काठमाडौं । सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरीका दुई जना गोताखोर बेपत्ता भएका छन् ।
बिहीबार अपराह्न सशस्त्रका दुई गोताखोर नदीमा बेपत्ता भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
‘हाम्रा दुई जना गोताखोर नदीमा बेपत्ता छन्, खोजी भइरहेको छ,’ उनले भने । सामान्य अवस्थामा यस्तो दुर्घटना नहुने फिल्डमा रहेका कमान्डरले बताएको उनले बताए ।
‘कुनै गम्भीर प्राविधिक समस्या आएको हुन सक्ने र पानीको बहाव अत्यधिक रहेको ठाउँमा दुर्घटना भएको हो,’ उनले भने ।
बेपत्ता हुनेमा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी छन् । मनसुनमा वर्षाको कारण आउने बाढीमा फसेकाहरूको कसरी उद्धार गर्ने भनी अभ्यास गरिरहेको बेला उनीहरू नदीमा हराएका थिए ।





































