पालिका उपचुनाव : मतदाताको उत्साहजन सहभागिता

एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान

काठमाडौं । पालिका तहमा रिक्त विभिन्न ४१ पदका लागि अहिले मतदान भइहेको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदानमा मतदाताको उत्साजनक सहभागिता रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले दिएको जानकारी अनुसार सबै केन्द्रमा उत्साजनक र शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । नगरपालिका मेयर एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो ।

यो उपचुनावमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।

एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान

हेटौँडा उपमहानगरपालिका–१२ का एक सय दुई वर्षका गोविन्द लामिछानेले मतदान गरेका छन् । आज वडाध्यक्ष पदका लागि भएको मतदानमा उनि सहभागी भएका हुन् । उनले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।