एनपीएल: कर्णाली याक्सद्वारा काठमाडौं गोर्खाजलाई १८० रनको लक्ष्य प्र्स्तुत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजसामु १८० रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर काठमाडौं गोर्खाजले पहिले बलिङ गर्ने निर्णय गरेपछि कर्णाली याक्सले ब्याटिङ गरेको थियो । कर्णाली याक्सले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १७९ रन बनाएको हो।

कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए। उनले २२ बलको सामना गर्दै ३ छक्का र ५ चौका प्रहार गरे। त्यस्तै, हुसेन तलतले ३० बलमा ४० रनको योगदान दिए । पवन सर्राफले २४ बलमा अविजित ३० रन बनाए भने गुलशन झाले १२ बलमा २ छक्काको मद्दतमा २० रन जोडे। मार्क वाटले १७ रन बनाउँदा जिसान आलमले ५ बलमा ७ रन बनाए। सोमपाल कामीले २ बलमा १ रनको योगदान दिए ।

काठमाडौं गोर्खाजका लागि करण केसीले सर्वाधिक २ विकेट लिए। सन्तोष यादव, देव शाह, शाहब आलम र जहानदाद खानले समान १–१ विकेट हात पारे । प्रतियोगितामा कर्णाली याक्सले उत्कृष्ट सुरुवात गरेको छ। टोलीले यसअघिका दुवै खेल जित्दै अपराजित यात्रा कायम राखेको छ। कर्णालीले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्स र दोस्रो खेलमा विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

यता, काठमाडौं गोर्खाजले भने प्रतियोगिताको पहिलो खेलमा जनकपुर बोल्ट्ससँग हार बेहोरेको थियो। आजको खेलमा काठमाडौं पहिलो जितको खोजीमा रहेको छ ।