सबैलाई रुवाउँदै हिमालकै प्यारो बने ‘निम्स दाइ’

काठमाडौँ । सन् २०१९ को जुलाई महिना । संसारकै सबैभन्दा जोखिमपूर्ण आरोहण गन्तव्य मानिने पाकिस्तानका आठ हजार मिटरभन्दा अग्ला हिमालहरू चढ्ने योजनामा रहेका नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स’ आफ्नो ज्यानको सुरक्षालाई लिएर असाधारण रूपमा सतर्क थिए ।

उनी त्यतिबेला हिमपहिरो वा मौसमभन्दा पनि आतंकवादी आक्रमणको जोखिमबाट बढी चिन्तित थिए । त्यसैले उनले पाकिस्तान पुग्न एउटै होइन, तीनवटा फरक–फरक उडानको टिकट काटेका थिए । उद्देश्य एउटै थियो– कसैले आफूलाई लक्षित गरेर आक्रमण गर्न खोजे पनि आफ्नो यात्रा योजनाबारे भ्रम सिर्जना होस् ।

पाकिस्तान पुगेपछि पनि उनले कुनै होटल, रिसोर्ट वा लजमा बस्न रुचाएनन् । बरु आधार शिविरमै टेन्टमा बसेर आफ्नो आरोहण अभियान अघि बढाए । यो निर्णय आकस्मिक थिएन । यसको पछाडि सन् २०१३ मा नांगा पर्वतको आधार शिविरमा भएको भयावह नरसंहारको स्मृति थियो । त्यसबेला पाकिस्तानी तालिबानका लडाकुले रातको समयमा आधार शिविरमा पसेर टेन्टबाट आरोहीहरूलाई बाहिर निकाली गोली हानी हत्या गरेका थिए । उक्त घटनामा अमेरिकी, चिनियाँ, पाकिस्तानी र नेपालीसहित १० जना पर्वतारोही मारिएका थिए । त्यसपछि पाकिस्तानका हिमालहरूमा सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय समुदायमा गम्भीर चिन्ता पैदा भएको थियो ।

निर्मल पुर्जाले आफ्नो चर्चित पुस्तक बियोन्ड पसिबल मा पनि त्यतिबेलाको मनोस्थिति उल्लेख गरेका छन् । उनले पाकिस्तानमा आफू आतंकवादी जोखिमका कारण निकै सतर्क रहेको र हरेक निर्णय सोचविचार गरेर गरेको बताएका थिए । विडम्बना, सात वर्षअघि आतंकवादी आक्रमणबाट जोगिन अत्यधिक सावधानी अपनाएका उनी सात वर्षपछि भने पाकिस्तानकै हिमालमा प्रकृतिको प्रकोपको शिकार बने ।

गत जुलाई ३० मा ब्रड पिक हिमालमा आरोहणका क्रममा सम्पर्कविहीन भएका १० जना आरोहीमध्ये नेपालीका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पनि थिए । उनीसँगै छ जना नेपालीसहित विभिन्न देशका १० आरोही बेपत्ता भएका थिए। लगातारको खोजी अभियानपछि चार जनाको शव भेटियो । तीमध्ये सबैभन्दा ढिलो, अगस्ट २ मा निर्मल पुर्जाको शव फेला परेपछि विश्व पर्वतारोहण समुदाय स्तब्ध बन्यो। उनको निधनसँगै आधुनिक पर्वतारोहणको एउटा स्वर्णिम अध्याय पनि अन्त्य भएको धेरैले टिप्पणी गरेका छन् ।

निर्मल पुर्जाको हिमाली यात्रा सन् २०१२ मा सुरु भएको थियो । उनले पहिलोपटक सात हजार मिटरभन्दा होचो लोबुचे इस्ट हिमालको सफल आरोहण गर्दै आफ्नो पर्वतारोहण करिअरको सुरुवात गरेका थिए । त्यसयता उनले लगातार नयाँ चुनौती स्वीकार गर्दै विश्वका सबैभन्दा कठिन हिमालहरूमा सफलता हासिल गरे। करिब १४ वर्षको आरोहण यात्रामा उनले विश्व पर्वतारोहण इतिहासमा नयाँ–नयाँ कीर्तिमान कायम गरे । अन्ततः यही चुनौतीपूर्ण यात्राको अन्त्य पाकिस्तानको ब्रड पिकमा भयो ।

