काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने र अपमानजनक व्यवहार गर्ने काम गरिरहेको आरोप लगाएका छन् । गृहजिल्ला झापाबाट शुक्रबार काठमाडौँ फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई सुन तस्करसरह व्यवहार गरिएको उनको गुनासो छ ।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विमानस्थलमा अनावश्यक जाँच गरिएको भन्दै त्यसको कारण सोध्दा ‘माथिबाट आदेश आएको’ भन्ने जवाफ पाएको उल्लेख गरे । ‘हिजो फर्केर आउँदा के के न सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गरियो, हैरान पारियो,’ ओलीले भने, ‘किन यस्तो गरेको भनेर सोध्दा माथिबाट आदेश आएको छ भन्ने जवाफ आयो ।’
उनले यस्तो व्यवहारले आफूलाई सभ्य समाजमा नभएको जस्तो महसुस भएको पनि बताए । ‘अचम्म लाग्यो, विदेशमा जाँदा पनि यस्तो व्यवहार हुँदैन, तर आफ्नै देशको विमानस्थलमा हेपिएको अनुभूति भयो,’ उनको भनाइ थियो । सरकारप्रति कटाक्ष गर्दै अध्यक्ष ओलीले भने, ‘यो सरकार बेथिति, अन्याय र अपमानमै लागेको छअ। नेताको मात्र होइन, देश र जनताको सम्मानमाथि पनि चोट पुगेको छ ।’
अध्यक्ष ओलीले देशलाई सही दिशामा अघि बढाउन एमालेले सरकार बनाउनुको विकल्प नभएको दाबी गर्दैै ‘सभ्य र जिम्मेवार सरकार निर्माण गर्न अब जनताले चुनावबाट फैसला गर्नुपर्ने’ उल्लेख गरे ।
उनले वर्तमान सरकार जिम्मेवार नरहेको पनि बताए । अहिले सम्भ समाज नभएको पनि बताए । ‘तर, सरकारको दृष्टिकोण, सरकारको मतिचाहिँ के हो ? नेताहरूको अपमान गर्ने हो नि ! त्यो सरकारले हिजै देखायो । कस्तो लाग्यो भने, एउटा सभ्य समाजमा हामी छैनौँ कि जस्तो लाग्यो,’ उनले भने, ‘एउटा जिम्मेवार सरकार होइन, अराजनीतिक, असभ्य सरकार छ । यी सबै कुराहरू हामीले फेरि सभ्य, सुसंस्कृत समाजमा ल्याउनुपर्नेछ । त्यो सबै कुरा चुनावको फैसलाबाट देखिन्छ ।’
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।
































