सामाजिक सञ्जालको विषाक्तता : के यसको प्रयोग नैतिक छ ?

धेरै प्लेटफर्महरूमा जातिवाद, महिला द्वेष र अतिदक्षिणपन्थी विचारधाराहरू व्याप्त भइरहँदा सभ्य मानिसहरूले यी प्लेटफर्महरू त्याग्नुपर्ने एउटा बिन्दु अवश्य आउँछ

किर स्टार्मरलाई राजीनामा दिन दबाब बढिरहेको हप्तामा क्याबिनेट मन्त्रीहरूले आफ्नो समर्थन देखाउन सामाजिक सञ्जाल ‘एक्स’को सहारा लिए । ‘हामी सबैलाई ट्वीट गर्न बाध्य पारिएको छ,’ एक लेबर नेताले पत्रकारलाई भने । यहाँ एउटा बिचित्रको विडम्बना लुकेको छः एकातिर प्रधानमन्त्री पिटर म्यान्डलसन र जेफ्री एप्स्टाइनको सम्बन्ध तथा आफ्ना पूर्वसहयोगीको यौन अपराधीसँगको सम्बन्धको काण्डमा मुछिएका छन्, अर्कोतिर सांसदहरूले उनीहरूको प्रतिरक्षा त्यस्तो प्लेटफर्ममा गरिरहेका छन्, जसले पछिल्लो महिना मात्र प्रयोगकर्ताहरूलाई महिला र बालिकाहरूको यौनजन्य तस्वीरहरू बनाउन अनुमति दिएको थियो ।

यसले ‘ट्वीटर’ भनिने समयदेखि नै ‘एक्स’ आधुनिक राजनीतिसँग कसरी अभूतपूर्व रूपमा जोडिएको छ भन्ने मात्र देखाउँदैन, बरु अनलाइन र अफलाइन दुवै ठाउँमा महिला शरीरको अपमानप्रति कति व्यापक उदासिनता छ भन्ने पनि झल्काउँछ । तर यसले राजनीतिज्ञहरूलाई मात्र होइन, हामी सबैलाई एउटा बढ्दो द्विविधातर्फ पनि संकेत गर्छः के अब सामाजिक सञ्जालमा नैतिक रूपमा पोष्ट गर्न सम्भव छ ? लगअफ गर्ने समय कहिले हो ?

अहिले हरेक प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरू कुनै न कुनै हदसम्म दूषित भएका जस्तो देखिन्छ । एलन मस्कले ‘एक्स’ किनेपछि यौनजन्य स्पष्ट तस्वीरहरूको ‘डीपफेक’बाहेक, यसको एल्गोरिदमले दक्षिणपन्थी सामग्रीहरूलाई अझ बढी बढावा दिन थालेको छ । मस्क आफैँले जनवरीको लगभग हरेक दिन ‘श्वेत जाति द्रुत रूपमा मर्दैछ’ भन्ने जस्ता चरम विचारहरू पोष्ट गरिरहेका थिए ।

फेसबूकमाथि लामो समयदेखि व्यापक डाटा संकलन र रुस–समर्थित चुनावी हस्तक्षेपमा संलग्न भएको आरोप लाग्दै आएको छ र उसले डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु हुनुभन्दा केही हप्ताअघि मात्र ‘फ्याक्ट–चेकर’हरूलाई हटाएको छ । इन्स्टाग्रामः जुन मेटाकै मार्क जुकरबर्गको स्वामित्वमा छ, त्यसले किशोरकिशोरीहरूको शरीरप्रतिको धारणालाई जानीजानी बिगारिरहेको पाइएको छ । टिकटकमाथि बच्चाहरूलाई शोषण गरेको आरोप लागेको छ, जहाँ १३ वर्षमुनिका बालबालिकाहरूले डान्स भिडियोहरूसँगै आत्महानि (सेल्फ हार्म) सम्बन्धी सामग्रीहरू देखिरहेका छन् ।

गार्डियनले यस हप्ता सार्वजनिक गरेको एउटा खुलासाले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको लाचारीलाई थप प्रष्ट पारेको छ । अन्य साइटहरू दक्षिणपन्थीतातर्फ झुकेपछि केही प्रगतिशीलहरू भागेर पुगेको ‘सबस्ट्याक’ले नाजी न्यूजलेटरहरू होस्ट गरेर पैसा कमाइरहेको पाइएको छ । ५ करोड प्रयोगकर्ता भएको सबस्ट्याकले श्वेत सर्वोच्चता, हलोकस्ट (यहूदी नरसंहार) को इन्कार र यहूदी विरोधी लेखकहरूलाई ठाउँ दिइरहेको छ, जसमा एक कार्यकर्ताले एडोल्फ हिटलरलाई ‘सबै समयका महान् पुरुषहरूमध्ये एक’ भनेर वर्णन गरेका छन् । यो सबै सन् २०२६ को जस्तो लाग्छ, हैन ? वा १९३६ को ।