पूर्व बेलायती विशेष सैनिक सेवामा कार्यरत पुर्जाले सैन्य जीवनपछि पर्वतारोहणलाई आफ्नो जीवनको लक्ष्य बनाए । छोटो समयमै उनले असम्भव मानिएका अभियानलाई सम्भव बनाउँदै आफूलाई विश्वकै चर्चित आरोहीका रूपमा स्थापित गरे। उनको साहस, शारीरिक क्षमता, नेतृत्व र जोखिम मोल्ने शैलीले उनी अन्य पर्वतारोहीभन्दा फरक पहिचान बनाउन सफल भए ।

उनको सबैभन्दा चर्चित उपलब्धिमध्ये एक हो विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल अत्यन्त छोटो अवधिमा आरोहण गर्नु । त्यसपछि उनले ती हिमालहरू पुनः आरोहण गर्दै अर्को विश्व कीर्तिमान पनि कायम गरे। गिनिज वर्ल्ड रेकड्र्सका अनुसार उनले सन् २०१७ मे २७ देखि २०२२ मे ७ सम्मको चार वर्ष ३४५ दिनमा विश्वका सबै आठ हजार मिटरभन्दा अग्ला हिमाल दुईपटक आरोहण गर्ने कीर्तिमान बनाएका थिए ।

त्यति मात्र होइन, उनले अक्सिजनको प्रयोग नगरी ४९ पटक आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरेको उपलब्धि पनि आफ्नो नाममा लेखाए। सगरमाथा र ल्होत्सेजस्ता कठिन हिमाल अक्सिजनबिनै सफलतापूर्वक आरोहण गर्ने सबैभन्दा ज्येष्ठ आरोहीको कीर्तिमान पनि उनकै नाममा रहेको गिनिज वर्ल्ड रेकड्र्सले उल्लेख गरेको छ । यी उपलब्धिहरूले उनलाई केवल नेपाली मात्र होइन, विश्व पर्वतारोहण समुदायकै प्रेरणादायी व्यक्तित्व बनाएको थियो ।

उनको निधनपछि गिनिज वर्ल्ड रेकड्र्सका प्रधान सम्पादक क्रेइग ग्लेन्डेले श्रद्धाञ्जली व्यक्त गर्दै निर्मल पुर्जाले मानव शरीरको क्षमताको सीमालाई निरन्तर चुनौती दिएको बताएका छन्। उनका अनुसार पुर्जाले पर्वतारोहणलाई केवल साहसिक खेलका रूपमा होइन, मानवीय सम्भावनाको नयाँ सीमा परीक्षण गर्ने माध्यमका रूपमा स्थापित गरेका थिए। उनले सिर्जना गरेको प्रेरणाले विश्वभरका नयाँ पुस्ताका आरोहीलाई थप ठूलो सपना देख्न सिकाएको ग्लेन्डेले उल्लेख गरेका छन् ।

तर, निर्मल पुर्जाको सबैभन्दा ठूलो परिचय केवल रेकर्डमा सीमित थिएन । उनी कठिनभन्दा कठिन चुनौती रोज्ने आरोहीका रूपमा चिनिन्थे । मौसम प्रतिकूल हुँदा धेरै आरोही आधार शिविर फर्किने वा अभियान स्थगित गर्ने निर्णय गर्थे, तर पुर्जा परिस्थितिको सूक्ष्म अध्ययन गरेर सम्भावना देखेपछि चुनौती स्वीकार गर्न पछि हट्दैनथे । यही स्वभावका कारण उनले असम्भव ठानिएका धेरै अभियान सफलतापूर्वक पूरा गरेका थिए ।

ब्रड पिक अभियान पनि त्यस्तै चुनौतीपूर्ण थियो । मौसम लगातार प्रतिकूल बनेपछि धेरै अन्तर्राष्ट्रिय आरोहीले आरोहण प्रयास त्यागिसकेका थिए। हंगेरीका पर्वतारोही डेभिड क्लिन र अमेरिकाका इआन ओभर्टनले करिब एक महिना मौसम सुधारको प्रतीक्षा गरेपछि अन्ततः अभियान स्थगित गरेर फर्कने निर्णय गरेका थिए। उनीहरू फर्किएलगत्तै निर्मल पुर्जा नेतृत्वको टोली ब्रड पिकमा आरोहण प्रयासका लागि अघि बढेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि त्यसलाई अत्यन्त जोखिमपूर्ण निर्णयका रूपमा उल्लेख गरेका थिए ।

