काठमाडौं । पछिल्लो स्थानीय तह निर्वाचनबाट राजनीतिमा उदाएका बालेन्द्र साह (बालेन) प्रमुख तथा पुराना भनिएका दलहरूका खह्रो आलोचक हुन्। आफूलाई नयाँ र पृथक् दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समेत उनले पुराना दलहरूकै दर्जाजमा राखेर आलोचना गर्थे।
यसको पछिल्ला उदाहरण हो– कार्तिक १५ गते मध्यराति बालेनले लेखेका अश्लील शब्दका स्टाटस। सामाजिक सञ्जालमा उनले दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम अश्लील स्टाटसमा उल्लेख गरेका थिए। त्यसक्रममा बालेनले रास्वपालाई पनि छुटाएका थिएनन्। यद्यपि, उनीमाथि चर्को आलोचना शुरु भएपछि केही मिनेटमै उनले उक्त स्टाटस हटाएका थिए।
केही समय अघिसम्म त्यसरी पुरानै दलहरूका दर्जामा राखेर अश्लील गाली गरेको त्यही रास्वपामा अहिले बालेन जान तयार भएका छन्। केही दिनयताको निरन्तरको संवादपछि आइतबार रास्वपा र बालेनबीच एक भएर जाने सहमति भएको हो। यसक्रममा बालेन सम्पूर्ण रूपमा रास्वपामा विलय भएका छन्। ७ बुँदे सहमति पत्रबाटै यो पुष्टि हुन्छ। आफू मातहतको देश विकास पार्टी र लौरो चुनाव चिह्न भए पनि उनी रास्वपाकै नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरेर समाहित भएका हुन्। सहमति पत्रमा बालेन रास्वपाको भावी संसदीय दलको नेता र प्रधानमन्त्रीका उम्मेदवार भनिएको छ। साथमा जेनजी आन्दोलनको अपनत्व लिने, दश वर्षभित्र नेपाललाई मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यमा समर्पित हुने सहमति पत्रमा उल्लेख छ। जेनजी विद्रोहपछि पनि रास्वपाप्रति बालेन सकारात्क थिएनन् भन्ने उनको अश्लील शब्द मिसिएको स्टाटसबाटै पुष्टि भइसकेको छ। भदौ २३ र २४ को जनेजी विद्रोहसँगै अन्तरिम सरकार गठन तथा चुनाव घोषणा भइसकेको अवस्थामा कार्तिक १५ गते राति उनले पुरानै दलहरूको घानमा हालेर रास्वपाप्रति पनि विष वमन गरेका थिए।
तर यसबीचमा त्यस्तो भयो जसकारण बालेन रास्वपा नेता बन्न तयार भए ? रवि र बालेनलाई जोड्न सेतुको काम गरेका रास्वपा नेता असीम साह देशकै आवश्यकताले एक हुन सफल भएको बताउँछन्। ‘मेयर सापको राजनीतिमा आइहाल्ने ठूलो इच्छा थिएन। उहाँ त पाएको प्रधानमन्त्री पद छाडेर बसेको मान्छे हो’, उनी भन्छन्, ‘तर जब देश चुनावतिर नजाने, संसद् पुनःस्थापनाको प्रयास र अन्तरिम सरकार पनि ढाल्ने खेल शुरु हुन थाले त्यसपछि अब चाहिँ यसरी हुँदैन। मैदानमै उत्रिनुपर्छ भन्ने उहाँहरू (रवि र बालेन)लाई बोध भयो र यो सफल भयो।’
रवि–बालेन मिलाउन प्रमुख भूमिका असीम साह र आशिष साहले गरेका थिए। रविसँग निकट रहेका असीम र बालेननिकट आशिषको जोडबलमा शुरु भएको संवाद अन्ततः एकतामै पुगेर टुंगियो। ‘यता (रास्वपा)बाट मैले र उता (बालेन टिम)बाट आशिष साह हामी दाजुभाइले सेतुको काम गर्यौँ। सफल पनि भयो’, उनी थप्छन्, ‘मेयर सापसँग पनि मेरो व्यक्तिगत सम्बन्ध थियो। उहाँ पनि गीतसंगीतसँगै राजनीतिमा पनि परिपक्व मेरो पनि ब्याकग्राउण्ड त्यस्तै। अब रियल टाइमकै चलचित्र निर्देशन गर्नुपर्छ भन्ने लागेर शुरु गरिएको काम सफल भयो।’
बालेन टिमका नेता अनन्तराज घिमिरे रास्वपा निर्माणदेखि नै बालेनको परोक्ष साथ रहेका दाबी गर्छन्। यसबीचमा केही गतल बुझाइले मात्र दूरी बढेजस्तो देखिएको तर अहिले पुनः देशलाई केन्द्रमा राख्दा सानातिना मतभेदहरू समाप्त भएको बताउँछन्। ‘मुख्य बुझ्नुपर्ने कुरा के छ भने रास्वपा निर्माणको आधार नै बालेन साहले बनाएका ग्राउण्डमा भयो। चुनावमा पनि नदेखिएर अप्रत्यक्ष रूपमा सहयोग भएको छ बालेनबाट। बीचमा केही फरक बुझाइ हुँदा अलिकति तिक्तता बढेको हो’, उनी भन्छन्, ‘तर देशलाई केन्द्रमा राख्दाखेरी त त्यस्ता सानातिना मतभेद हल भएर गए। अहिले भएको त्यही हो।’ प्रदेश संरचनाप्रति विमति राख्दै २०७९ को आमनिर्वाचनमा रास्वपा होमिँदा बालेनले पनि प्रदेशका लागि मतदान गरेका थिएनन्। घिमिरे भन्छन्, ‘त्यो एउटा सांकेतिक समर्थन थियो।
निर्वाचनमै पनि उहाँले आफ्ना साथीहरूलाई रास्वपाबाट उमेदवार बन्न समर्थन दिनुभएको थियो।’ बालेननिकट नेता घिमिरे देशको अस्तित्व रक्षाका निम्ति आफूहरूले त्याग गरेको बताउँछन्। ‘अहिलेको आफ्नो अस्तित्व र सम्मान खोज्दाखोज्दै देशको सम्मान गुमेको अवस्था छ। बालेन यस्तो व्यक्ति हो जसलाई आफूभन्दा राष्ट्रको अस्तित्व ठूलो ठान्नुहुन्छ’, उनी भन्छन्, ‘प्रधानमन्त्री पनि आफूसँग भएका योजना एक चोटि कार्यान्वयन गर्ने भनेर हो। फेरि त्यो अहिल्यै ग्योरेन्टी भएर उहाँ एकताका लागि तयार हुनुभएको पनि होइन। यो त भोलि जनताको हातमा छ। तैपनि उहाँले प्रधानमन्त्री नभए पनि ठिक छ भनेर त्याग गर्नुभएको हो नि त !’
