काठमाडौं । गत ४ चैतमा टोखाबाट बरामद २५ करोडभन्दा बढी रकमका मालिक नारायण पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
मालिक पौडेल र यसका भरिया तथा ट्रक चालक कुसाङ लामाविरुद्ध २५ करोड रुपैयाँ भन्दा बढीको मागदाबी गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो । उनीहरूविरुद्ध २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बिगो मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधीवक्ता सन्तोषराज कटुवालले आइतबार काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेका हुन् । ४ चैतमा टोखाबाट २५ करोड रुपैयाँ भन्दा बढी बरामद हुँदा यसका मालिक पौडेल भने फरार भएका थिए । उनी पछि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर सुटुक्क रिहा भएका थिए ।सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का ३५ वर्षीय पौडेललाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाल शर्माको ३२ असारको इजलासले ३५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनी धरौटी बुझाएर रिहा भएका थिए । लामो समयसम्म फरार भएका उनी सुटुक्क अदालतमा उपस्थित हुनु र धरौटीमा रिहा हुनुले संशय पैदा गरेको थियो । जबकि २५ करोडका भरिया कुसाङ लामालाई भने पुर्पक्षका लागि पठाएकाले उनी कारागारमा थिए ।
३ वैशाखमा न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले भरिया सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का लामालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । ४ चैतमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखास्थित झोरबाट चीनको केरुङतर्फ जान लागेको ना७ख १६५२ नम्बरको ट्रकबाट उक्त रकमसहित चालक लामालाई पक्राउ गरेको थियो । लामा उक्त रकमको भरिया रहेको खुलेको थियो । पौडेलकै संलग्नतामा उक्त रकम ट्रकमा राखिएको सीसी क्यामेराको फुटेज समेत भेटिएको थियो । पौडेलले करिब साँझ साढे ६ बजेतिर उक्त रकम ट्रकमा राखेको फुटेजमा देखिएको थियो । त्यतिबेला मालिकको भने पहिचान हुन सकेको थिएन । बरामद ५००, २००, १०० दरका जम्मा १३ लाख ७५ हजार १५० युरो र १०० र ५० दरका ३ लाख २० हजार ८५० डलर (तत्कालीन प्रचलित मूल्यअनुसार २५ करोड १९ लाख २४ हजार ९५० नेपाली रुपैयाँ), ट्रक र भरिया लामासहितलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन बुझाइएको थियो ।
भरिया मात्रै पक्राउ गरेर मालिकलाई चोख्याएको, मालिक खोइ भन्दै यो विषयले संसद्सम्म चर्चा पाएको थियो । केही समयपछि विभागले यसका मालिक पनि पहिचान गरेको थियो । ‘संसद्सम्म यसका मालिकबारे प्रश्न उठेको थियो । जसका कारण पनि मालिक पहिचान गर्न हामीलाई चुनौती थियो । तर सफल भयौं,’ विभागका तत्कालीन महानिर्देशक चण्डीप्रसाद घिमिरेले भनेका थिए ।विभागले २० चैतमा पत्रकार सम्मलेन गर्दै यो रकमका मालिक पौडेल रहेको बताएको थियो । तर त्यतिबेलासम्म पनि उनी फरार नै थिए । पक्राउ परेका भरिया लामा र फरार मालिक पौडेलविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अन्तर्गतको कसुरमा २ वैशाखमा मुद्दा दायर गरिएको थियो ।
उनीहरूविरुद्ध बरामद भएको रकम बराबरको बिगो र जरिवाना मागदाबी गर्नुका साथै ट्रकलाई कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐनअनुसार जफतका लागि मागदाबी गरिएको थियो । फरार रहेको करिब ४ महिनापछि सुटुक्क अदालत उपस्थित भएका पौडेल सुटुक्कै रिहा भएका थिए । टोखा नगरपालिका–१० महादेवटार हाइटस्थित आफ्नै घरमा बसोबास गर्ने पौडेलकै मुख्य लगानी र योजनामा यो रकम चीन जान लागेको विभागको अनुसन्धानबाट खुलेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले काठमाडौंबाट युरो र अमेरिकी डलर चीन लगेर उताबाट सुन लिएर आउने गरको निष्कर्ष निकालेको थियो । पौडेलले प्रयोग गर्ने मोबाइल र भरिया लामाको मोबाइलमा समेत सूचना आदानप्रदान भएको र फोन सम्पर्क भएकोसमेत भेटिएको थियो । प्रहरीले ११ बजे राति चालक कुसाङलाई पक्राउ गर्नुभन्दा केही समय पहिला मात्रै पौडेल र लामाबीच फोनमा कुराकानी भएको विवरण समेत भेटिएको थियो ।
पौडेलकै संलग्नतामा उक्त रकम ट्रकमा राखिएको सीसी क्यामेराको फुटेज समेत भेटिएको थियो । पौडेलले करिब साँझ साढे ६ बजेतिर उक्त रकम ट्रकमा राखेको फुटेजमा देखिएको थियो ।यतिसम्म कि, आर्थिक अवस्था एकदमै न्यून रहेका लामालाई यो ट्रक नै तस्करी गर्नका लागि पौडेलले किनिदिएको हुनसक्ने आशंका गरिएको थियो । लामा यसअघि पनि १३ पुस २०७३ मा ७ किलो सुनसहित पक्राउ परेका थिए । यो प्रकरणमा उनी ५ वर्ष जेल बसेर २०७८ मा छुटेका थिए ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




































