काठमाडौं । धारिलो हतियार प्रयोग गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-७ घर भई हाल काठमाडौंको डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठ रहेका छन् ।
गत मंगलबार काठमाडौंस्थित परोपकार पुलमुनी धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा फेला परेका काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-१० स्थायी घर भएका ४३ को माइला भन्ने विक्रम तामाङलाई तत्काल उपचारको लागी राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं लगिएको थियो ।
सोही दिन उनको मृत्यु भएपश्चात् घटना सम्बन्धमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले अनुसन्धान गर्ने क्रममा आशिषले घटना घटाएको खुल्न आएकोले उनलाई बुधबार डल्लुबाट पक्राउ गरेको प्रहरी उपरीक्षक अंगुर जिसीले बताए ।
जिसीका अनुसार श्रेष्ठका साथबाट घटनामा प्रयोग भएको चक्कु, सामसुङको मोबाइल थान-१ र घटना हुँदा प्रयोग भएको झोला,सर्ट,पाइन्ट,जुत्ता, कपडाको मास्क थानसमेत पक्राउ गरिएको छ ।



































