आज कांग्रेसको विशेष महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अहिले निर्णायक मोडमा पुगेको छ । नेतृत्व तहमा देखिएको कित्ताकाँट अब नेता–कार्यकर्तामा मात्र सीमित छैन, बुद्धिजीवी, विश्लेषक र पत्रकारसम्म स्पष्ट रूपमा धार बाँडिने क्रम तीव्र बनेको छ ।

आइतबार दिउँसो १ बजे भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षधरहरूले आह्वान गरेको विशेष महाधिवेशन उद्घाटन हुने भएपछि कांग्रेसको भविष्य के हुन्छ भन्ने प्रश्न गैरकांग्रेसी वृत्तमा समेत चासोको विषय बनेको छ ।

सबैभन्दा ठूलो प्रश्न भनेको—कांग्रेस विभाजनको दिशातर्फ जान्छ कि अन्तिम घडीमा सम्हालिन्छ ? यही प्रश्नको वरिपरि अहिले पार्टीभित्र र बाहिरको राजनीतिक बहस केन्द्रित छ । संस्थापन पक्षले विशेष महाधिवेशनलाई विधानविपरीत भएको टिप्पणी गर्दै औपचारिक रूपमा चुप्पी साधेको छ । उता विशेष महाधिवेशन पक्षधरहरू भने ऊर्जा थप्दै भृकुटीमण्डपतर्फ केन्द्रित भइरहेका छन् । विशेष महाधिवेशनका तुल, ब्यानर र झण्डाले काठमाडौंका मुख्य सडक सजिन थालेका छन् ।

देश–विदेशबाट काठमाडौं आइपुगेका कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको मुख्य उद्देश्य स्पष्ट छ—नेतृत्वमा परिवर्तन । विशेष महाधिवेशन पक्षधरहरूका अनुसार निर्वाचनअघि नै नेतृत्व परिवर्तन अपरिहार्य भइसकेको छ । यही कारण भृकुटीमण्डपको विशेष महाधिवेशनले नेतृत्व चयन गर्न सक्ने सम्भावनालाई धेरैले गम्भीर रूपमा हेरिरहेका छन् । तर नेतृत्व चयनको बाटो नै कांग्रेसलाई औपचारिक विभाजनतर्फ धकेल्ने जोखिम बोकेको विषय हो । चारतारे झण्डा र रुख चुनाव चिन्ह कसको हुने भन्ने प्रश्न अन्ततः अदालतको क्षेत्राधिकारमा पर्ने आँकलन भइरहेको छ ।

विशेष महाधिवेशनका लागि भौतिक र व्यवस्थापकीय तयारी भने पूरा भइसकेका छन् । सभास्थल, बगैचा, होटल, यातायात, खानपान, झाँकी र प्रचार–प्रसार सबै व्यवस्थापन भइसकेको विशेष महाधिवेशन आयोजकहरूको दाबी छ ।यद्यपि, सबै तयारी पूरा भइसके पनि नेतृत्व चयनको औपचारिक प्रक्रिया भने अझै स्पष्ट छैन । विशेष महाधिवेशनको मुख्य उद्देश्य नै नेतृत्व परिवर्तन भए पनि त्यसका लागि आवश्यक निर्वाचन समिति गठन गरिएको छैन । जब आयोजकहरूसँग नेतृत्व चयनबारे प्रश्न गरिन्छ, उनीहरूको जवाफ प्रायः एउटै हुन्छ—“निर्णय हलले गर्नेछ ।”

२ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै बुझाएको हस्ताक्षर पत्रमै नेतृत्व परिवर्तनको प्रस्ताव समावेश थियो । यही संख्यालाई आधार मान्दा कांग्रेसभित्र रूपान्तरण चाहने बहुमत प्रतिनिधि रहेको सन्देश बलियो देखिन्छ । तर यही बहुमतले तत्काल सभापति चयन गर्ने अवस्था भने अहिले देखिएको छैन । विशेष महाधिवेशन उद्घाटन हुन १५ घण्टाभन्दा कम समय बाँकी रहँदा कांग्रेसका शीर्ष नेता, विशेष महाधिवेशन पक्षधर र मध्यस्थको भूमिकामा रहेका नेताहरूसँगको संवादले एउटै संकेत गर्छ—भृकुटीमण्डपबाट तत्काल नयाँ सभापति चयन हुने सम्भावना न्यून छ ।

विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या हस्ताक्षर बुझाउँदाकै ‘वरिपरि’ सीमित रहने अनुमान गरिएको छ । यसको अर्थ नेतृत्व चयन नगरीकनै विशेष महाधिवेशनले कांग्रेसभित्र रूपान्तरणको राजनीतिक घोषणा गर्न सक्ने अवस्था छ । निर्वाचन समिति गठन नहुनु पनि यही रणनीतिक संकेतको रूपमा हेरिएको छ । सम्भवतः विशेष महाधिवेशनले अहिलेको नेतृत्वको औचित्य समाप्त भएको राजनीतिक सन्देश दिनेछ, तर नयाँ नेतृत्व चयनको प्रक्रिया अर्को मितिमा सार्ने विकल्प रोज्न सक्छ ।

विशेष महाधिवेशनमा सहभागी धेरै प्रतिनिधिहरूको जोड नेतृत्व परिवर्तनमै भए पनि शीर्ष नेतृत्व तत्काल त्यसका लागि तयार देखिँदैन । विशेष महाधिवेशनका अगुवाहरू पनि ‘सर्प मर्ने, लठ्ठी नभाँचिने’ उपायको खोजीमै छन् । एक नेता भन्छन्, “नेतृत्व फेरेको घोषणा गर्नु भन्दा ठूलो कुरा विशेष महाधिवेशन आफैं हुनु हो । भृकुटीमण्डपबाट देउवा नेतृत्वको राजनीतिक प्राधिकार समाप्त भएको घोषणा हुन्छ ।” महाधिवेशन प्रतिनिधिहरूको बहुमत महामन्त्री गगन थापालाई सभापति बनाउन सकारात्मक देखिए पनि तत्काल त्यो निर्णय हुने सम्भावना कम छ । विशेष महाधिवेशन पक्षधरहरूका अनुसार “गगन थापाको एजेण्डा जितिसकेको छ, व्यक्ति घोषणा गर्नु भन्दा विचारको विजय महत्वपूर्ण हो ।”

विशेष महाधिवेशनले भदौ २३ र २४ को जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणबारे सैद्धान्तिक प्रस्ताव पारित गर्ने तयारी गरेको छ । लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, शासनकालमा कांग्रेसले गरेका कमजोरीप्रति आत्मालोचना र क्षमायाचनासमेत विशेष महाधिवेशनको दस्तावेजमा समेटिने बताइएको छ । संविधान संशोधनको बहसलाई खुला राख्दै सुधारको बाटो रोज्ने, भ्रष्टाचारविरुद्ध कठोर नीति लिने र युवापुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने संकल्प पनि पारित हुने तयारी छ ।

विशेष महाधिवेशन रोक्न वा त्यसलाई संकल्प सभामा सीमित गराउने प्रयासहरू पनि समानान्तर रूपमा जारी छन् । सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको पक्षमा छैनन् । तर हालसम्म उनले कुनै कडा कदम नचाल्नुको अर्थ विशेष महाधिवेशनलाई तत्काल टकरावमा नलाने रणनीति भएको बुझाइ छ ।

मध्यस्थ भूमिकामा रहेका नेताहरू सहमतिको साझा बिन्दु अझै नखोजिएको स्वीकार गर्छन् । तर विशेष महाधिवेशनले तत्काल नयाँ नेतृत्व घोषणा नगर्नेमा उनीहरू विश्वस्त देखिन्छन् । एक मध्यस्थ नेताका अनुसार, “विशेष महाधिवेशन त हुन्छ नै, तर सभापति चयन भृकुटीमण्डपमै नहुन सक्छ । कानुनी र राजनीतिक वैधता टुंग्याएर अर्को मितिमा नेतृत्व चयनको विकल्प पनि खुला छ ।”

तर यदि विशेष महाधिवेशनअघि वा बन्दसत्रको क्रममा संस्थापन पक्षले कुनै कठोर राजनीतिक कदम चाल्यो भने अवस्था पल्टिन सक्ने चेतावनी पनि विशेष महाधिवेशन पक्षधरहरूले दिएका छन् । यही सम्भावनाका कारण सभापति देउवा अहिलेसम्म मौन छन् र विशेष महाधिवेशन पक्षधरविरुद्ध ‘एक्सन’ नलिने रणनीतिमा देखिएका छन् ।

भृकुटीमण्डपको हलले के निर्णय गर्छ भन्नेले अब कांग्रेसको तत्काल भविष्य मात्र होइन, पार्टीको दीर्घकालीन दिशा पनि तय गर्ने निश्चित देखिन्छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।