राजनीतिमा अघि बढे बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच पछिल्ला दिनमा भएको निरन्तर भेटवार्ताले नेपाली राजनीतिमा चासो र कौतुहलता दुवै बढाएको छ ।

बिहीबार करिब अढाई घण्टा चलेको भेटवार्तापछि पनि लामिछानेले सार्वजनिक रूपमा कुनै स्पष्ट धारणा राखेनन् । सामान्यतः सञ्चारमाध्यमसँग खुलेर बोल्ने उनी यसपटक भने निकै संयमित देखिए । यसअघि गत मंगलबार राति उनीहरूबीच झण्डै छ घण्टा लामो छलफल भएको थियो । उक्त छलफलपछि राति साढे एक बजे दुवै जना एउटै गाडीमा सवार भएर बाहिरिँदा खिचिएको तस्वीर सार्वजनिक भएलगत्तै राजनीतिक वृत्तमा ठूलै हलचल मच्चिएको थियो ।

अहिलेका दुई लोकप्रिय र प्रभावशाली युवा नेताबीच सहकार्यको आधार तयार हुन लागेको अनुमान गर्दै पुराना राजनीतिक शक्तिहरू समेत सतर्क बनेका थिए । तर, त्यो भेटघाट सौहार्दपूर्ण रहे पनि तत्काल कुनै ठोस सहमति भने जुट्न सकेको थिएन । दुवैले पहिलोपटक खुलेर आफ्ना सोच र दृष्टिकोण राखे पनि राजनीतिक सहकार्यको ढाँचामा एकमत हुन सकेका थिएनन् । यद्यपि, संवादलाई निरन्तरता दिने सहमति भने बनेको थियो ।

तर, त्यसपछि अवस्था केही बदलिएको देखियो । लामिछाने आफ्ना कानुनी प्रक्रियामा व्यस्त भइरहँदा बालेन भने वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ अग्रसर भए । रास्वपाबाट स्पष्ट प्रस्ताव नआएकाले आफ्नै बाटोको तयारी थाल्नुपरेको बालेन निकट स्रोतहरूको भनाइ छ । बालेनको दीर्घकालीन राजनीतिक आकांक्षा प्रधानमन्त्री बन्नेसँग जोडिएको बताइन्छ । यही लक्ष्यसहित उनले रास्वपासँग सहकार्यको सम्भावना खोजेका हुन् ।

रास्वपाभित्र पनि बालेनसँग नजिक मानिने केही नेताहरूले लामिछानेलाई यस विषयमा मनाउन पहल गरिरहेको बुझिन्छ । तर, लामिछाने आफैँ भने अझै निर्णायक अवस्थामा पुगेका छैनन् । कानुनी बाधा नआए आगामी चुनावपछि प्रधानमन्त्री बन्ने चाहना उनको पनि रहेको चर्चा छ । राजनीतिक वृत्तमा बालेन, रवि लामिछाने र कुलमान घिसिङ एउटै मोर्चामा आएमा बलियो वैकल्पिक शक्ति निर्माण भई चुनावी परिणाम नै बदलिन सक्ने आँकलन गरिएको थियो । तर, तीनै जना आ–आफ्नै रूपमा मैदानमा उत्रिए भोट विभाजन हुने र त्यसको फाइदा परम्परागत दलहरूले उठाउने निश्चित जस्तै देखिन्छ । यही यथार्थका कारण सहकार्यको दबाब तीनै पक्षमा देखिन्छ ।

यसैबीच, सामान्यतया औपचारिक राजनीतिक भेटघाटबाट टाढा रहने बालेन पछिल्ला दिनमा भने निकै सक्रिय भएका छन् । उनले विभिन्न राजनीतिक धारका व्यक्तिहरूसँग भेटघाट बढाएका छन् । कट्टर राजावादीदेखि प्रखर गणतन्त्रवादीसम्मसँग संवाद गरिरहेका उनले राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीसँग गरेको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उक्त भेटमा बालेनले युवाहरूबीच सहकार्य आवश्यक रहेको प्रस्ताव राखेको बताइन्छ । यसले बालेनले रास्वपासँगको सम्भावना पूर्ण रूपमा त्यागिसकेका हुन् भन्ने संकेत भने गर्दैन ।

