चाउरी परेका गाला, निधारभरि उमेरका रेखा तर अनुहारमा कहिल्यै नओइलाउने मीठो मुस्कान । उमेरले ८ दशक नाघ्नै लागे पनि जोस र आत्मविश्वास भने अझै जवान छ ।
विराटनगर–बरगाछीस्थित जय माँ काली मूर्तिकला केन्द्रभित्र पस्ने जो–कोहीलाई पहिलो नजरमै लाग्छ, यो कुनै थाकेको वृद्धको संसार होइन, आफ्नै श्रम र विश्वासले बनाएको एउटा जीवित कलाको दुनियाँ हो । यही संसारका सर्जक हुन्, ८० वर्षीय दिनेशकुमार मेहेतो ।
हातमा माटो, आँखामा भगवान्को आकृति र मनमा निरन्तर सिर्जनाको ऊर्जा बोकेर बसेका मेहेतोको दिन आज पनि उस्तै व्यस्त छ । बिहानदेखि साँझसम्म मूर्तिकलामै डुबिरहने उनको जीवनशैली हेर्दा उमेरले कहिल्यै छोएन जस्तो लाग्छ । ‘उहाँको जोस देख्दा १६–१७ वर्षे युवासँग तुलना गर्न मन लाग्छ,’ छिमेकीहरू उनलाई देखेर भन्छन्, ‘वर्षौंदेखि उही लगन र मिहेनत देख्छु, उहाँको काममा थाक्ने नामै छैन ।’
झण्डै साढे ४ दशकअघि सुरु गरिएको मूर्तिकला व्यवसाय आज मेहेतोका लागि केवल जीविकोपार्जनको साधन मात्र होइन, जीवनकै अर्थ बनेको छ । परिवारको खुसी, आस्थाको सम्मान र आत्मसन्तुष्टिको संसार उनले यही कार्यशालाभित्र सजाएका छन् । माटोबाट देवता बनाउने यात्रामा उनले समय, स्वास्थ्य र उमेरको सीमा कहिल्यै मापन गरेनन् । ८० वर्ष पुगिसक्दा पनि उनी आफ्नो पेसा र भविष्यप्रति ढुक्क देखिन्छन् । ‘जबसम्म श्वास छ, यही काम गर्छु,’ मेहेतो आत्मविश्वासका साथ भन्छन्, ‘आफ्नो सुझबुझले भ्याएसम्म भगवान्को मूर्ति बनाएर बस्छु । अब जतिन्जेल बाँच्छु, यही पेशा चल्छ । बाँचुन्जेल यही मूर्ति बनाएर खान्छु ।’
उनको यो भनाइ केवल शब्द होइन, जीवनभरको अभ्यास र विश्वासको प्रतिफल हो । बरगाछीको यो सानो मूर्तिकला केन्द्र मेहेतोका लागि पसल मात्र होइन, यो उनको साधना, पहिचान र जीवन यात्राको साक्षी हो । उनको जोस देख्दा यस्तो लाग्छ, उनले संसार जितिसकेका छन् । त्यही आफूले जितेको संसार आफ्नो दुनियाँमा सजाएर परिवारलाई खुसी बाँडिरहेका छन् ।
झन्डै साढे ४ दशक अगाडि मूर्तिकला व्यवसाय सुरु गरेका मेहेतोलाई अझै पनि आफ्नो श्वास रहुन्जेल यही पेसालाई निरन्तरता दिएर गुजारा चलाइन्छ भन्ने लागेको छ । कर्म सबैले गर्छन्, कर्म गर्नेहरु त्यही कर्मलाई पूजा ठान्छन् तर दिनेशका लागि भने पूजा नै कर्म हो । बिहान उठेर नित्यकर्म सकेपछि उनको दैनिकी यही मन्दिर बनाउने कलाबाट सुरु हुन्छ र दिनको अन्त्य पनि । यही मूर्तिकला नै आफ्नो संसार भएको बताउँदै दिनेश भन्छन्, ‘जेठो छोरो नै ४० कटिसक्यो, त्यसबेलादेखिको संघर्ष अहिलेसम्म पनि उस्तै नै छ । तर संघर्षले थकान दियो तर पीडा भने कहिल्यै दिएन ।’
