अस्पतालको सेतो कोट, गलामा स्टेथोसकोप र अनुहारमा मन्द मुस्कानसहित बिरामीको सेवामा अहोरात्र खटिने चिकित्सकलाई समाजले ‘भगवान्’ नै मान्ने गर्छ । बिरामीको छटपटी र व्यथालाई निको पार्ने चिकित्सकको पेसा जति सम्मानित छ, पर्दा पछाडि कार्यस्थलको यथार्थ उति नै कहालीलाग्दो र अमानवीय छ ।
अरूको घाउ निको पार्ने चिकित्सकहरू आज आफैँभित्र एउटा गम्भीर मानसिक र शारीरिक श्रम शोषणको घाउ बोकेर बाँच्न बाध्य छन् । काठमाडौँको माइतीघर मण्डलामा भेला भएका प्रशिक्षार्थी चिकित्सकहरूको सडक आन्दोलनले नेपालको स्वास्थ्य क्षेत्रभित्र लुकेको विकृत पाटोलाई छताछुल्ल पारिदिएको छ ।
बिरामीको जीवन बचाउन दिनरात जाग्राम बस्ने युवा चिकित्सकहरूले सडकबाट उठाएको प्रश्न गम्भीर छन् । देशमा श्रम ऐन छ, सरकारी तथा निजी क्षेत्रमा हप्ताको २ दिन बिदा दिन थालिएको छ । तर शिक्षण अस्पतालहरूमा एमबीबीएस सकेर अनिवार्य इन्टर्नशिप गरिरहेका र विशेषज्ञता (एमडी) अध्ययन गरिरहेका देशका मेधावी युवा चिकित्सकहरू वर्षको ३६५ दिन नै विश्रामविहीन खटिनुपर्ने बाध्यता छ ।
एकपटक ड्युटी सुरु भएपछि लगातार ३६ घण्टासम्म अस्पतालमै बसेर बिरामी जाँच्ने, आकस्मिक उपचार गर्ने र वार्ड व्यवस्थापन सम्हाल्नुपर्ने बाध्यता युवा चिकित्सकहरूमाथि लादिएको छ । ३६ घण्टाको निरन्तर ड्युटीको कल्पना मात्रले पनि आङ सिरिङ्ग हुन्छ ।
प्रशिक्षार्थी चिकित्सकहरूले माइतीघरमा बोकेका प्लेकार्डका नाराहरू ‘रातभर नसुतेको डाक्टर बिरामी छ’, ‘स्वास्थ्य सेवा बिरामी छ’ र ‘३६ घण्टे ड्युटी खारेज गर’ भन्नुले स्वास्थ्य क्षेत्रको दयनीय अवस्थालाई प्रतिविम्बित गरेको छ ।
चिकित्सा शिक्षाका नाममा केही मेडिकल माफिया र शिक्षण अस्पतालहरूले युवा जनशक्तिलाई न्यूनतम पारिश्रमिक वा विना बिदा काममा खटाएर आम्दानीको स्रोत बनाइरहेको आरोप आन्दोलनकारीहरूको छ । मातृत्व बिदा र बिरामी बिदा जस्ता न्यूनतम मानवअधिकार र श्रम अधिकारबाट समेत वञ्चित गरिएपछि देशको ऊर्जावान् चिकित्सा पुस्तामा चरम निराशा र पलायनको मानसिकता पैदा हुनु अस्वाभाविक होइन ।स्वास्थ्य सेवा निश्चय नै एउटा संवेदनशील र आकस्मिक क्षेत्र हो, जहाँ चिकित्सकहरू जुनसुकै बेला खटिनुपर्ने हुन सक्छ ।
तर संवेदनशीलताको नाममा यस्तो अमानवीय व्यवहार गरेर चिकित्सकलाई शारीरिक र मानसिक रूपमा लतार्नु अपराध हो । निन्द्रा र थकावटले लखेटिएको मस्तिष्कले बिरामीको उपचार गर्दा त्रुटि हुने जोखिम कति बढेर जान्छ ? यदि चिकित्सक स्वयं थकित, तनावग्रस्त र बिरामी भए भने उनले अर्को बिरामीको सही निदान कसरी गर्न सक्छन् ? त्यसैले ड्युटी संकटको समाधान तत्काल खोजिनु आवश्यक छ ।
सरकार, स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले अस्पतालबाट सडकसम्म आइपुगेका युवा चिकित्सकहरूको आवाजलाई बेलैमा सुन्नुपर्छ । चिकित्सा क्षेत्रमा पनि श्रम ऐनको अक्षरशः पालना गरिनुपर्छ । ३६ घण्टाको अवैज्ञानिक ड्युटी प्रणालीलाई तत्काल खारेज गरी सिफ्ट प्रणाली लागू गरिनुपर्छ र हप्तामा कम्तीमा १ दिन अनिवार्य आरामको व्यवस्था गरिनुपर्छ । डाक्टर सुरक्षित र स्वस्थ भए मात्र अस्पताल पुग्ने बिरामी सुरक्षित रहन्छन् भन्ने यथार्थलाई बिर्सिनु हुँदैन । विना विश्रामको सेवा लोकतान्त्रिक मुलुकका लागि शोभनीय हुँदैन ।
मिति २०८३ असार २ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।


























