काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) कसुरमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको छ।
रूकुम पश्चिम साविक बाफिकोट गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्दै आएका कलबहादुर बस्नेत र रूकुम पूर्व सिस्ने गाउँपालिका–५ घर भई हाल काठमाडौं बस्ने अमित बस्नेतविरुद्ध मुद्दा दायर गरिएको हो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत फागुन ४ गते काठमाडौं जिल्ला अदालतमा आरोपपत्र दायर गरिएको हो। यसबारे जानकारी दिँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक राजन लिम्बूले अनुसन्धानपछि प्रतिवादीहरूविरुद्ध मुद्दा चलाइएको बताए।
प्रहरीका अनुसार कलबहादुर बस्नेत हाल मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागार कार्यालय डिल्लिबजारमा थुनामा रहेका छन्। सोही मुद्दामा संलग्न रहेका अमित बस्नेत भने हाल फरार रहेको जनाइएको छ। अनुसन्धानका क्रममा प्रतिवादीहरूले करिब २५० जना नेपाली नागरिकलाई गैरकानुनी बाटो प्रयोग गरी विभिन्न देश हुँदै अमेरिका प्रवेश गराएको खुलेको प्रहरीले जनाएको छ। केही व्यक्तिलाई अमेरिका लैजाने प्रलोभन देखाई विभिन्न मुलुकमा अलपत्र पारिएको, मानव बेचबिखन, ठगी तथा वैदेशिक रोजगार ठगीसम्बन्धी गतिविधिमा संलग्न भएको समेत अनुसन्धानबाट पुष्टि भएको बताइएको छ।
प्रहरीका अनुसार यी अवैध गतिविधिबाट आर्जित रकम नगद तथा विभिन्न बैंक खातामार्फत शुद्धीकरण गरिएको पाइएको छ। अवैध आम्दानीलाई वैध बनाउने उद्देश्यले बैंकिङ प्रणाली, बीमा र अन्य वित्तीय माध्यम प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ। कानुन कार्यान्वयन निकायले गरेको छानबिनअनुसार कलबहादुर बस्नेतको नाममा ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ ३३ पैसा र अमित बस्नेतको नाममा २७ करोड ४५ लाख २९ हजार ०२८ रुपैयाँ ९४ पैसा बराबरको अवैध सम्पत्ति भेटिएको छ। यसरी दुवैको नाममा जम्मा ९८ करोड ५ लाख ८२ हजार ७५१ रुपैयाँ २७ पैसा बराबरको बिगो कायम गरिएको छ।
अभियोगपत्रमा सोही बिगो बराबरको दोब्बर जरिवाना तथा कसुरको मात्रा अनुसार दुईदेखि १५ वर्षसम्म कैद सजायको माग गरिएको छ। साथै, प्रतिवादीहरूको नाममा रहेका घरजग्गा, बैंक मौज्दात, बीमा रकम तथा अन्य सम्पत्ति जफत गर्नसमेत अदालतसमक्ष मागदाबी लिइएको छ। प्रहरीका अनुसार यो प्रकरण मानव बेचबिखन, अवैध आप्रवासन र आर्थिक अपराधसँग जोडिएको गम्भीर प्रकृतिको मुद्दा भएकाले थप अनुसन्धानलाई पनि निरन्तरता दिइनेछ। फरार अभियुक्त अमित बस्नेतको खोजी कार्य तीव्र पारिएको र छिट्टै नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी यस मुद्दालाई पछिल्ला वर्षहरूमा देखिएका संगठित आर्थिक अपराध र अवैध आप्रवासनसँग जोडिएको महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ। अदालतबाट हुने आगामी फैसला र अनुसन्धानको नतिजाले यस्ता अपराध नियन्त्रणमा थप प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




