यी सबै कुराहरू तब मात्र बढी विचलित पार्ने खालका हुन्छन्, जब घृणाको बिचमा पनि पोष्ट गरिरहनुपर्ने बाध्यता हुन्छ । हामीमध्ये धेरैले यी एपहरू डिलिट गर्न नसक्नुका धेरै वास्तविक कारणहरू छन् र त्यो हाम्रो डोपामिनको भोको दिमागका कारणले मात्र होइन । पछिल्लो १५ वर्षमा राम्रो वा नराम्रो जे भए पनि सामाजिक सञ्जाल अरूसँग जोडिने यस्तो मुख्य माध्यम बनेको छ कि इमान्दारीपूर्वक भन्नुपर्दा धेरैलाई यसबाट पूर्णरूपमा अलग हुन गाह्रो छ । सीमान्तकृत समूहहरू जस्तैः अपाङ्गता भएका व्यक्तिहरूका लागि झन् बढी सत्य हो, जो सामाजिक अन्तरक्रिया र व्यावहारिक सहयोगका लागि अनलाइन नेटवर्कमा बढी निर्भर हुन्छन् । सजिलै पसल जान सक्ने मानिसका लागि अमेजन प्राइम क्यान्सिल गरेर नैतिक अडान लिन जति सजिलो छ, आफ्ना साथीको फ्ल्याटको सिँढी चढ्न सक्ने, एलजीबीटी+ बारमा सुरक्षित महसूस गर्ने वा पबमा गएर रमाइलो गर्न सक्ने मानिसका लागि सोसल मिडिया छाड्न त्यति नै सजिलो छ ।

सामाजिक सञ्जाल उत्पीडित मानिसहरूका लागि साँच्चै जीवनरक्षक पनि हुन सक्छ, खाना र औषधिका लागि ब्लुस्काईमार्फत रकम जुटाउने प्यालेस्टिनीहरूदेखि लिएर इरानमा आफ्नो कैदको बारेमा विश्वलाई जानकारी दिने प्रदर्शनकारीका वकिलसम्मका लागि । अहिले सामाजिक सञ्जालको विडम्बना यही होः एकातिर केही प्रयोगकर्ताहरू स्टेसी सोलोमनले आफ्नो भान्सामा कुन रंग लगाउँदैछिन् भनेर हेरिरहेका हुन्छन् भने अर्कोतिर त्यहीँ प्लेटफर्मले मानिसहरूलाई इजरायली बमबारीबाट बच्न र ट्रयाक गर्न मद्दत गरिरहेको हुन्छ । प्रायः हामी एउटै स्क्रिनमा यी दुवै कुरा एकैसाथ साक्षी बनिरहेका हुन्छौँ ।

हामीले जुन प्लेटफर्ममा मनोरञ्जन खोज्छौँ, त्यही प्लेटफर्महरू हामीले बच्न चाहेको अन्धकारको सबैभन्दा ठूलो प्रदर्शन बनिरहेका छन्, यसमा गहिरो विडम्बना छ । जब म विरलै आफ्नो ‘एक्स’ एकाउन्ट चेक गर्छु, मलाई सेकेन्डभित्रै जातिवाद, ट्रम्प–समर्थक पोष्टहरू, युजेनिस्ट भाषणहरू, इस्लामफोबिया, एआई तस्वीरहरू वा नग्न महिलाहरूले स्वागत गर्छन् । सामग्री जति हानिकारक छ, त्योभन्दा बढी हानिकारक त यो महसूस हुनु हो कि इन्टरनेटको यो सानो कुना कुनै न कुनै रूपमा देश वा मानवताको प्रतिनिधि हो (जुन पूर्णतया गलत हो)। असल मानिसहरूलाई ‘यो लडाइँ त पहिले नै हारिसकियो’ भन्ने सोच्न बाध्य पारेर उनीहरूलाई थकाउनु नै खराब पात्रहरूको सबैभन्दा ठूलो सफलता हो ।

राजनीति र सार्वजनिक निकायहरूमा त्यस्ता मानिसहरू पनि होलान्, जसले ‘एक्स’ र फेसबूकले उनीहरूलाई मतदातासम्म पुग्न मद्दत गर्छ भन्ने विश्वास गर्छन्, खासगरी त्यस्तो समयमा जब धेरै वृद्ध र अधिकारविहीन मानिसहरूले आफ्नो समाचार र धेरै नक्कली समाचारहरू सामाजिक सञ्जालबाटै पाउँछन् । यसमा केही हदसम्म सत्यता अवश्य छ । तर म्यान्डलसन र डाउनिङ स्ट्रिटका सहयोगीहरूको काण्ड, र सरकारले उनीहरूको प्रतिरक्षा गर्न ‘एक्स’को प्रयोग गर्नुले एउटा कुराको सम्झना गराउँछ, जब खराब व्यवहारलाई सत्तामा रहेकाहरूले मौन समर्थन गर्छन्, तब त्यो चाँडै सामान्य बन्न पुग्छ । यदि स्टार्मर आफ्नो सरकार यौन दुर्व्यवहार वा अतिदक्षिणपन्थी विचारधाराको विरुद्धमा छ भन्ने देखाउन चाहन्छन् भने ‘एक्स’बाट लग–अफ गर्नु एउटा राम्रो सुरुवात हुनेछ । राजनीतिज्ञहरू र वर्तमान लेबर पार्टीप्रति जनमत पहिले नै रसातलमा छ । त्यहीँ बसेर ट्वीट गर्दा यसमा सुधार हुने सम्भावना देखिँदैन ।

व्यक्तिगत रूपमा म केवल कुनै नाजीको सामना नगरी आफ्नो कुकुरको फोटो पोष्ट गर्न चाहन्छु । मलाई लाग्दैन कि यो एलन मस्क र उनका साथीहरूले सोचे जस्तो कुनै अत्यन्त संवेदनशील माग हो ।
(बेलायती पत्रिका ‘द गार्डियन’बाट भावानुवाद)

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।