समाजमा बढ्दो निराशा कसरी हटाउने ?

समाज विकासको गतिसँगै मानिसको जीवनशैली, सोचाइ र सामाजिक सम्बन्धमा पनि तीव्र परिवर्तन आइरहेको छ ।

विज्ञान, प्रविधि र सञ्चारको अभूतपूर्व विकासले जीवनलाई सहज बनाएको छ तर यहीँ परिवर्तनको अर्को पाटोमा मानिसभित्र बढ्दै गएको एक्लोपन, असन्तुष्टि, निराशा र सामाजिक विच्छिन्नता पनि देखिन थालेको छ ।

विशेषगरी युवापुस्तामा भविष्यप्रतिको अनिश्चितता, रोजगारीको अभाव, आर्थिक दबाब, सामाजिक अपेक्षा, पारिवारिक तनाव र असफलताको भयले गहिरो मानसिक दबाब सिर्जना गरिरहेको छ ।

यही परिवेशमा समाजमा आत्महत्या तथा आत्मदाहका घटना, लागूऔषध दुर्व्यसन, हिंसा, अपराध र सामाजिक मूल्य–मान्यताको क्षयीकरण जस्ता समस्या गम्भीर बन्दै गएका छन् । यी घटनालाई केवल व्यक्तिगत कमजोरी वा व्यक्तिको चरित्रसँग जोडेर हेर्नु समस्याको वास्तविक जरोबाट भाग्नु हो । यस्ता घटनाका पछाडि व्यक्तिगत, पारिवारिक, आर्थिक, सामाजिक, मनोवैज्ञानिक र संरचनागत कारणहरूको जटिल अन्तरसम्बन्ध रहेको हुन्छ ।

आजको युवापुस्ता सम्भावना र चुनौती दुवैको बिचमा उभिएको छ । सूचना र अवसरको पहुँच विगतभन्दा व्यापक भए पनि अवसर प्राप्त गर्ने वास्तविक सम्भावना सबैका लागि समान छैन । उच्च शिक्षा हासिल गरेपछि पनि रोजगारी नपाउनु, आफ्नो योग्यता र श्रमअनुसारको अवसर नपाउनु, विदेश जानुपर्ने बाध्यता, आर्थिक असुरक्षा तथा सामाजिक प्रतिष्ठाको बढ्दो दबाबले धेरै युवामा भविष्यप्रतिको अन्योलता सिर्जना गरेको छ ।

सामाजिक सञ्जालले पनि यसमा नयाँ आयाम थपेको छ । अरूको सफल जीवन, महँगा जीवनशैली, विदेश यात्रा, आर्थिक उपलब्धि र सामाजिक प्रतिष्ठालाई निरन्तर देखिरहँदा कतिपय युवाले आफ्नो जीवनलाई अरूसँग तुलना गर्न थाल्छन् । आफू पछाडि परेको, आफू असफल भएको वा आफ्नो जीवनको कुनै अर्थ नरहेको जस्तो अनुभूति आफै भित्र–भित्रै पैदा हुन सक्छ ।

तर सामाजिक सञ्जालमा देखिने जीवन प्रायः वास्तविक जीवनको सम्पूर्ण चित्र होइन भन्ने कुरा बुझ्न नसक्दा तुलना, हीनताबोध र निराशा अझ गहिरिन सक्छ र गहिरिदै गएर अप्रिय निर्णयहरू लिएका थुप्रै उदाहरणहरू तपाईँ हाम्रो सामजमा देखिन्छन् । अर्कोतर्फ हामीले युवालाई सफलताको परिभाषा पनि अत्यन्त साँघुरो बनाइदिएका छौँ । राम्रो जागिर, धेरै पैसा, विदेश यात्रा, घर–गाडी र सामाजिक प्रतिष्ठालाई मात्र सफलताको मापदण्ड मान्ने प्रवृत्तिले फरक क्षमता, फरक रुचि र फरक जीवनपथ भएका युवालाई अनावश्यक दबाबमा पारिरहेको छ ।

