नेपाली राजनीतिक दलहरू बहुदलीय लोकतान्त्रिक अभ्यासमा उत्रिएयता लामो समयदेखि नेतृत्वमा एउटै पुस्ताको हालीमुहाली रहँदै आयो । ७ दशक लामो प्रजातान्त्रिक आन्दोलनका सारथिहरूले नै मुलुकको बागडोर समालिरहँदा आमनागरिकमा अब अनुहार र प्रवृत्ति दुवै फेरिनुपर्ने मत विकास हुँदै गयो ।
पछिल्लो समय जेनजी आन्दोलनको जगमा मुलुक निर्वाचनको महाकुम्भमा होमिएका बेला राजनीतिक दलहरूभित्र देखिएको नेतृत्व परिवर्तनको लहर र नयाँ शक्तिहरूको उदयले नेपाली दलीय लोकतन्त्रले पुस्तान्तरणको बाटो समातेको संकेत गरेको छ ।
देशको सबैभन्दा पुरानो र ठूलो दल नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत युवा नेता गगन थापालाई सभापतिमा निर्वाचित गर्नु पुस्तान्तरण प्रक्रियाको एउटा ऐतिहासिक कोसेढुङ्गा हो । लामो समयसम्म समकालीन नेताहरूको हालिमुहालीले यथास्थितिवादको आरोप खेप्दै आएको कांग्रेसले विशेष परिस्थितिमा आफूलाई रूपान्तरण गर्दै युवा नेतृत्वलाई स्वीकार गरेको छ । यसले केवल एउटा व्यक्तिको उदय मात्र होइन, बरु पार्टीभित्र वैचारिक र संरचनात्मक फेरबदल गरेको छ । यसले दशकौंदेखि नेतृत्वमा जकडिएका पुराना नेताहरूलाई विश्राम लिन र नयाँ पुस्तालाई जिम्मेवारी सुम्पिन बाध्यकारी नैतिक दबाब सिर्जना गरेको छ ।
पुस्तान्तरणको दबाब कांग्रेसमा मात्र सीमित छैन । जेनजी आन्दोलनपछिको राजनीतिक परिवेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता युवा बाहुल्यता रहेका नयाँ दलहरूको सशक्त उपस्थिति र प्रभावले पुराना दलहरूलाई आफ्नो कार्यशैली बदल्न बाध्य पारेको छ । नयाँ शक्तिहरूले प्रविधि, सुशासन र कार्यशैलीका मुद्दालाई केन्द्रमा राखेर जसरी जनलहर सिर्जना गरेका छन्, त्यसले पुराना दलहरूलाई आफ्ना उम्मेदवार चयनमा समेत युवालाई प्राथमिकता दिन बाध्य बनाएको छ । अहिलेको निर्वाचनमा १६५ वटै क्षेत्रमा प्रमुख दलहरूले ३०–५० वर्ष उमेर समूहका युवालाई उल्लेख्य संख्यामा चुनावी मैदानमा उतार्नु यसैको परिणाम हो ।
एमाले, माओवादी र राप्रपा जस्ता पुराना दलहरूले पनि यसपटक उम्मेदवारी दर्ता गर्दा युवा र नयाँ अनुहारलाई अघि सार्नुले के पुष्टि गर्छ भने अब राजनीति केवल त्याग र इतिहासको बलमा मात्र चल्न सक्दैन, वर्तमानका चुनौतीहरूलाई सम्बोधन गर्न सक्ने ऊर्जा, भिजन र प्रविधिसँग अभ्यस्त नेतृत्व नै आजको आवश्यकता हो । दलीय लोकतन्त्रमा पुस्तान्तरणको अर्थ केवल उमेर मात्र होइन, बरु कामशैली र नविन सोचको सम्बोधन हो ।
तर नेतृत्वमा युवा आउनु सकारात्मक पक्ष भए पनि उनीहरूले पुराना पुस्ताका विकृति र विसङ्गतिहरूलाई कति हदसम्म तोड्न सक्छन् भन्ने कुरा अहम् हुन्छ । भ्रष्टाचार, आन्तरिक गुटबन्दी र नातावाद जस्ता रोगहरू युवा नेतृत्वमा पनि सरे भने पुस्तान्तरण केवल नारामै सीमित हुनेछ । नयाँ नेतृत्वले नीति निर्माणमा नवीनता, संसद्मा रचनात्मकता र जनताका आधारभूत समस्या समाधानमा सक्रियता देखाउनुपर्छ । पुस्तान्तरणको परिणाम जनताले अनुभूति गर्न सक्नुपर्छ ।
अहिलेको चुनावी माहोलले नेपाली लोकतन्त्रलाई एउटा नयाँ मोडमा पुर्याएको छ । निर्वाचनपछि बन्ने नयाँ संसद् र सरकारले युवाहरूको ऊर्जालाई राष्ट्र निर्माणको मूलधारमा कसरी समाहित गर्छ, त्यसैमा मुलुकको भविष्य निर्भर रहनेछ । दलीय लोकतन्त्रले खोजेको पुस्तान्तरणले नेपाली राजनीतिमा व्याप्त अन्योललाई चिर्दै स्थिर र समृद्ध नेपालको मार्गप्रशस्त गर्नुपर्छ ।
मिति २०८२ माघ ११ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।



























