‘विशेष महाधिवेशन पार्टीको हितमा छैन, विभाजनतिर लैजान्छ’

काठमाडौं । नेपाली कांग्रेसले अहिलेको अवस्थामा विशेष महाधिवेशनको आयोजना गर्नु पार्टीको हितमा नरहेको जनाएको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “वर्तमान संवेदनशील अवस्थामा विशेष महाधिवेशनको आयोजना गर्नु पार्टीको हितमा छैन ।“

यसले पार्टीलाई विभाजनतिर लैजानसक्ने चेतावनी पनि दिइएको छ । “यस कार्यले पार्टीलाई विभाजनतर्फ लैजान सक्छ । साथै, विशेष महााधिवेशनको मांगलाई अगाडि बढाउँदा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसलाई क्षति पुग्नेछ,“ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा विशेष महाधिवेशन अवैधानिक तरिकाले आह्वान गरिएको भन्दै वैधानिक हुन नसक्ने पनि उल्लेख छ । “नियमित महाधिवेशनको आवश्यक प्रकृया अघि बढिसकेको पृष्ठभूमिमा अवैधानिक ढंगबाट आह्वान गरिएको विशेष महाधिवेशन वैधानिक हुन सक्दैन,“ विज्ञप्तिमा भनिएको छ । यता महामन्त्री गगनकुमार थापाले विषेश महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व दुवै फेर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले यस्तो बताए । उनले भदौ अन्तिम साता भएको जेनजी विद्रोहपछि मुलुकमा ठूलो परिवर्तन भएको उल्लेख गर्दै उक्त परिवर्तन हुनुमा पार्टीको भूमिका कस्तो रह्यो भन्नेबारे विश्लेषण गर्न नीति र नेतृत्व बदल्नु जरुरी रहेको बताए ।

“भदौ २२ गतेको नेपाल र भदौ २५ गतेको नेपाल एउटै होइन । त्यसकारण महाधिवेशन माग गर्नेहरूले भदौ २३ र ३४ पछाडि ठूलो परिवर्तन भयो । यो परिवर्तन किन भयो ? कसरी भयो ? यसमा हाम्रो भूमिका के रह्यो ? कहाँ सही, कहाँ गलत भयो ? यो सबैको विश्लेषण गरौँ,“ थापाले भने । पार्टी विधानको पालनाको गर्दा पार्टीलाई विभाजनतर्फ लैजान्छ भन्ने कुराको हौवा किन पिटिराखेको ? भन्दै थापाले पार्टीको संस्थापन पक्षलाई प्रश्न गरे । उनले महाधिवेशनको लागि ५४ प्रतिशत सदस्यको हस्ताक्षर र उनीहरूले राखेको प्रस्ताव फिर्ता नहुने बताए ।

“नीति पनि फेरौँ । नेता पनि फेरौँ । त्यसका निम्ति अधिवेशन गरौँ । नियमित महाधिवेशन मंसिरमा हुन नसकेपछि विशेष महाधिवेशन मागेको हो नि त,“ थापाले भने । उनले पार्टीमा युवा महामन्त्री आएपछि आफूहरूलाई कहिल्यै पनि स्वीकार नगरिएको भन्दै आक्रोश पनि व्यक्त गरे । पार्टीका कार्यवाहक सभापति पुर्णबहादुर खड्कामार्फत सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको निमन्त्रण सन्देश पठाएको पनि उनले बताए ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।