काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सहित सबै कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।
उनले केपी शर्मा ओली, मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत विभिन्न धारामा रहेका कम्युनिष्ट नेताहरूलाई एकताको प्रक्रियामा सहभागी हुन आग्रह गरेका हुन् । मंगलबार काठमाडौंको पेरिसडाँडामा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले मुलुक असाधारण संकटबाट गुज्रिरहेको अवस्थामा सबै कम्युनिष्ट शक्ति एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।
राष्ट्रको स्वाधीनता, राष्ट्रिय हित र लोकतन्त्रको रक्षाका लागि व्यक्तिगत आग्रह, पूर्वाग्रह तथा संकीर्ण सोचबाट माथि उठेर एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो । अहिलेको परिस्थितिमा राजनीतिक दल तथा नेताहरूले आफ्ना व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा राष्ट्रलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । प्रचण्डले आज भएको दुई कम्युनिष्ट पार्टीबीचको एकता अन्तिम नभएको उल्लेख गर्दै यसलाई थप बृहत् कम्युनिष्ट एकताको सुरुवातका रूपमा व्याख्या गरे । विगतमा विभिन्न साना–ठूला कम्युनिष्ट घटकलाई एकताबद्ध गर्ने प्रयास गरिएको स्मरण गर्दै उनले अहिलेको एकता त्यसैको अर्को कडी भएको बताए ।
‘कम्युनिष्ट एकताको फेरि एउटा नयाँ कडी जोड्ने उद्घोष आज भएको छ । विगतमा साना–ठूला कम्युनिस्ट घटकहरूलाई एकताबद्ध गर्ने पहल जो गरेका थियौँ, त्यसैको नयाँ कडीका रूपमा आज नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच एकता घोषणा भइराखेको छ,’ उनले भने । उनले अहिलेको एकता नै अन्तिम नभएको स्पष्ट पार्दै अझै धेरै कम्युनिष्ट समूहलाई एकताबद्ध गर्न बाँकी रहेको बताए । त्यसका लागि नेकपा एमालेदेखि विगतमा माओवादी र एमालेका विभिन्न धारामा रहेका समूहहरूलाई समेत एउटै राजनीतिक शक्तिका रूपमा जोड्नुपर्ने उनको भनाइ थियो । ‘यो अन्तिम फेरि होइन । हामीले अरू थुप्रैलाई पनि एकताबद्ध गर्न बाँकी छ । त्यसमा अघि नाम लिइयो, म फेरि पनि भन्न चाहन्छु– नेकपा एमालेदेखि हिजो माओवादी र एमालेका विभिन्न धारामा रहेका सबै समूहहरूलाई पनि एकताबद्ध गर्ने जिम्मेवारी तपाईं–हामी सबैको काँधमा छ,’ उनले भने ।
प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत एकताका लागि खुला आह्वान गरे । कार्यक्रममा माधवकुमार नेपालले ओलीको नाम लिँदा उत्पन्न हुन सक्ने प्रतिक्रियाबारे संकेत गरेको प्रसंग उल्लेख गर्दै उनले आफूलाई त्यस्तो कुनै समस्या नलागेको बताए । उनले ओलीसहित मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरूलाई पनि एकताको प्रक्रियामा आउन आग्रह गरे । विगतमा विभिन्न समयमा सहकार्य र एकता गरेका कम्युनिष्ट शक्तिहरूबीच देखिएका मतभेद तथा उतारचढावलाई आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने उनले बताए । ‘केपी ओलीसमेत, मोहनविक्रमजीसमेत, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव लगायत सबै बाँकी कम्युनिस्ट समूहहरूलाई पनि आजको देशको वस्तुगत आवश्यकता बनेको छ कम्युनिस्टहरूको एकता,’ प्रचण्डले भने । उनले कम्युनिष्टहरूको एकतासँगै देशभक्त र लोकतन्त्रवादी शक्तिहरूबीचको सहकार्य पनि अहिलेको ऐतिहासिक आवश्यकता भएको बताए । मुलुकको राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न राजनीतिक शक्तिहरूबीच साझा समझदारी र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
विगतमा विभिन्न कोणबाट गरिएका एकता र सहकार्यमा थुप्रै उतारचढाव आएको स्वीकार गर्दै प्रचण्डले त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए । विगतका तिक्तता र असमझदारीलाई मात्रै आधार बनाएर अघि बढे राष्ट्रिय आवश्यकता पूरा हुन नसक्ने उनको तर्क थियो । उनले सबै कम्युनिष्ट नेताहरूलाई आफ्नो सोच, बुझाइ र भावनालाई फराकिलो बनाउन आग्रह गरे । राजनीतिक विचार र कार्यशैलीमा फरक मत रहे पनि राष्ट्रको हितलाई केन्द्रमा राखेर साझा राजनीतिक यात्रामा अघि बढ्न सकिने उनले बताए । ‘आज देश असाधारण संकटमा छ । यो बेला हामी सबैले आफ्नो सोचाइलाई, आफ्नो बुझाइलाई, आफ्नो भावनालाई अझ फराकिलो गर्नुपर्ने, सबै खालका आग्रह, पूर्वाग्रह र संकीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा राखेर, देशलाई प्राथमिकतामा राखेर एकताबद्ध हुने आजको आवश्यकता हो,’ उनले भने । प्रचण्डले सबै कम्युनिष्ट तथा देशभक्त लोकतान्त्रिक शक्तिलाई एकताको अभियानमा केन्द्रित हुन आह्वान गर्दै राष्ट्रिय आवश्यकता पूरा गर्न सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिए । प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































