काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रियामा अन्तिम समयमा असहमति जनाउँदै अलग भएको उज्यालो नेपाल पार्टी आगामी प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट बाहिरिने निश्चित भएको छ ।
निर्वाचन आयोगमा छुट्टै बन्दसूची दर्ता नगरेपछि उज्यालो नेपाल पार्टी समानुपातिकतर्फ उम्मेदवारविहीन बन्न पुगेको हो । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको बन्दसूची बुझाउने अन्तिम म्याद गत पुस १४ गते सकिइसकेको छ । सोही दिन रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकतासम्बन्धी सहमति कायम रहेको अवस्थामा रास्वपाको तर्फबाट बन्दसूची बुझाइएको थियो । उक्त सूचीमा उज्यालो नेपाल पार्टीको कोटाबाट १४ जना उम्मेदवार समावेश थिए ।
तर त्यसपछि दुवै दलबीचको एकता प्रक्रिया भंग भएसँगै उज्यालो नेपाल पार्टी स्वतन्त्र दलका रूपमा निर्वाचनमा जाने निर्णयमा पुगेको हो । तर, एकता भंग भइसकेपछि पनि उज्यालो नेपाल पार्टीले आयोगमा नयाँ वा छुट्टै समानुपातिक बन्दसूची बुझाउन नपाएकाले अब यो पार्टी समानुपातिक निर्वाचन प्रणालीबाट स्वतः बाहिरिएको आयोग स्रोतले जनाएको छ।
आयोगका एक पदाधिकारीका अनुसार, “समानुपातिक बन्दसूची बुझाउने समय सकिइसकेको छ । अब उज्यालो नेपाल पार्टीका तर्फबाट समानुपातिक उम्मेदवार रहने कानुनी आधार छैन ।” उनका अनुसार रास्वपाको बन्दसूचीमा समावेश भएका उज्यालो नेपाल पार्टीका उम्मेदवारहरू पार्टी विभाजनपछि दुई विकल्पमा सीमित भएका छन् । “उनीहरू या त रास्वपामै रहने निर्णय गर्नुपर्छ, वा पुस २८ गतेभित्र व्यक्तिगत रूपमा नाम फिर्ता लिनुपर्छ,” ती पदाधिकारीले भने, “यदि नाम फिर्ता लिइयो भने रास्वपाले आफ्नो बन्दसूचीमा नयाँ नाम थप्न पाउँछ । तर उज्यालो नेपाल पार्टीका तर्फबाट भने समानुपातिक उम्मेदवार रहने अवस्था हुँदैन ।” यसैबीच उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समानुपातिकतर्फ उम्मेदवार नहुने अवस्थालाई स्वीकार्दै प्रत्यक्ष निर्वाचनमा केन्द्रित हुने संकेत दिएका छन् ।
शनिबार मात्रै अध्यक्षमा चयन भएका घिसिङले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने घोषणा गरिसकेका छन् । उनले पार्टीलाई नयाँ राजनीतिक विकल्पका रूपमा स्थापित गर्ने लक्ष्यका साथ प्रत्यक्ष निर्वाचनमा आक्रामक उपस्थिति जनाउने बताएका छन् ।
समानुपातिकबाट बाहिरिनु पार्टीका लागि चुनौतीपूर्ण भए पनि त्यसलाई राजनीतिक कमजोरीको रूपमा नलिइने घिसिङको भनाइ छ । आज आयोजित पत्रकार सम्मेलनमा उनले यो विषयको प्रत्यक्ष सामना गर्दै भने, “हामीले सकेसम्म मिलाउने प्रयास गर्यौँ, तर परिस्थितिवश सम्भव भएन । अब प्रत्यक्षतर्फ मात्रै उम्मेदवार खडा गरेर जनतामाझ जानेछौँ ।” राजनीतिक विश्लेषकहरूका अनुसार समानुपातिक निर्वाचनबाट बाहिरिनु उज्यालो नेपाल पार्टीका लागि संगठनात्मक र प्रतिनिधित्वको हिसाबले ठूलो धक्का हो । समानुपातिक प्रणालीले साना तथा नयाँ दललाई संसद्मा उपस्थिति जनाउने अवसर दिने भएकाले उक्त अवसर गुम्नु पार्टीका लागि चुनौतीपूर्ण बन्ने देखिन्छ ।
तर, अर्कोतर्फ प्रत्यक्ष निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने निर्णयले पार्टीले ‘फाइटिङ मोड’ रोजेको सन्देश जाने उनीहरूको भनाइ छ । यस घटनाक्रमले रास्वपा–उज्यालो नेपाल पार्टीबीचको असफल एकता मात्र होइन, निर्वाचन कानुनका समयसीमा र प्रक्रियाले दलहरूको रणनीतिमा कस्तो प्रभाव पार्छ भन्ने पनि स्पष्ट देखाएको छ । अब उज्यालो नेपाल पार्टी प्रत्यक्ष निर्वाचनमा कति प्रभावकारी रूपमा जनसमर्थन जुटाउन सक्छ भन्ने प्रश्न आगामी निर्वाचनको रोचक पक्षका रूपमा रहनेछ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




































