सरकारलाई पेन्डुलम बनाउन खोजियोः प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले राजनीतिक दल र जेनजीको दोहोरो दबाबमा रहेको बताएकी छन् । त्यसकारण सरकारलाई पेन्डुलमजस्तै बनाउने काम भएको उनको धारणा थियो ।

हरेक राजनीतिक दल र जेनजीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाएको प्रधानमन्त्री कार्कीले बताइन् । नले सबै कुरा एकैचोटि हुनुपर्ने आशा सबैतिरबाट भएको बताउँदै राजनीतिक दलले तत्काल छाड्नुपर्ने दबाब दिएको तर जेनजीले तत्काल परिवर्तन खोजेको उनले बताइन् । बिहीबार बाह्रखरी मिडियाद्वारा काठमाडौंमा आयोजित ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री कार्कीले सरकारले काम गरिरहे पनि धेरैले आलोचना मात्रै गर्ने गरेको गुनासो गरिन् ।

“बाहिरकाले काम गरेको देख्दैनन् । एकैपटक हुनुपर्छ भन्ने आशा राख्छन् । तर, यसका लागि क्षमता पनि हुनुपर्छ,” उनले भनिन्, “हामी अचानोजस्तो पो भएछौँ । सबैले आजै छोड भन्छन् । जेनजीले पनि आजै छोड, भोलि नै छोड भन्छन् । हामी पेन्डुलमजस्तो भयौँ ।” अहिलेको अवस्थामा सरकार छोडेर हिँड्ने अवस्था नरहेको उनको जिकिर छ । वर्तमान सरकारले राजीनामा दिए अर्को आउनुपर्ने र आउने सरकारको अवस्था पनि उस्तै नहोला भन्न नसकिने उनको भनाइ छ ।

“छोड भन्दैमा छोडेर हिँड्न पनि भोलि तिमीहरूको औकात छोडेर हिँड्ने रहेछ भनिहाल्छन्,” प्रधानमन्त्री कार्कीले अगाडि थपिन्, “यहाँ कथाकारहरू हुनुहुन्छ । हाम्रो कथा पनि लेख्नुस् । मेरो, गृहमन्त्री र अर्थमन्त्रीको पनि कथा लेख्नुहोस् ।” अहिलेको अवस्था रहे आगामी दिन सहज नहुने उनको टिप्पणी छ । “यस्तै मारकाट भयो भने के हुन्छ, मलाई बंगलादेश चाहिँ नहोस् भन्ने लागेको को हो,” प्रधानमन्त्री कार्की भन्छिन्, “संसद्मा छानिएर आउने व्यक्ति इमानदार हुनुपर्‍यो । मैले अहिले शैली राम्रो देखेको छैन । यही हिसाबले देश चल्दैन । युवा आउनु पर्‍यो । अहिले ५० सम्मकालाई म युवा मान्छु ।”

दिनदिनै विदेशबाट नेपाली डिपोर्ट भइरहेको भन्दै उनले अब देशलाई नै बनाउनुको विकल्प नरहेको बताइन् । “देशलाई गोल्डेन युगमा लैजानुपर्‍यो,” उनले भनिन् । जेनजी सहिद, उनीहरूका प्रत्येक परिवारसँग कथा रहेको प्रधानान्त्री कार्कीको भनाइ छ । “हरेकको कथा बेग्लै छ । जे देख्छौँ र भोग्छौँ त्यही कथा हो । काल्पनिक कथा पनि लेखिन्छ,” उनी भन्छिन्, “देखेको र भोगेको विषयमा कथा लेखिएको हुन्छ । दुःख, सुख, मजाक लेखेको हुन्छ । जेनजीको परिवारसँग भोगाइको कथा छ ।” बाह्रखरीले २५ कथाकारलाई साहित्यमा प्रेरित गरिरहेको उनको भनाइ छ । “अब अरु पनि प्रेरित हुन्छन्,” उनले भनिन् ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।