आत्महत्या वा आत्मदाह कुनै एउटा घटनाको तत्कालीन परिणाम मात्र होइन । प्रायः यसको पछाडि लामो समयदेखि सञ्चित पीडा, निराशा, असहायपन, सम्बन्धमा आएको संकट, आर्थिक समस्या, सामाजिक दबाब वा मानसिक तनाव हुन सक्छ।यसकारण यस्ता घटनालाई केवल ‘कमजोरी’ वा ‘कायरता’ भनेर टिप्पणी गर्नु अत्यन्त गलत हुन्छ । बरु समाजले यस्ता घटनालाई एउटा चेतावनीका रूपमा लिन आवश्यक छ । हाम्रा परिवार, विद्यालय, कार्यस्थल, समुदाय र राज्यका प्रणालीहरूले मानिसको पीडा सुन्ने पर्याप्त ठाउँ बनाएका छन् कि छैनन् ? यो बुझ्न अतिआवश्यक छ तर यता तीर खासै ध्यान गएको देखिँदैन ।

विशेषगरी युवाले आफ्नो समस्या खुलेर व्यक्त गर्न सक्ने वातावरण आवश्यक छ । ‘केही भएको छैन’, ‘सबैले यस्तै दुःख सहन्छन्‌’, ‘बलियो बन’ जस्ता सामान्य प्रतिक्रियाले कहिलेकाहीँ पीडित व्यक्तिलाई झन् एक्लो बनाउन सक्छ । समस्या सुन्ने, बुझ्ने, साथ दिने र आवश्यक परे व्यावसायिक सहयोगसम्म पुर्‍याउने संस्कार विकास गर्नु आजको आवश्यकता हो ।

लागूऔषध दुर्व्यसन पनि सामाजिक संकटको एउटा गम्भीर अभिव्यक्ति हो । धेरै युवामा लागूऔषध प्रयोगको सुरुवात जिज्ञासा, साथीको दबाब, मनोरञ्जन वा प्रयोगका रूपमा हुन सक्छ । तर क्रमशः त्यसले शारीरिक, मानसिक, आर्थिक र सामाजिक जीवनलाई नियन्त्रण गर्न थाल्छ ।

विशेषगरी बेरोजगारी, पारिवारिक विखण्डन, सामाजिक एक्लोपन, उद्देश्यविहीनता र भविष्यप्रतिको निराशाले जोखिम बढाउन सक्छ । लागूऔषध प्रयोगकर्तालाई केवल अपराधी वा खराब चरित्र भएको व्यक्तिका रूपमा हेर्नु समाधान होइन । नियन्त्रणसँगै उपचार, पुनःस्थापना, परामर्श, सीप विकास, परिवारको सहयोग र समाजमा पुनःएकीकरणलाई पनि समान प्राथमिकता दिनुपर्छ ।

लागूऔषधको समस्या युवाको मात्र समस्या होइन । यसको असर परिवार, समुदाय र अन्ततः राज्यसम्म पुग्छ । त्यसैले यसको रोकथामका लागि विद्यालय, परिवार, स्थानीय सरकार, प्रहरी, स्वास्थ्य संस्था, नागरिक समाज र युवाका संस्थाहरूबिच समन्वित प्रयास आवश्यक छ ।

हामीले विकास र आधुनिकताको कुरा धेरै गर्छौं, तर मानिस–मानिसबीचको सम्बन्ध कति बलियो छ भन्ने प्रश्न पनि त्यत्तिकै महत्वपूर्ण छ । पहिले समस्या पर्दा परिवार, छिमेकी, आफन्त र समुदाय सहयोगका लागि अगाडि आउने सामाजिक संरचना थियो । अहिले भौतिक रूपमा मानिसहरू नजिक भए पनि भावनात्मक रूपमा टाढिँदै गएको अवस्था देखिन्छ ।

एकै घरमा बसेर पनि परिवारका सदस्यबिच संवाद कम हुन थालेको छ । अभिभावक आफ्ना सन्तानको आर्थिक आवश्यकतामा केन्द्रित छन् भने सन्तान आफ्ना भावनात्मक आवश्यकता व्यक्त गर्न हिच्किचाइरहेका छन् । कतिपय परिवारमा ‘कति कमायौ ?’ भन्ने प्रश्न धेरै महत्वपूर्ण हुन्छ । तर तिमीलाई कस्तो भइरहेको छ ? भन्ने प्रश्न हराउँदै गएको छ ।

