काठमाडौं । महाधिवेशनको मिति नजिकिँदै गएको भए पनि नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचनतिर लागेको छ। आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि निर्वाचनमै केन्द्रित बनेको हो। चार दिनदेखि जारी कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा शनिबारसम्म महाधिवेशनका विषयमा छलफल भए पनि आज भने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लिएर नेताहरूले धारणा राखेका छन्।
विशेष गरेर समानुपातिक उम्मेदवारका विषयमा छलफल भएको कांग्रेस नेताहरूले बताएका छन्। कार्यसम्पादन समितिको बैठकबारे जानकारी दिँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अहिले समानुपातिक उम्मेदवारको सूची बनाउनेतर्फ केन्द्रित भएको बताए। सातै प्रदेशका नेता, कार्यसम्पादन समितिका सदस्य उम्मेदवारको सूचीका लागि प्रदेशका नेता तथा कार्यकर्तासँग छलफल गरिरहेको महतले जानकारी दिए।
‘सातै प्रदेशका नेताहरू, कार्य सम्पादन समितिमा भएका नेताहरूले प्रदेश प्रदेशका नेता तथा कार्यकर्तासँग कुराकानी गर्दै छन्। सबैबाट क्षेत्रबाट आएका नाम एकतृत र परिमार्जन गरेर सूची बनाउँछौँ,’ प्रवक्ता महतले भने, ‘आज समानुपातिक सूचीमा काम गर्दै छौं। भोलि बुझाउँ छौ।’ कांग्रेस महाधिवेशनभन्दा पनि चुनावतर्फ केन्द्रित भएको विषयमा सोधिएको प्रश्नमा प्रवक्ता महतले अहिले चुनाव महत्त्वपूर्ण भएको प्रतिक्रिया दिए। ‘आमनिर्वाचनको कार्यकतालिका आइसकेपछि, भोलिसम्म सूची बुझाउनु भनिसकेपछि, समयसीमा तोकिसकेपछि, अब हामीले समयसीमासँग मतलब छैन, सूची बुझाउने कुरा महत्त्वपूर्ण होइन भनेर भन्नु त भएन नि,’ महतले भने, ‘कुनै पनि पार्टीका लागि सबैभन्दा ठूलो काम त आमनिर्वाचत हो।’ त्यसैले अहिले पार्टी समानुपातिक सूचीमै केन्द्रित भएको उनको भनाइ थियो। ‘प्रतिनिधि सभाको निर्वाचन फागुन २१ मा हुने भनेपछि त्यसमा ११० जना सांसद समानुपातिकबाट निर्वाचित हुन्छन्। अहिले त्यो महत्त्वपूर्ण काम हो,’ उनले भने।
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सूची बनाउन पुस १३ र १४ गते समय तोकेको छ। केही दलले आइतबार सूची बुझाएका छन् बाँकी दल सोमबार बुझाउने गरी तयारीमा जुटिरहेका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)बीच भएको सहमतिले पुराना दललाई प्रभाव पार्ने विषयमा सोधिएको प्रश्नमा पनि उनले केही फरक नपर्ने बताए। ‘मैले खासै प्रभाव पार्ने देख्या छैन,’ महतले भने।
रवि र बालेन दागरहित व्यक्ति नभएकाले खासै फरक नपर्ने महतको भनाइ थियो। ‘उहाँहरू कुनै एकदमै दागरहित, प्रश्न नउठेका व्यक्तित्व त होइन। सबैको बारेमा धेरै ठूलो प्रश्न उठेको छ नि। नेपाली जनताले त्यसलाई मूल्यांकन गरिराखेका छन्,’ उनले भने। उनीहरूसँग राज्य चलाउनका लागि स्पष्ट नीति पनि नभएको उनले औंल्याए। ‘राज्य चलाउनका लागि सुस्पष्ट नीति हुनुपर्छ, दिशा पनि हुनुपर्छ, अनुभव पनि हुनुपर्छ, देशव्यापी संगठन पनि हुनुपर्छ। त्यो भयो भने मात्रै आम नागरिकलाई विश्वास दिलाउन सक्छ,’ रवि–बालेनसँग त्यो नभएको जिकिर गर्दै महतले भने, ‘त्यसैले मलाई के लाग्दछ भने पुराना दलहरू नै, त्यसमा पनि नेपाली कांग्रेस नै सबैभन्दा विश्वसनीय पार्टी हो। धेरै ठूलो जनाधार देशैभरी फैलिएको छ।’
रवि र बालेनका विषयमा उठेका प्रश्न गम्भिर रहेको उनको भनाइ थियो। ती प्रश्नबाट सफाइ नपाउँदासम्म जनताले नपत्याउने बताउँदै महतले भने, ‘उहाँहरूको जस्तो क्रियाकलाप देखिएको छ, उहाँका खिलाप जस्तो प्रश्न उठेको छ, ती गम्भीर प्रकृतिका छन्,’ उनले भने, ‘नेपाली कांग्रेसले आत्तिनुपर्ने कुनै कारण छैन।’
नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची भोलि निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।आइतबार बसेको पार्टी सचिवालय बैठकले समयमै बन्दसूची निर्वाचन आयोगमा पठाउने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । ‘बन्दसूचीलाई भोलि समयमै पठाउने कुराले विभिन्न जिल्लाबाट प्रदेशबाट जसरी सिफारिस भएको छ,’ भट्टले भने । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गरेको उनले बताए । ‘समानुपातिक भनेको संसद्मा व्यवस्थित ढंगले नीति निर्माणमा पठाउने हो । बन्दसूचीमा अध्यक्षले होमवर्क गरेर केही सुझावसहित पारित गरेको छ,’ उनले भने । अध्यक्ष ओलीले आवश्यक ठानेमा उक्त सूचीमा केही करेक्सन हुनसक्ने पनि उनले बताएका छन् । ‘अध्यक्षले आवश्यक ठानेमा केही करेक्सन गरेर निर्वाचन आयोगमा दर्ता गर्न पठाउने भन्ने भएको छ,’ भट्टले भने । ओलीले प्रस्ताव गरेको समानुपातिकतर्फको बन्दसूचीमा ईश्वर पोखरेललाई एक नम्बरमा राख्न उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले सुझाव दिएका छन् ।
च्यासलमा बसेको सचिवालय बैठकमा गुरु बरालको नाम खुला तर्फको एक नम्बरमा ओलीले प्रस्ताव गरेका थिए । तर पार्टीमा एकताको सन्देश दिन पनि ओलीले राखेको प्रस्ताव संशोधन गर्नुपर्ने विष्ट र भट्टराईले तर्क राखेका थिए । ‘भर्खरै महाधिवेशन सकिएको छ । तपाईंसँग अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका नेता ईश्वर पोखरेललाई खुलातर्फ एक नम्बरमा राखेर जाऔं, यसले एउटा सन्देश जान्छ,’ भट्टराईको प्रस्ताव थियो । तर मनोनीत र समानुपातिक सूचीमा पटकपटक बस्दै आएका बराललाई अगाडि सारेर जानु राम्रो नहुने पनि उनीहरूले बताएका थिए । सुवास नेम्वाङको निधनपछि ओलीले उपाध्यक्ष मनोनीत गरेका बराल एघारौं महधिवेशनमा सोही पदमा उम्मेदवार थिए । तर उनी उपाध्यक्ष र केन्द्रीय सदस्यमा समेत पराजित भए । ओलीले उनै बराललाई एक नम्बरमा प्रस्ताव गरेपछि विष्ट र भट्टराईले संशोधन गर्न सुझाव दिएका छन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




































