काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ । आइतबारबाट औपचारिक रूपमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका शीर्ष नेताहरूले आ–आफ्ना धारणा राख्दै पार्टीको वर्तमान अवस्था, संगठनात्मक चुनौती र भावी दिशाबारे विचार व्यक्त गरेका छन् ।
उद्घाटन सत्रमा पार्टीलाई थप सुदृढ, समावेशी र समयसापेक्ष बनाउने विषयमा जोड दिइएको छ । सोमबार बिहान ८ बजेबाट बन्दसत्र सुरु हुनेछ । उक्त बन्दसत्रमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । प्रतिवेदनमा संगठनभित्र युवाको भूमिका र प्रतिनिधित्वलाई थप मजबुत बनाउने विषयलाई प्राथमिकताका साथ समेटिएको स्रोतको भनाइ छ ।
महामन्त्री शर्माले प्रस्तुत गर्ने प्रतिवेदनमा पार्टीका विभिन्न तहका समितिहरूमा उमेर समूहका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव समावेश गरिएको छ । सो प्रस्तावअनुसार केन्द्रीय समितिमा ३० वर्ष मुनिका २० जना र ३० देखि ४० वर्ष उमेर समूहका २० जनालाई अनिवार्य रूपमा प्रतिनिधित्व गराउने व्यवस्था प्रस्ताव गरिएको छ । यसले पार्टी नेतृत्वमा युवाको सहभागिता बढाउने र पुस्तान्तरणलाई व्यवस्थित गर्ने उद्देश्य राखिएको जनाइएको छ ।
त्यस्तै, प्रदेश समितिको हकमा पनि उमेर समूहका आधारमा प्रतिनिधित्वको व्यवस्था प्रस्ताव गरिएको छ । प्रदेश समितिमा ३० वर्ष मुनिका १० जना र ३० देखि ४० वर्ष उमेर समूहका १० जनालाई प्रतिनिधित्व गराउने प्रस्ताव प्रतिवेदनमा समावेश हुने भएको छ । जिल्ला तहमा पनि यही अवधारणालाई निरन्तरता दिँदै ३० मुनिका ६ जना र ३० देखि ४० वर्ष उमेर समूहका ६ जनालाई प्रतिनिधित्व गराउने व्यवस्था प्रस्ताव गरिएको छ । वडा तहमा भने ३० वर्ष मुनिका ४ जना र ३० देखि ४० वर्ष उमेर समूहका ४ जनालाई समेट्ने गरी प्रतिनिधित्व सुनिश्चित गर्ने खाका तयार पारिएको स्रोतले जानकारी दिएको छ।
प्रतिवेदनमा पार्टी नेतृत्व र राज्यका प्रमुख पदमा रहने व्यक्तिको कार्यकालसम्बन्धी प्रस्ताव पनि समेटिएको छ । महामन्त्री शर्माले यसअघि सार्वजनिक गरिसकेको प्रस्तावलाई नै प्रतिवेदनमार्फत पुनः दोहोर्याएका छन् । सो प्रस्तावअनुसार एक व्यक्ति एक पटक मात्र राष्ट्रपति बन्न पाउने, दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने, तीन पटकभन्दा बढी मन्त्री हुन नपाउने र चार पटकभन्दा बढी सांसद बन्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । यस प्रस्तावलाई विशेष महाधिवेशनको बन्दसत्रमार्फत औपचारिक रूपमा प्रस्तुत गरिने जनाइएको छ । सांगठनिक प्रतिवेदनमा पार्टी संरचनालाई थप खुला र समावेशी बनाउने उद्देश्यसहित विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरूलाई पार्टीमा समेट्ने ‘ल्याट्रल इन्ट्री’को अवधारणासमेत समावेश गरिएको छ । पार्टी बाहिर रहेर विभिन्न क्षेत्रका विज्ञ, व्यवसायी, पेशाकर्मी तथा समाजका प्रभावशाली व्यक्तिहरूलाई पार्टी संरचनामा प्रत्यक्ष रूपमा भित्र्याउने व्यवस्था प्रतिवेदनमा प्रस्ताव गरिएको स्रोतले जनाएको छ ।
यसका साथै, विदेशस्थित नेपाली कांग्रेसका जनसम्पर्क समितिहरूलाई आधार बनाएर पार्टीको अन्तर्राष्ट्रिय संरचना निर्माण गर्ने प्रस्ताव पनि प्रतिवेदनमा राखिएको छ । प्रतिवेदनको खाकाअनुसार प्रत्येक देशमा रहेका जनसम्पर्क समितिका वर्तमान र पूर्व अध्यक्ष स्वतः अन्तर्राष्ट्रिय परिषदका सदस्य हुने व्यवस्था प्रस्ताव गरिएको छ । यसले विदेशमा रहेका कांग्रेस समर्थक र कार्यकर्तालाई पार्टीको मूल संरचनासँग थप मजबुत रूपमा जोड्ने विश्वास लिइएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय जनसम्पर्क समितिलाई २७ सदस्यीय बनाउने प्रस्ताव पनि महामन्त्री शर्माले बन्दसत्रमा पेश गर्ने तयारी गरेका छन् । पार्टी संगठनलाई देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा पनि व्यवस्थित र सुदृढ बनाउने उद्देश्यले यी प्रस्तावहरू ल्याइएको बताइएको छ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा प्रस्तुत हुने यी सांगठनिक प्रस्तावहरू पार्टीभित्र व्यापक छलफलको विषय बन्ने अपेक्षा गरिएको छ । युवाको सहभागिता, नेतृत्वको सीमांकन, समावेशी संरचना र अन्तर्राष्ट्रिय सञ्जाल विस्तारजस्ता विषयले महाधिवेशनलाई निर्णायक मोडतर्फ लैजाने नेताहरूको बुझाइ रहेको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।
