हाम्रो सामाजिक संस्कारको एउटा महत्वपूर्ण आधार नै एकअर्काको दुःख–सुखमा सहभागी हुनु थियो। तर प्रतिस्पर्धा, व्यक्तिवाद, उपभोक्तावाद र सामाजिक प्रतिष्ठाको बढ्दो दबाबले त्यो सामूहिक भावनालाई कमजोर बनाउँदै गएको छ ।

सामाजिक सञ्जालले संसारलाई नजिक ल्याएको छ । तर कहिलेकाहीँ यसले मानिसलाई आफ्नै वरिपरिका मानिसबाट टाढा पनि बनाएको छ । डिजिटल संसारमा हजारौँ फ्रेन्ड वा फलोअर्स हुन सक्छन् । तर वास्तविक जीवनमा आफ्नो पीडा सुनाउने एउटा विश्वासिलो व्यक्ति नहुन सक्छ । यसको अर्थ प्रविधि नै समस्या हो भन्ने होइन । समस्या प्रविधिको प्रयोग कसरी भइरहेको छ भन्ने हो ।

सामाजिक सञ्जाल सूचना, शिक्षा, सिर्जना र सामाजिक अभियानको शक्तिशाली माध्यम बन्न सक्छ । तर यसको अत्यधिक प्रयोग, निरन्तर तुलना, साइबर बुलिङ, गलत सूचना र आभासी लोकप्रियताको दबाबले विशेषगरी किशोर तथा युवाको मनोविज्ञानमा नकारात्मक असर पार्न सक्छ ।

युवाको मानसिक र सामाजिक सुरक्षाको पहिलो आधार परिवार हो । परिवारले आफ्ना सन्तानको अंक, जागिर वा आम्दानी मात्र होइन, उनीहरूको भावना र व्यवहारमा आएको परिवर्तनलाई पनि बुझ्न आवश्यक छ । सन्तान असफल हुँदा गाली होइन, संवाद आवश्यक हुन्छ । उसले आफ्नो समस्या सुनाउँदा तुरुन्तै निर्णय सुनाउनुको सट्टा पहिले सुन्न आवश्यक हुन्छ । परिवारमा खुला संवाद, विश्वास र स्वीकार्यताको वातावरण बनाउन सके धेरै समस्याको प्रारम्भिक चरणमै पहिचान गर्न सकिन्छ ।

त्यसैगरी विद्यालय र विश्वविद्यालयले पनि केवल पाठ्यक्रम पूरा गर्ने संस्था भएर पुग्दैन । विद्यार्थीमा जीवनोपयोगी सीप, तनाव व्यवस्थापन, निर्णय क्षमता, समस्या समाधान, भावनात्मक साक्षरता र सहयोग खोज्ने संस्कार विकास गर्नु आवश्यक छ ।

यस्ता समस्याको समाधान केवल परिवारलाई जिम्मेवार बनाएर सम्भव छैन । राज्यले युवाका लागि रोजगारी, उद्यमशीलता, सीप विकास, खेलकुद, सिर्जनात्मक गतिविधि तथा सुरक्षित सामाजिक वातावरण निर्माण गर्नुपर्छ । स्थानीय तहले समुदायस्तरमै परामर्श तथा मनोसामाजिक सहयोगको पहुँच विस्तार गर्न सक्छन् । विद्यालयमा परामर्श सेवाको प्रभावकारी व्यवस्था, लागूऔषध रोकथामका कार्यक्रम, पुनःस्थापना केन्द्रहरूको गुणस्तर सुधार तथा जोखिममा रहेका युवाको पहिचान र सहयोगका कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।

यसमा सञ्चारमाध्यमको भूमिका पनि अत्यन्त महत्वपूर्ण छ । आत्महत्या वा आत्मदाहका घटनाको समाचार सम्प्रेषण गर्दा सनसनीपूर्ण प्रस्तुति, घटनाको अत्यधिक विवरण वा पीडितलाई दोष दिने भाषाबाट बच्नुपर्छ । बरु समाचारसँगै सहयोग र रोकथामका उपाय, उपलब्ध सेवाहरू र सकारात्मक उदाहरणलाई प्राथमिकता दिनुपर्छ ।