रास्वपाको सहमतिपत्रमा भागबण्डाको कुरा स्पष्ट उल्लेख गरिएको छैन। सहमतिअघि यसबारे छलफल भए पनि अहिले यसमा भित्री सहमति पनि नरहेको दुबै पक्ष दाबी गर्छन्। बालेननिकट नेता अतन्तराज घिमिरे पार्टी कमिटीदेखि आसन्न निर्वाचनमा उम्मेदवार चयनसम्मका विषय योग्यता र क्षमताकै आधारमा यो पक्ष वा त्यो पक्ष नभनी चुन्ने सहमति भएको बताउँछन्। ‘हाम्रो सहमतिपत्रमै एउटा बुँदा छ योग्यताको आधारमा भन्ने। त्यसैको आधारमा हमीले एउटा मापदण्ड बनायौँ भने कुनै समस्या हुँदैन। दुई नेताहरूले टुंग्याउने विषयमा हाम्रो साथ रहन्छ’, उनी भन्छन्, ‘यसबाहेक भित्री रूपमा संगठनदेखि राजकीय पद कुनैमा पनि भागबण्डामा अरू सहमति छैन। कार्यसमितिमा हामी सहितको टिम जाने कुरा भइहाल्यो। पदका विषयमा योग्यताकै अधारमा टुंगिदै जान्छ।’ रास्वपा नेता असीम साह पनि बालेनले केन्द्रीय सदस्यबाहेक अरू पदमा दाबी गरेको बताउँछन्। पार्टी पदाधिकारी, केन्द्रीय कमिटीदेखि समानुपातिक तथा प्रत्यक्षतर्फका उम्मेदवारीका विषय दुई नेता बसेर टुंग्याउने उनी बताउँछन्। ‘मेयर सापले कुनै पद लिनुभएको छैन। केन्द्रीय कमिटीमा राखिदिनुभए हुन्छ भन्नुभएको छ’, उनले भने, ‘यसबाहेक त्यति तेरो यति मेरो भन्ने केही छैन। अब योग्यता, विज्ञता र समानता विचार गरी उहाँहरूको आपसी सरसल्लाहमा पार्टी कमिटीदेखि समानुपातिक तथा प्रत्यक्ष उम्मेदवार छानिनु हुन्छ।’
छलफलमा पटक–पटक सामेल भए पनि अन्तिममा उज्यालो नेपालका कुलमान घिसिङ भने छुटेका छन्। उनी एकतामा अस्त्वि खोज्दा छुट्न पुगेको उनकै सार्वजनिक अभिव्यक्तिबाट पुष्टि हुन्छ। शनिवार बिहान मात्रै बालेनसँग छलफल गरेर सार्वजनिक कार्यक्रममा पुगेर घिसिङले एकअर्काको अस्तित्व जोगाएर मात्र एकता गर्न सकिने बताएका थिए। आइतवार पनि पोखरा पुगेर सोही कुरा दोहोर्याए। ‘सम्मानजनक उपस्थिति, आत्मसम्मान र जुन स्वाभिमान छ, त्यसलाई नमेटाईकन सबैसँग सहकार्य गर्न तयार छु। सहकार्य गरेरै अगाडि बढ्ने हो,’ उनले भने, ‘यसतर्फ धेरै कुरा भइरहेको छ र आगामी दिनमा त्यसको रिजल्ट आउने विश्वास व्यक्त गर्छु।’
छलफलमा क्रममा घिसिङले एकतापछिको पार्टीमा सम्मानजनक हिस्सा, भावी प्रधानमन्त्री र पार्टीका नाममा पनि ‘उज्यालो’ भन्ने शब्द वा त्यसलाई प्रतिनिधित्व गर्ने कुनै शब्द जोड्ने प्रस्ताव गरेका थिए। त्यसमा रास्वपा तयार नभएपछि कुलमान छुट्न पुगेका हुन्। बालेननिकट नेता घिमिरे भन्छन्, ‘उहाँ आत्मसम्मान बढी, महिना दिनअघि गठन भएको पार्टीको स्वाभिमान जस्ता कुरामा अल्झिनुभयो। त्यसकारण छुट्नुभयो।’यद्यपि घिसिङसँगको संवाद जारी रहेकाले सम्भावना टरिनसकेको रास्वपा नेता साह बताउँछन्। ‘हामीले उहाँसँग संवाद जारी राखेका छौँ। उहाँको सन्दर्भमा जहिले पनि विकल्प खुला रहन्छ’, उनले भने, ‘हिजो पनि धेरै कुर्यौँ। अझै प्रयास जारी छ।’
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




































