेका मानिसको सम्भावित स्थानबारे आयोजनाका प्राविधिकको जानकारीलाई आधार बनाएर उद्धार अभियान अघि बढाइएको छ ।
चिलिमे जलविद्युत आयोजनाको सुरुङमा भने उद्धार निकै चुनौतीपूर्ण बनेको छ । हेभी इक्विपमेन्टअन्तर्गत लोडर र एक्स्काभेटर प्रयोग गरेर सुरुङभित्रका ठूला ढुंगा तथा अन्य अवरोध हटाउने प्रयास भइरहेको छ । बाढीका कारण सुरुङभित्र लेदो, ढुंगा र मोबिल मिसिएको पानी जमेकाले उद्धार टोलीलाई भित्र पस्न कठिन भइरहेको छ । उद्धारमा खटिएका प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेका अनुसार चिलिमेको सुरुङमा करिब १६० मिटर भाग जलमग्न छ । अहिले पम्पको सहायताले पानी निकाल्ने काम भइरहेको छ । पानीको सतह घटेपछि सेनाको उद्धार टोली अझ भित्रसम्म पुग्न सक्ने अपेक्षा गरिएको छ । बाहिरबाट आएको पानीको तीव्र बहावका कारण सुरुङभित्र ठूला ढुंगा समेत बगेको हुनसक्ने आकलन गरिएको छ ।
चिलिमेमा नेपाली उद्धार टोलीसँगै भारतीय टनेल विशेषज्ञको टोली पनि परिचालन भएको छ । सुरुङभित्रको अवस्था मूल्यांकन गर्दै सुरक्षित ढंगले बाटो खोल्ने र सम्भावित स्थानमा पुग्ने प्रयास भइरहेको छ । रसुवागढी जलविद्युत आयोजनामा पनि नेपाली सेना, आयोजनाका प्रतिनिधि र विदेशी टनेल विशेषज्ञको संयुक्त टोलीले खोजी गरिरहेको छ । लाङटाङ जलविद्युत आयोजनामा विदेशी विशेषज्ञसहितको उद्धार टोलीले ड्रोनको प्रयोग गरेर सुरुङ तथा आसपासको क्षेत्रमा खोजी गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
माथिल्लो त्रिशूली–१ मा नेपाली सेनासँगै आयोजनाका प्रतिनिधि, चिनियाँ र कोरियन विशेषज्ञ परिचालन भएका छन् । यस आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार भइसकेको छ । त्रिशूली–३ ए मा पावरहाउस तथा सुरुङ क्षेत्रमा संयुक्त टोलीले खोजी जारी राखेको छ । त्यसैगरी त्रिशूली–३ बी मा सेनासहितको संयुक्त टोलीले एक्स्काभेटर र लोडरको प्रयोग गरेर आयोजनाको आवास गृह, कार्यालय भवन तथा सुरुङ क्षेत्रमा खोजी गरिरहेको छ । पावरहाउसतर्फ समेत खोजी कार्य अघि बढाइएको छ ।
बाढीपछि सुरुङभित्र फसेका मानिसको उद्धार सामान्य खोजीभन्दा निकै जटिल बनेको छ । सुरुङभित्र पानी, लेदो, ढुंगा र अन्य संरचनात्मक अवरोधका कारण प्रत्येक चरणमा जोखिम बढेको छ । कतिपय ठाउँमा सुरुङको अवस्था कस्तो छ भन्ने यकिन गर्नसमेत कठिन छ । त्यसैले उद्धारकर्मीले उपकरण र विशेषज्ञको सहयोगमा क्रमशः अवरोध हटाउँदै अगाडि बढिरहेका छन् । बाढी आएको लामो समय भइसके पनि जीवित उद्धारको सम्भावना पूर्ण रूपमा समाप्त भएको निष्कर्षमा उद्धार टोली पुगेको छैन । विगतमा विपद्का घटनामा लामो समयपछि पनि मानिस जीवित भेटिएका उदाहरणलाई समेत ध्यानमा राख्दै सुरुङको सम्पूर्ण भागमा पहुँच नपुगेसम्म खोजीलाई निरन्तरता दिने रणनीति बनाइएको छ ।
यसकारण अहिले नै सुरुङमा खोजी कहिले समाप्त हुन्छ भन्ने निश्चित मिति तोकिएको छैन । सेनाका अनुसार सम्बन्धित सुरुङमा ‘ब्रेक थ्रु’ भएर सम्पूर्ण सम्भावित क्षेत्रमा खोजी पूरा भएपछि मात्र त्यसको अवस्था मूल्यांकन हुनेछ । सरकारको निर्णय, सुरुङको प्राविधिक अवस्था र विशेषज्ञहरूको सुझावका आधारमा त्यसपछि मात्रै खोजी रोक्ने वा निरन्तरता दिने विषय टुंगो लाग्नेछ । बाढीले पुर्याएको क्षति र सुरुङभित्रको कठिन अवस्थाका बीच उद्धार टोलीका लागि अहिलेको मुख्य चुनौती भनेको सम्भावित जीवित व्यक्तिसम्म सुरक्षित रूपमा पुग्नु हो । त्यसैले उद्धार अभियानको समयभन्दा पनि सुरुङको अन्तिम भागसम्म पुगेर वास्तविक अवस्था पत्ता लगाउनु अहिले प्राथमिकतामा परेको छ । सुरुङभित्र कोही जीवित छ कि छैन भन्ने अन्तिम निष्कर्ष नआएसम्म खोजी अभियान रोक्ने पक्षमा उद्धार संयन्त्र देखिएको छैन ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