यद्यपि निर्मल पुर्जाको जीवन नै जोखिमसँगको निरन्तर संघर्ष थियो । उनी कठिन परिस्थितिलाई अवसरका रूपमा हेर्थे। त्यसैले उनी नेतृत्व गरेको टोलीले मौसमको सानो झ्याल प्रयोग गर्दै शिखरतर्फ अघि बढ्ने निर्णय गरेको थियो । तर, यसपटक प्रकृतिले साथ दिएन ।

खोजी अभियानका क्रममा सार्वजनिक भएका विवरणअनुसार टोली करिब ६ हजार ६६० मिटरको उचाइमा पुगेपछि निर्मल पुर्जाको जीपीएस उपकरणले अचानक तीव्र गतिमा तल झरेको संकेत दिएको थियो । केही मिनेटभित्रै उनको लोकेसन करिब दुई हजार फिट तल पुगेपछि उनीहरू हिमपहिरोमा परेको अनुमान गरिएको थियो। प्रारम्भिक चरणमा उनको जीपीएसबाट संकेत आउन जारी रहेकाले उनी जीवित हुन सक्ने आशा गरिएको थियो ।

निर्मल पुर्जाका सहकर्मी तथा अनुभवी आरोही मिङ्मा डेभिडले पनि सुरुवाती चरणमा आशा नत्यागेको बताएका थिए । उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै जीपीएस उपकरण अझै सक्रिय देखिएकाले निर्मल जीवित हुन सक्ने विश्वास व्यक्त गरेका थिए । उद्धार टोलीले प्रतिकूल मौसमका बीच लगातार खोजी अभियान सञ्चालन गरिरहँदा संसारभरका पर्वतारोही र उनका शुभेच्छुकहरूले पनि सुरक्षित उद्धारको कामना गरिरहेका थिए ।

तर, केही दिनको खोजीपछि प्राप्त भएको समाचारले ती सबै आशा समाप्त गरिदियो । अगस्ट २ मा निर्मल पुर्जाको शव फेला परेको पुष्टि भएपछि नेपालसहित विश्व पर्वतारोहण क्षेत्र शोकमा डुब्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म उनको योगदान, साहस र प्रेरणादायी यात्राको चर्चा भयो । विश्वका विभिन्न देशका पर्वतारोही, साहसिक खेलकुदसँग सम्बन्धित संस्था तथा उनका सहकर्मीहरूले उनलाई श्रद्धाञ्जली अर्पण गर्दै पर्वतारोहण क्षेत्रले असाधारण प्रतिभा गुमाएको प्रतिक्रिया दिएका छन् ।

निर्मल पुर्जाको नामसँग जोडिएको अर्को ऐतिहासिक उपलब्धि सन् २०२१ को के–टु हिमालको पहिलो सफल शीतकालीन आरोहण हो । विश्वको दोस्रो सर्वोच्च शिखर के–टु लामो समयसम्म शीतकालमा आरोहण हुन नसकेको अन्तिम आठ हजार मिटर अग्लो हिमाल थियो । निर्मल पुर्जाको नेतृत्वमा १० जना नेपाली आरोहीको टोलीले पहिलोपटक उक्त हिमाल शीतकालमा सफलतापूर्वक आरोहण गरेर विश्व इतिहास रचेको थियो । त्यो उपलब्धिलाई नेपाली पर्वतारोहण इतिहासकै सबैभन्दा गौरवपूर्ण क्षणमध्ये एक मानिन्छ ।

आज निर्मल पुर्जाका कतिपय रेकर्ड भविष्यमा कसैले तोड्न सक्छ । पर्वतारोहण प्रविधि, तयारी र अनुभवसँगै नयाँ पुस्ताले अझ नयाँ कीर्तिमान बनाउन पनि सक्छ । तर, उनले नेपाली पर्वतारोहणलाई विश्वमञ्चमा पुर्‍याएको उचाइ, नेपाली आरोहीको क्षमता प्रमाणित गरेको साहस र असम्भवलाई सम्भव बनाउने आत्मविश्वास भने सधैं स्मरणीय रहनेछ ।

आतंकवादी आक्रमणबाट बच्न तीन–तीनवटा टिकट काटेर पाकिस्तान पुगेका निर्मल पुर्जाले त्यसबेला मृत्युलाई पराजित गरेका थिए । तर, सात वर्षपछि त्यही पाकिस्तानका अग्ला हिमालमा प्रकृतिसँगको अन्तिम संघर्षमा उनले जीवन गुमाए । उनी स्वयं भने अस्ताए, तर उनले नेपाली पर्वतारोहणका लागि निर्माण गरेको साहस, समर्पण र प्रेरणाको विरासत भने अझै धेरै पुस्तासम्म जीवित रहनेछ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।