मेहेतोको १० जनाको परिवारको सबै आर्थिक भार थेग्दै आएको छ मूर्तिकला व्यवसायले । सुरुसुरुमा एक्लैको सीपले जेनतेन परिवार पाल्दै आएका मेहेतो छोराहरू हुर्किंदै गएपछि कहिल्यै पछाडि फर्केर हेर्नु नपरेको बताउँछन् । छोराहरू सानो हुँदै गर्दा उनको काममा श्रीमतीले पनि सहयोग गर्थिन् । पछि छोराहरूले सीप सिकेपछि उनीहरूले पनि बुवालाई साथ दिन थालेका छन् । यो पेशामा मात्र होइन, हरेक पेशामा दुःख, अप्ठ्यारो जस्ता साह्रोगाह्रो सबैलाई हुने कुरा भएकाले आफूहरूलाई त्यस्ता कुराले कहिल्यै हतास नभएको महतो बताउँछन् ।
दिनेशका ३ छोरामध्ये जेठो राकेश पहिलेदेखि नै बुवाको सीपलाई सिकेर बुवाकै केन्द्रको काम सम्हाल्दै आएका छन् भने माइला छोरा नितेश ७ वर्ष पहिले गाडी तथा सिटी सफारी चलाउने काम गर्छन् । हाल उनी पनि बुवाकै व्यापारमा सहयोग गरिरहेका छन् भने कान्छो छोरा केन्द्रबाट नै आल्मोनियमको काम गर्दै आएका छन् ।
दिनेशका माहिला छोरा नितेश आफूले बुझ्ने भएदेखि बुवाहरू यति मूर्तिकलाको काम गर्दै आएकाले यो पेशाप्रति छुट्टै प्रकारको लगाव भएको बताउँछन् । बुवाको पेशाप्रतिको लगन र प्रेम देखेपछि आफूलाई अन्य पेशामा जान मन नलागेका कारण आफूले पनि यही सीप सिकेर काम सुरु गरेको बताउँछन् । निकेश भन्छन्, ‘बुढा हुनुभएको बुवा दिनरात मिहेनतका साथ काम गरिरहनुभएको छ, समयमै माग दिन नसकिरहेको अवस्थामा आफूले कसरी अन्यत्र काम गर्नु ? मनले मानेन त्यसैले बुवाकै ब्यवसायमा सहयोग गर्छु भनेर यतै सुरु गरे ।’
मूर्ति निर्माणका लागि आवश्यक पर्ने कच्चापदार्थको रूपमा माटो पराल सुत्ली (सनपाटको डोरी) काँटी, सजावटको कपडा, मुकुट कपालजस्ता विभिन्न प्रकारका नक्कली गहनाहरू भारतको सिलगुडीबाट ल्याउने गरेको नितेश बताउँछन् । ‘पराल त यही ठेलाले ल्याइदिन्छ,’ नितेश भन्छन्, ‘मूर्तिमा लगाउने सम्पूर्ण शृङ्गारका सामग्री र रडहरू भने हामी सिलगुडीबाट ल्याउने गरेका छौं ।’
वर्षौंदेखि एकै ठाउँमा एउटै व्यक्तिले व्यावसायिक रूपमा मूर्ति बनाउँदै आएकाले बजारको समस्या छैन । वर्षको १ लाख १० हजार भाडा तिरेर परिवार पाल्न कुनै समस्या नरहेको दिनेश बताउँछन् । केही वर्षयता भने पहिलेको जस्तो मूर्तिको माग नआएको निकेश बताउँछन् । उनी भन्छन्, ‘पहिलेजस्तो माग नभए पनि परिवारमा अन्य सदस्यहरूबाट पनि केही आयस्रोतका बाटोहरू भएकाले चिन्ता लिनुपर्ने अवस्था भने छैन ।’
कतिपय ग्राहकहरू मूर्ति बनाउन माग दिएर जान्छन् तर फर्केर आउँदैनन्, त्यस्तो अवस्थामा भने उनीहरूलाई निकै असहज हुने गर्दछ । ‘सुरुमै सम्पूर्ण भुक्तानी लिन सकेको खण्डमा सबै समयमै आएर आफ्नो मागअनुसार सामान लान्छन्,’ नितेश भन्छन्, ‘थोरै अग्रिम भुक्तानी लिएर काम गर्दा सामान खरिद गर्नै अन्य पैसा थप्नुपरेको हुन्छ, त्यसमाथि सामान लिन नआइदिँदा हामीलाई सिधै घाटा हुने गर्दछ ।’ कोरोनाको समयपछि भने व्यवसाय पहिलेजस्तो नभएको उनी सुनाउँछन् । उनी भन्छन्, ‘कोरोनाको समय सन्त्रासको कारण सार्वजनिक स्थलमा मानिसको चहलपहल नहुँदा भने गुजारा चलाउन केही कठिन भएको थियो ।’
