प्रधानमन्त्री–ओली तीन घण्टा छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीले प्रधानमन्त्री कार्कीसँग करिब तीन घण्टा लामो ‘वान टु वान’ वार्ता गरेका हुन्।

चुनाव नजिकिँदै गर्दा भएको यो भेटलाई राजनीतिक रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ। प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार ओली बिहान ११ बजे बालुवाटार पुगेका थिए। भेटका क्रममा ओलीले आफ्ना स्वकीय सचिव राजेश बज्राचार्यलाई मात्र साथमा लिएर गएका थिए भने प्रधानमन्त्री कार्कीसँग एक्लै लामो संवाद गरेका थिए। भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, सरकार सञ्चालन, निर्वाचनको तयारी र दलहरूबीचको सहकार्यलगायत विषयमा छलफल भएको बताइएको छ।

भदौ २३ गते भएको ‘जेनजी आन्दोलन’पछि तत्कालीन प्रधानमन्त्री रहेका ओली बालुवाटारबाट विस्थापित भएका थिए भने त्यसपछि सुशीला कार्की प्रधानमन्त्री बनेकी थिइन्। आन्दोलनपछिको सत्ता परिवर्तनसँगै ओली र कार्कीबीच प्रत्यक्ष संवाद लामो समयसम्म हुन सकेको थिएन। त्यसैले बिहीबार भएको यो भेटलाई दुई नेताबीचको सम्बन्ध पुनःस्थापना गर्ने प्रयासका रूपमा पनि विश्लेषण गरिएको छ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा पुस ८ गते शीतल निवासमा प्रधानमन्त्री कार्कीसँग ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पहिलोपटक संयुक्त भेटवार्ता भएको थियो। उक्त भेटलाई आन्दोलनपछिको राजनीतिक गतिरोध अन्त्यतर्फको प्रारम्भिक कदमका रूपमा लिइएको थियो।

जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्की सुरुका केही महिना तीन शीर्ष नेतासँग भेटघाट गर्न अनिच्छुक देखिएकी थिइन्। उनले सरकार सञ्चालनमा स्वतन्त्रता आवश्यक रहेको संकेत गर्दै दलका शीर्ष नेतासँग दूरी कायम गरेकी थिइन्। तर यसले राजनीतिक संवादको वातावरण नबनेको र चुनावी तयारीमा अन्योल सिर्जना भएको भन्दै चौतर्फी आलोचना हुन थालेपछि प्रधानमन्त्री कार्की संवादका लागि तयार भएकी थिइन्।

शीतल निवासको भेटपछि बालुवाटारमै तीन शीर्ष नेताबीच नियमित वार्ता गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार पुस १२ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग देउवा, ओली र प्रचण्डबीच संयुक्त बैठक भएको थियो। उक्त बैठकमा सरकार र प्रमुख दलहरूबीच समन्वय, निर्वाचनको वातावरण निर्माण तथा राजनीतिक स्थिरताबारे छलफल भएको बताइएको थियो।

यसपटक भने ओलीले प्रधानमन्त्री कार्कीसँग छुट्टै ‘वान टु वान’ भेट गरेका छन्। लामो समय एक्लै बसेर भएको संवादले आगामी चुनाव, सत्ता–विपक्षको भूमिकासहित समग्र राजनीतिक समीकरणबारे गम्भीर छलफल भएको संकेत गर्छ। यद्यपि भेटको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। चुनाव नजिकिँदै गर्दा शीर्ष नेताबीच बढ्दो संवादलाई सकारात्मक संकेतका रूपमा हेरिएको छ। ओली र कार्कीबीचको यो लामो भेटले आगामी राजनीतिक सहकार्य, सरकारको रणनीति र चुनावी वातावरणमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।