हुम्ला । मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि हुम्लाका विभिन्न स्वास्थ्य संस्थामा रुघाखोकी तथा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्न थालेको छ।
जिल्लाका विभिन्न गाउँपालिकामा समेत बिरामी बढेपछि सार्वजनिक बिदाका दिनमा पनि स्वास्थ्यकर्मी परिचालन गरी उपचारको व्यवस्था मिलाइएको छ।
जिल्ला अस्पताल हुम्लामा पछिल्लो तीन सातादेखि कडा खालको रुघाखोकीका बिरामी बढी आउन थालेको चिकित्सक मुकेश यादवले बताए । उनका अनुसार अस्पतालमा दैनिक ३० देखि ४० जनासम्म मौसमी फ्लुका बिरामी उपचारका लागि आउने गरेका छन्।
बिरामीको चाप बढेपछि दसैँ बिदाका समयमा पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई २४ सै घण्टा उपचार सेवामा खटिने व्यवस्था गरिएको उहाँले जानकारी दिए । मौसममा आएको परिवर्तन र चिसो बढ्नुका कारण मौसमी फ्लुका बिरामी बढेको उनको भनाइ छ।
चिकित्सक यादवले रुघाखोकीबाट बच्न तातोपानी तथा झोलिलो खानेकुरा सेवन गर्न, आवश्यक सावधानी अपनाउन र चाडपर्वका बेला खानपानमा ध्यान दिन आग्रह गर्नुभएको छ। साथै, स्वास्थ्यको ख्याल नगरी जथाभाबी बाहिर ननिस्कन पनि उनले सुझाव दिएका छन् ।
ताँजाकोट गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामलाल देवकोटाका अनुसार गाउँपालिकाका पाँचवटै वडामा रुघाखोकीका बिरामी बढेका छन् । बिरामीको सङ्ख्या बढेपछि सार्वजनिक बिदा भए पनि गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालन गरेर उपचार सेवा उपलब्ध गराइएको उनले बताए ।
यसैगरी, अदानचुली गाउँपालिकाका स्वास्थ्य संस्थामा पनि मौसमी फ्लुका बिरामी बढिरहेको स्वास्थ्य शाखाले जनाएको छ। बिरामीको उपचारमा सहजता ल्याउन दसैँ बिदामा रहेका स्वास्थ्यकर्मीलाई समेत बोलाएर परिचालन गरिएको छ।
सर्केगार्ड, खार्पुनाथ र नाम्खा गाउँपालिकामा पनि मौसमी फ्लुका बिरामी बढेको सम्बन्धित स्वास्थ्य शाखाहरूले जनाएका छन्। जिल्लाका विभिन्न क्षेत्रमा बिरामीको सङ्ख्या बढ्दै गएपछि स्वास्थ्य संस्थाले बिदाका समयमा समेत उपचार सेवा सञ्चालन गरिरहेका छन्।




