वैशाखबाट सुरु गरे पनि माघसम्म मूर्तिकलाको काममा निकै व्यस्त समय हो । माघदेखि वैशाखसम्म फेरि व्यापार सुक्खा हुन्छ । ६ महिना बेमौसममा पनि बुवाले व्यापार धान्ने गरेका र कहिलेकाहीँ आफूले बनाएको मूर्ति बेच्दा खल्लो लाग्ने गरेको दिनेशले बताए । ‘हामी देवीदेउताका मूर्ति बेचेर खाँदैछौं, त्यो पाप नै होला नि ?’ बुवाले यति भनिरहँदा छोरा नितेश भने आफूहरूलाई मूर्ति बनाएर बाँच्नु भनेर भगवान्ले आशीर्वाद स्वरूप कला दिएको बताउँछन् ।
केन्द्रमा भगवान्का मूर्तिहरू मात्रै आँखामा पर्दैनन्, कुनामा सजाएर राखिएका माटोका चुला, परम्परागत भाँडाकुँडा, स–साना सजावटी सामग्री र दैनिक प्रयोगमा आउने कलात्मक वस्तुहरूले पनि ध्यान तान्छन् । यी सामग्रीहरूले जय माँ काली मूर्तिकला केन्द्रलाई केवल मूर्तिको पसल होइन, माटोबाट बनेको एउटा जीवन्त संस्कृति संग्रहालय जस्तै बनाइदिएका छन् । यी अधिकांश कलात्मक सामग्री दिनेशकुमार मेहेतोकी श्रीमतीको हातको सीप हुन् । उनी फुर्सदको क्षणलाई खाली बस्न नदिई माटोसँग खेल्दै सिर्जनामा लगाउने गर्छन् । ‘मूर्ति बनाउने काम उहाँको हो, अरू सामग्री म बनाउँछु,’ दिनेशकी श्रीमती सहज रूपमा भन्छिन् । घरायसी जिम्मेवारी र पारिवारिक कामकाजबीच उनले समय निकालेर बनाएका माटोका सामग्री अहिले केन्द्रको अर्को पहिचान बन्दै गएका छन् ।
विशेषगरी माटोका चुलाहरू ग्राहकबीच निकै लोकप्रिय छन् । परम्परागत स्वाद र चुलोको न्यानोपन खोज्ने ग्राहकहरूले यी चुलालाई प्राथमिकताका साथ लैजाने गरेको मेहेतो दम्पती बताउँछन् ।
‘आजभोलि पनि माटोको चुलो खोज्दै आउनेहरू धेरै हुन्छन्,’ दिनेश भन्छन्, ‘पहिले मूर्ति लिन आउने ग्राहकले ‘यस्ता अरू माटोका सामान पनि बनाउनुहुन्छ ?’ भनेर सोध्न थाले । ग्राहकको यही चासो र मागपछि केन्द्रमा मूर्तिबाहेक अन्य सामग्री राख्ने क्रम सुरु भएको छ ।
दैनिक जीवनमा प्रयोग हुने भाँडाकुँडा, धुपदानी, माटोका बत्ती, फूलदानी, खुत्रुक्के र चुलो बिक्रीका लागि राखिएका छन् । ‘ग्राहकको रुचि बुझेर नै सामग्री थप्दै गयौं,’ दिनेश बताउँछन्, ‘आवश्यकताले नै हाम्रो सिर्जनालाई फराकिलो बनायो ।’ यसले मेहेतो परिवारलाई अतिरिक्त आम्दानी मात्रै दिएको छैन, परम्परागत माटोको सीपलाई जोगाइराख्ने एउटा माध्यम पनि बनेको छ । दिनेश मूर्ति बनाउँदै गर्दा श्रीमती अर्को कुनामा माटोका सामग्रीलाई आकार दिइरहेकी देखिनुहुन्छ । त्यो दृश्य आफैंमा श्रम, सहकार्य र पारिवारिक आत्मनिर्भरताको कथा पनि हो ।
सानो ठाउँमा अटाएका यी माटोका सामग्रीहरूले केन्द्रलाई अझ जीवन्त बनाएका छन् । कतिपय ग्राहकहरू मूर्ति हेर्न छिर्छन् तर हातमा माटोको चुलो वा सजावटी सामग्री किनेर निस्किने गर्दछन् । यसरी जय माँ काली मूर्तिकला केन्द्रमा माटो केबल पूजा र आस्थासँग मात्र होइन, दिनचर्या र जीवनशैलीसँग पनि जोडिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।
































