आफन्तको खबर र डिएनए रिपोर्टको पर्खाइमै बित्यो दसैँ

बर्दिया । रसुवामा आएको बाढीमा परेर बेपत्ता भएका आफन्तको अवस्था पत्ता लाग्ने आशामा बर्दियाका धेरै परिवारले यस वर्षको दसैँ बिताएका छन् ।

कामको सिलसिलामा रसुवा पुगेका आफन्त बाढीपछि सम्पर्कविहीन भएपछि उनीहरू डिएनए परीक्षणको नतिजा पर्खेर बस्न बाध्य भएका हुन्।

गत भदौ १० गते रसुवामा आएको बाढीमा परेर बेपत्ता भएका व्यक्तिको पहिचानका लागि आफन्तले डिएनए परीक्षण गराएका थिए। तर, परीक्षणको नतिजा समयमा नआउँदा परिवारका सदस्यमा अन्योल र चिन्ता थपिएको छ। चाडपर्वका बेला पनि आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदा उनीहरूको दसैँ खल्लो बनेको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार कामका लागि रसुवा पुगेका बर्दियाका २५० जनामध्ये ११९ जना सम्पर्कमा आएका थिए भने ७६ जना अझै सम्पर्कविहीन छन्। बाँकी व्यक्तिहरूको अवस्थाबारे स्पष्ट विवरण प्राप्त हुन सकेको छैन । सम्पर्कविहीनमध्ये सबैभन्दा धेरै बारबर्दिया नगरपालिकाका २७ जना छन्।

बर्दियाका आठ स्थानीय तहमध्ये गुलरिया नगरपालिकाका दुई, मधुवन नगरपालिकाका एक, राजापुर नगरपालिकाका ११, ठाकुरबाबा नगरपालिकाका १०, बारबर्दिया नगरपालिकाका २७, बाँसगढी नगरपालिकाका १२, गेरुवा गाउँपालिकाका १३ र बढैयाताल गाउँपालिकाका एक जना सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कामका लागि रसुवा पुगेका व्यक्तिमध्ये ५३ जना घर फर्किएको विवरणसमेत प्राप्त भएको छ। तर, अझै सम्पर्कमा नआएका आफन्तको अवस्थाबारे जानकारी नहुँदा परिवारका सदस्यको प्रतीक्षा लम्बिएको छ।

बारबर्दिया नगरपालिका–१, जोधीपुरकी सुन्दरा थारूले आफन्तको कुनै खबर नआएका कारण चाडपर्वमा खुसी मनाउन नसकेको बताइन्। त्यस्तै, बारबर्दिया नगरपालिका, मगरागढीकी अन्तरानी थारू श्रीमान् बाढीमा बेपत्ता भएपछि डिएनए परीक्षणको नतिजा पर्खेर बसेकी छन्। श्रीमान्को अवस्था अज्ञात रहनु नै आफ्ना लागि सबैभन्दा ठूलो पीडा भएको उनको भनाइ छ।

बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूले कामका लागि रसुवालगायतका स्थानमा पुगेका नगरवासीको अवस्थाबारे अझै जानकारी प्राप्त हुन नसकेको बताए। डिएनए परीक्षणको नतिजा आउन ढिलाइ हुँदा बेपत्ता व्यक्तिका परिवार थप समस्यामा परेको उनले उल्लेख गरे।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलका अनुसार डिएनए परीक्षणको नतिजा आउन केही समय लाग्ने भएकाले रिपोर्ट प्राप्त हुन ढिलाइ भएको हो। उनका अनुसार दसैँअघि केन्द्रबाट २५६ जनाको डिएनए परीक्षणसम्बन्धी रिपोर्ट प्राप्त भएको थियो। दसैँ बिदा सकिएलगत्तै ती रिपोर्ट कुन जिल्लाका व्यक्तिसँग सम्बन्धित हुन् भन्ने पहिचान गर्ने काम अघि बढ्ने उनले बताए।

आफन्तको अवस्था पत्ता लाग्ने आशामा बसेका परिवारका लागि डिएनए परीक्षणको नतिजा नै प्रतीक्षाको आधार बनेको छ। रिपोर्ट आएपछि मात्रै बेपत्ता व्यक्तिबारे थप स्पष्ट हुन सक्ने भएकाले परिवारजनको चिन्ता र अन्योल अझै कायमै छ।