सरकारले कामको गति बढाउनुपर्ने रास्वपाकै निष्कर्ष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारको पछिल्लो ६ महिनाको कामकारबाहीको समीक्षा गर्दै समग्र प्रस्तुति सन्तोषजनक रहे पनि कामको गति बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

जनताले सरकारबाट गरेको अपेक्षा पूरा गर्न रसार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सरकारको कार्यसम्पादनमा तीव्रता आवश्यक रहेको पार्टीको निष्कर्ष छ ।  रास्वपाको केन्द्रीय समिति बैठकमा सरकार गठन भएको ६ महिनाको अवधिमा भएका काम, सरकारको कार्यशैली र नागरिकका अपेक्षालगायत विषयमा समीक्षा गरिएको थियो । बैठकले सरकारको नियत र काम गर्ने उद्देश्यमा प्रश्न उठाउने अवस्था नरहेको निष्कर्ष निकाल्दै उपलब्ध कामलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको हो । बैठकपछि पार्टीका प्रवक्ता जगदीश खरेलले सरकारको ६ महिनाको अवधिको समीक्षा गरिएको जानकारी दिँदै कामकारबाही सन्तोषजनक रहे पनि अपेक्षित गति हासिल गर्न बाँकी रहेको बताए । उनका अनुसार सरकारले काम गर्ने क्रममा देखाएको सक्रियतालाई थप बढाउँदै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी नतिजा दिनुपर्ने आवश्यकता बैठकले औँल्याएको छ ।

‘सरकारको ६ महिने अवधिको समीक्षा बैठकमा भयो । सरकारको नियतमा कुनै पनि प्रश्न उठेको छैन । कामकारबाही सन्तोषजनक नै छ । तर गति बढाउनुपर्‍यो भन्ने निष्कर्ष छ,’ प्रवक्ता खरेलले भने ।

सरकार गठन भएपछि विभिन्न क्षेत्रमा सुधारका प्रयास भइरहे पनि नागरिकका अपेक्षा उच्च रहेकाले ती अपेक्षालाई सम्बोधन गर्न कामको रफ्तार बढाउनुपर्ने पार्टीको बुझाइ छ । सरकारका नीति, योजना र कार्यक्रमको प्रभाव नागरिकको दैनिक जीवनमा देखिने गरी कार्यान्वयन गर्नुपर्नेमा बैठकमा जोड दिइएको हो । बैठकमा पार्टी सभापति रवि लामिछानेले पनि सरकारलाई जनअपेक्षाअनुसार काम गर्न निर्देशन दिएका थिए ।

नागरिकले परिवर्तनको अपेक्षासहित सरकारबाट परिणाम खोजिरहेको उल्लेख गर्दै उनले सरकार र नागरिकबीचको सम्बन्ध अझै बलियो बनाउनुपर्नेमा जोड दिएको प्रवक्ता खरेलले जानकारी दिए । सरकारले गरेका निर्णय र अघि सारेका योजनाको प्रभावकारी कार्यान्वयनसँगै नागरिकका गुनासा सम्बोधन गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सभापति लामिछानेको निर्देशन रहेको खरेलले बताए । सरकारका कामबारे नागरिकलाई जानकारी गराउने, उनीहरूका समस्या सुन्ने र सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउने विषय पनि सरकार र नागरिकबीचको सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण मानिएको छ ।

रास्वपाले सरकारको ६ महिनाको कार्यकाललाई समग्रमा सन्तोषजनक माने पनि अबको अवधिमा कामको गति र परिणाम दुवैमा सुधार आवश्यक रहेको सन्देश दिएको छ । सरकारप्रति नागरिकको अपेक्षा पूरा गर्न ढिलासुस्ती हटाउने, योजनाको कार्यान्वयनलाई तीव्रता दिने र जनताले प्रत्यक्ष लाभ पाउने कामलाई प्राथमिकता दिनुपर्ने पार्टीको निष्कर्ष छ ।  सरकारको कामकारबाहीको समीक्षा गर्दै रास्वपाले आगामी दिनमा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको हो । पार्टी नेतृत्वले दिएको निर्देशनअनुसार सरकारले जनअपेक्षालाई केन्द्रमा राखेर काम गर्ने र नागरिकसँगको सम्बन्धलाई थप सुदृढ बनाउने विषयलाई आगामी कार्यदिशाका रूपमा अघि बढाउनुपर्ने देखिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।