जेन जी आन्दोलनपछि नेपालको राजनीति गहिरो संक्रमणमा छ । सडकमा देखिएको आक्रोश, असन्तोष र परिवर्तनको आकांक्षा अझै संस्थागत हुन सकेको छैन । आन्दोलनले पुराना राजनीतिक संरचनाप्रति तीव्र अस्वीकार त गर्यो, तर त्यसपछि देशले खोजिरहेको वैकल्पिक राजनीतिक मार्ग स्पष्ट बनेको छैन ।
यही रिक्तताका बीच काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जेन जी अभियन्ताहरू एकै राजनीतिक शक्तिका रूपमा अघि बढ्ने सहमति भएको । यो खबर आफैंमा महत्वपूर्ण छ । यो जेन जी आन्दोलनपछिको उथलपुथल राजनीतिलाई सही दिशामा लैजान सक्ने सम्भावनाको संकेत अवश्य हो ।
जेन जी आन्दोलन कुनै आकस्मिक घटना थिएन । त्यो लामो समयदेखि संचित राज्य असफलता, नेतृत्वको संवेदनहीनता र राजनीतिक जवाफदेहिताको अभावको विस्फोट थियो । आन्दोलनमा उत्रिएका युवाहरू कुनै दलको झण्डामुनि थिएनन् । उनीहरूको साझा स्वर थियो— “यसरी अब चल्दैन ।” तर आन्दोलनपछि त्यो स्वरलाई राजनीतिको भाषामा रूपान्तरण गर्ने शक्ति देखिएन । परिणामस्वरूप आन्दोलनको ऊर्जा क्रमशः क्षीण हुँदै गयो र पुरानै राजनीतिक शक्ति पुनः केन्द्रमा फर्कन सफल भयो ।
यही सन्दर्भमा नयाँ राजनीतिक एकता हुनु अर्थपूर्ण छ । बालेन शाह परम्परागत दल संरचनाबाहिरबाट उदाएका नेतृत्व हुन्, जसले स्थानीय शासनमा परिणाम देखाएर ‘काम गर्न सकिन्छ’ भन्ने विश्वास जगाएका छन् । रवि लामिछाने पुराना दलप्रति वितृष्ण बनेको मतदाताको प्रतिनिधि बनेर उदाएका नेता हुन् । जेन जी अभियन्ताहरू भने यो परिवर्तनको नैतिक शक्ति हुन् । यी सबैको साझा धरातल पुरानो राजनीतिप्रतिको असन्तोष र नयाँ अभ्यासको खोज हो ।
तर सम्भावना सँगै जोखिम पनि उत्तिकै छन् । नेपालमा नयाँ दल उदाउने र चाँडै कमजोर हुने इतिहास लामो छ । केवल असन्तुष्टिहरूको जमघट, लोकप्रिय अनुहारहरूको मेल वा ‘पुरानालाई हटाउने’ नाराले मात्रै दीर्घकालीन विकल्प दिन सक्दैन । यदि यो सम्भावित राजनीतिक शक्ति स्पष्ट विचार, नीति र संगठनात्मक संरचनाविहीन रह्यो भने, यसले पनि छिट्टै जनविश्वास गुमाउनेछ ।
जेन जी आन्दोलनले उठाएका मूल प्रश्नहरू अझै अनुत्तरित छन्— राज्य किन नागरिकप्रति जवाफदेही छैन ? राजनीति किन गुट, पहुँच र पैसाको वरिपरि घुम्छ ? इमानदारी र योग्यता किन अपवाद बन्छ ? नयाँ शक्ति भनिनेहरूले यी प्रश्नको ठोस, कार्यान्वयनयोग्य उत्तर दिन सक्नुपर्छ । केवल आलोचना होइन, विकल्प दिन सक्नुपर्छ ।
यद्यपि यो पहलले नेपाली राजनीतिलाई सकारात्मक दबाब दिन सक्ने सम्भावना पनि बोकेको छ । यदि नयाँ शक्ति गम्भीर रूपमा अघि बढ्यो भने यसले पुराना दलहरूलाई आत्मसमिक्षा गर्न बाध्य पार्न सक्छ । विकल्प बलियो भए मात्र लोकतान्त्रिक प्रतिस्पर्धा अर्थपूर्ण हुन्छ । प्रतिस्पर्धा अर्थपूर्ण भए मात्र शासन सुधार सम्भव हुन्छ ।
जेन जी आन्दोलनपछि फैलिएको निराशा र आक्रोशलाई सकारात्मक राजनीतिक ऊर्जामा रूपान्तरण गर्नु आजको मुख्य चुनौती हो । नयाँ शक्ति त्यसको
माध्यम बन्न सक्छ— तर त्यसका लागि उसले लोकप्रियताभन्दा उत्तरदायित्व, नाराभन्दा नीति र व्यक्तिभन्दा संस्थालाई प्राथमिकता दिनुपर्छ ।
अन्ततः प्रश्न नयाँ पार्टी बन्ने कि नबन्ने होइन । प्रश्न हो— के नेपाली राजनीतिले अब नागरिकलाई केन्द्रमा राख्ने साहस गर्छ कि गर्दैन ? यदि यो सम्भावित एकता त्यो साहसको प्रतिनिधि बन्यो भने, जेन जी आन्दोलनपछि दिशाहीन बनेको राजनीतिलाई सही दिशामा लैजाने अवसर यहीँ छ । तर यदि यो पनि सत्ताकै पुरानो खेलमा फस्यो भने, इतिहासले यसलाई अर्को गुमेको सम्भावनाका रूपमा मात्र सम्झिनेछ ।
मिति २०८२ पुस १४ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।
