बरु यो उनको वैकल्पिक रणनीति अर्थात् ‘प्लान बी’ भएको स्रोतहरूको दाबी छ । यदि रास्वपासँग सहमति नजुटे अर्को विकल्प तयार राख्ने र आफ्नो राजनीतिक हैसियत तथा दबाब क्षमता बढाउने उद्देश्यले उनले यी गतिविधि थालेको बुझाइ छ । स्रोतहरूका अनुसार बालेन व्यक्तिगत हैसियतमा भन्दा संस्थागत रूपमा सहकार्य गर्न चाहन्छन् । आफूसँग आफ्नै राजनीतिक दल भए ‘पार्टी प्रवेश’ भन्दा पनि ‘एकता’ को ढाँचामा सहकार्य गर्न सहज हुने उनको सोच छ । यही कारण उनले यसअघि निर्वाचन आयोगमा आफ्ना निकटस्थमार्फत ‘देश विकास पार्टी’ नामक दल दर्ता गराइसकेका थिए, जसलाई अहिले सक्रिय रूपमा प्रयोग गर्न थालेको बताइन्छ ।

रास्वपा पक्षका अनुसार बालेनले छुट्टै पार्टी चलाउने संकेत दिएर रास्वपालाई दबाबमा पार्न खोजेको हुन सक्छ । यसले प्रभाव पनि पारेको देखिन्छ । त्यसै कारण लामिछाने पुनः बालेनसँग वार्तामा बस्न उनी स्वयंले तोकेको स्थानमा पुगेका थिए । आफ्ना सहयोगी कुमार बेनको निवासमा बसेर विभिन्न व्यक्तिहरूसँग छलफल गरिरहेका बालेनले लामिछानेलाई पनि त्यहीँ बोलाएका थिए । तर, त्यो भेटवार्ताबाट पनि कुनै ठोस निर्णय ननिस्किएको स्रोतहरू बताउँछन् । सहकार्य न त पूर्ण रूपमा अघि बढेको छ, न त पूर्ण रूपमा टुटेको । दुवै पक्ष एक–अर्काको रणनीति, सम्भावना र सीमाहरू तौलिरहेको अवस्था छ ।

छोटो समयमा नयाँ पार्टीलाई व्यवस्थित गरेर चुनावमा होमिनु बालेनका लागि सजिलो छैन, त्यसैले उनी केही हदसम्म दबाबमा रहेको आकलन छ । यदि रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा उनलाई स्वीकार गर्न तयार भयो भने सहकार्य सम्भव हुने उनको संकेत देखिन्छ । उता रास्वपाभित्र पनि चिन्ता कम छैन । बालेनले छुट्टै पार्टी बनाएर चुनाव लडे सबैभन्दा ठूलो असर आफ्नै पार्टीलाई पर्ने डर धेरै नेताहरूमा छ । यही कारण सहकार्य अपरिहार्य भएको धारणा पार्टीभित्र बलियो हुँदै गएको छ । त्यसैमा रास्वपामाथि समयको दबाब पनि छ । आउँदो १३ र १४ पुसमा समानुपातिकतर्फको बन्द सूची बुझाउनुपर्ने भएकाले पार्टीले प्राइमरी इलेक्सन प्रक्रिया सुरु गरिसकेको छ । यदि बालेन र कुलमानसँग सहमति भयो भने समानुपातिक सिट बाँडफाँट तीन भागमा गर्नुपर्ने हुन्छ, जसका लागि आवश्यक तयारी गर्न समय अत्यन्तै सीमित छ ।

समग्रमा हेर्दा बालेन र रविबीचको सहकार्य अहिले एक निर्णायक मोडमा पुगेको देखिन्छ । चुनाव जितिन्छ वा जितिँदैन भन्ने अनिश्चितताबीच पनि भावी प्रधानमन्त्री को बन्ने भन्ने प्रश्नमै संवाद अल्झिएको छ । ‘नानी पाउनु कहिले, कन्दनी बाट्नु अहिले’ भन्ने उखानझैँ सत्ता नेतृत्वको विषयमै बहस अड्किँदा सम्भावित सहकार्य अझै अन्योलमै रहेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।