काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ,(क्रान्तिकारी) भित्र पछिल्लो समय गम्भीर आन्तरिक विवाद चर्किएको छ।
साबिक नेकपा (माओवादी केन्द्र) मा पार्टी एकता नगरी जनार्दन शर्माको समूहले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति तथा रास्वपाबाट आएका सन्तोष परिवारसमेतलाई समेट्दै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछि त्यसको प्रभाव विद्यार्थी संगठनमा समेत देखिन थालेको हो।
साबिक नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा सम्पन्न निर्वाचनमा प्रभाकर पक्षका पदाधिकारीहरू बहुमतमा निर्वाचित भएका थिए। तर पार्टी विभाजनपछि केही पदाधिकारीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको एकतामा सामेल भएका थिए। यसै सन्दर्भमा अहिले अखिल क्रान्तिकारीभित्र पुनः प्रभाकर पक्ष र प्रचण्ड पक्षबीच विवाद चुलिएको छ।
प्रभाकर प्यानलबाट निर्वाचित सचिवद्वय युन्छोहाङ मावो लिम्बू र अमर मण्डलको अगुवाइमा पाँच जना जिल्ला इन्चार्ज तथा तीन जना जिल्ला अध्यक्षहरूले संयुक्त ध्यानाकर्षण पत्र जारी गर्दै नेतृत्वका एकलौटी निर्णयप्रति कडा आपत्ति जनाएका छन्। संयुक्त विज्ञप्तिमा संगठन स्थापनाकालदेखि नै सामूहिक नेतृत्व र पद्धतिगत निर्णय प्रक्रियालाई मूल मन्त्र मानिँदै आएको भए पनि पछिल्लो समय नेतृत्वबाट भएका निर्णयहरूले संगठनको विधान र आधारभूत मान्यतामाथि गम्भीर आघात पुर्याएको उल्लेख गरिएको छ।
विशेष गरी मिति २०८२ पौष २३ गते अध्यक्षको हस्ताक्षरमा जारी गरिएको ‘जिम्मेवारी हेरफेर’ सम्बन्धी पत्रप्रति गम्भीर असहमति जनाइएको छ। उक्त पत्रमार्फत अनुप पाण्डेलाई केन्द्रीय कार्यालय व्यवस्थापन विभागको सदस्य तथा पोखरा विश्वविद्यालय कास्की जिल्ला इन्चार्ज कविन पाठकलाई पोखरा विश्वविद्यालय उपत्यका जिल्ला समितिको इन्चार्ज तोक्ने निर्णय कुनै पनि संस्थागत छलफलविना एकलौटी रूपमा गरिएको आरोप लगाइएको छ।
नेतृत्वको यस्तो स्वेच्छाचारी शैलीले संगठनभित्र अन्योल र अव्यवस्थाको अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख गर्दै निम्न मागहरू अघि सारिएको छः
१.मिति २०८२ पौष २३ गते जारी गरिएको जिम्मेवारी हेरफेरसम्बन्धी निर्णय तत्काल खारेज गरियोस्।
२.संगठनका सबै निर्णय केन्द्रीय समितिको बैठकमार्फत व्यापक छलफलपछि मात्र गरियोस्।
३.कार्यकर्ताको मनोबल गिराउने निर्णय सच्याई निर्वाचित कार्यक्षेत्रको आधारमा जिम्मेवारी प्रदान गरियोस्।
संयुक्त विज्ञप्तिमा संगठनभित्र देखिएको अराजकता अन्त्य गरी विधिसम्मत ढंगले अघि बढ्न नेतृत्वलाई जोडदार माग गरिएको छ। साथै, मागहरू बेवास्ता गरिएमा संगठनको रक्षाका लागि थप कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिइएको छ।
यसैबीच, जिम्मेवारी खोसिएको आरोप लगाउँदै पोखरा विश्वविद्यालयका इन्चार्ज अनुप पाण्डेले संगठनका केन्द्रीय अध्यक्ष विजय सापकोटाविरुद्ध उजुरी दिएका छन्। अखिल क्रान्तिकारीभित्र देखिएको यो विवादले संगठनको आन्तरिक राजनीति थप तातिने संकेत देखिएको छ।




