आज सबैभन्दा महत्वपूर्ण प्रश्न यही हो– ‘हामीले आफ्ना युवालाई कस्तो समाज हस्तान्तरण गर्दैछौ’ । युवालाई देशको भविष्य भनेर भाषणमा सम्मान गर्ने तर वर्तमानमा उनीहरूलाई अवसर, विश्वास र सहभागिता नदिने प्रवृत्तिले समस्या समाधान गर्दैन । युवालाई निर्णय प्रक्रियामा सहभागी गराउनुपर्छ । उनीहरूको कुरा सुन्नुपर्छ । असफल हुन पाउने, फेरि उठ्न पाउने र आफ्नो बाटो रोज्न पाउने वातावरण बनाउनुपर्छ । हामीले सफलता मात्र होइन, संघर्षलाई पनि सम्मान गर्न सिकाउनुपर्छ । पैसा मात्र होइन, मानवीय सम्बन्धलाई पनि मूल्य दिनुपर्छ । प्रतिस्पर्धा मात्र होइन, सहकार्यलाई पनि प्रोत्साहन गर्नुपर्छ ।

सामाजिक सञ्जालको लाइकभन्दा वास्तविक जीवनको सम्बन्ध महत्वपूर्ण छ भन्ने चेतना विकास गर्नुपर्छ ।
आत्महत्या, आत्मदाह, लागूऔषध दुर्व्यसन, हिंसा र सामाजिक संस्कारको क्षयीकरणलाई अलग–अलग समस्याका रूपमा हेर्नु पर्याप्त हुँदैन । यी सबै हाम्रो सामाजिक संरचनामा देखा परिरहेका गहिरा असन्तुलनका विभिन्न अभिव्यक्ति हुन् ।

युवाको निराशा सुन्न नसक्ने समाज, असफलतालाई स्वीकार्न नसक्ने परिवार, रोजगारी र अवसर सिर्जना गर्न नसक्ने व्यवस्था, सम्बन्धलाई समय दिन नसक्ने जीवनशैली र मानवीय मूल्यभन्दा प्रदर्शनलाई प्राथमिकता दिने संस्कारले समस्या अझ जटिल बनाउँछ ।

त्यसैले समाधान पनि सामूहिक हुनुपर्छ । परिवारले संवाद सुरु गर्नुपर्छ । विद्यालयले जीवन जिउने सीप सिकाउनुपर्छ । समुदायले सहारा दिनुपर्छ । स्थानीय सरकार र राज्यले अवसर तथा आवश्यक सेवाको पहुँच विस्तार गर्नुपर्छ । नागरिक समाजले सचेतना र पुनःस्थापनामा भूमिका खेल्नुपर्छ । सञ्चारमाध्यमले जिम्मेवार सूचना प्रवाह गर्नुपर्छ र युवालाई आफ्नै भविष्य निर्माणको प्रक्रियामा सक्रिय सहभागी बनाइनुपर्छ ।

अन्ततः हामीले बुझ्नुपर्ने कुरा के हो भने आत्महत्या वा लागुऔषधको समस्यासँग जुधिरहेको व्यक्ति समाजबाट अलग व्यक्ति होइन, उ पनि यही समाजको एउटा सदस्य हो । उसको पीडा समाजको पनि पीडा हो । हामीले युवालाई केवल ‘बलियो बन’ भन्नुभन्दा पहिले यस्तो समाज निर्माण गर्नुपर्छ, जहाँ उनीहरू कमजोर भएको बेला पनि आफ्नो कुरा भन्न सकून्, सहयोग माग्न सकून्, गल्ती स्वीकार गर्न सकून्, फेरि उठ्न सकून् र भविष्यप्रति आशावादी हुन सकून् । किनकि आशा हराएको ठाउँमा केवल उपदेशले काम गर्दैन त्यहाँ साथ, अवसर, विश्वास र मानवीय सम्बन्ध चाहिन्छ र यही नै आजको समाजको सबैभन्दा ठूलो आवश्यकता हो ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।