‘पोस्ट–हर्मुज युग’ अफ्रिकालाई एउटा ठूलो अवसर

हर्मुजको जलडमरूमा आवतजावतमा अवरोध जारी रहँदा अफ्रिकी अर्थतन्त्रहरूले ठूलो धक्का व्यहोरेका छन् । प्रचुर ऊर्जा र अन्य स्रोतसाधनहरू भएता पनि उनीहरूले यो नियति भोग्नुपरेको हो । ४ वर्षअघि रुस–युक्रेन युद्धको पनि यस्तै प्रभाव परेको थियो ।

हामी जसलाई म ‘पोस्ट–हर्मुज युग’ भन्छौँ, त्यस्तो समय जसमा विश्वव्यापी प्रणाली अब एउटै साँघुरो जलमार्गमा मात्र सीमित छैन, यसमा प्रवेश गर्दैगर्दा अफ्रिकासँग आफ्नो भाग्य बदल्ने र विश्व भूराजनीतिको परिधिबाट बाहिर निस्कने अद्वितीय अवसर छ ।

स्रोतसाधनको निष्क्रिय आपूर्तिकर्ता र अन्य भूगोलहरूमा लिइएका रणनीतिक निर्णयहरूको प्रापक हुनुको साटो, यसले आफ्नै भूराजनीतिक सन्दर्भ सिर्जना गर्न सक्छ । त्यो कसरी गर्न सकिन्छ, यहाँ प्रस्तुत छ :

अफ्रिकी राष्ट्रहरू केसँग डराउँछन् ?

अफ्रिकाको रूपान्तरणको पहिलो कदम भनेको मैले ‘थालासोफोबिया’ भनेको अवस्थालाई पार गर्न सामूहिक पहल गर्नु हो, अफ्रिकी राष्ट्रहरूमा समुद्रलाई आर्थिक, राजनीतिक र सैन्य पहुँचको क्षेत्रका रूपमा भन्दा पनि मुख्यतः एउटा भौतिक सीमाका रूपमा हेर्ने ऐतिहासिक प्रवृत्ति ।
दशकौँसम्म अफ्रिकी रणनीतिक कल्पना मुख्यतया भूमिसँग जोडिएका खतराहरूबाट आकारित थियो, राष्ट्रिय मुक्तिका युद्धहरू, गृहयुद्धहरू, विद्रोहहरू, तख्तापलटहरू र सीमा विवादहरू । समुद्र सार्वजनिक नीतिमा मात्र नभई सम्भ्रान्त वर्गको रणनीतिक संस्कृतिमा पनि ओझेलमा पर्‍यो । यसै विरासतले अफ्रिकाले भूमि सुरक्षामा प्रशस्त विचारहरू उत्पादन गर्‍यो तर समुद्री शक्ति, नीलो अर्थतन्त्र, महासागरीय करिडोरहरू र नौसैनिक पहुँचबारे निकै कम विचार ल्यायो भन्ने कुरा स्पष्ट पार्न मद्दत गर्छ ।
अर्को समस्या के हो भने अफ्रिकी राष्ट्रहरू प्रायः साझा महाद्विपीय रणनीतिको राजनीतिक, वित्तीय र संस्थागत लागत सामूहिक रूपमा व्यहोर्न डराउँछन् र अफ्रिकी क्षेत्रको एकीकृत दृष्टिकोणको सट्टा खण्डित राष्ट्रिय प्रतिक्रियाहरूलाई प्राथमिकता दिन्छन् ।

यसका कारणहरू संरचनात्मक छन्, केवल परिस्थितिगत मात्र होइनन् । पहिलो कारण सम्प्रभूताको सर्वोपरिता हो । अफ्रिकी राष्ट्रहरूले औपनिवेशिक सीमाहरू विरासतमा पाए र क्षेत्रीय अखण्डतालाई स्वतन्त्रतापछिको व्यवस्थाको संस्थापक सिद्धान्त बनाए, जसलाई सन् १९६३ मा स्थापित अफ्रिकी एकता संगठन र त्यसको उत्तराधिकारी अफ्रिकी युनियनका आधारहरूमा समावेश गरिएको छ ।
तथापि एउटा साझा समुद्री रणनीतिलाई सार्वभौम विशेषाधिकारहरू साझा गर्नु आवश्यक हुन्छ, अनन्य आर्थिक क्षेत्रहरू (ईईजेड) माथि अधिकार क्षेत्र, संलग्नताका नियमहरू, संयुक्त कमान्डहरू र संवेदनशील गुप्तचर सूचनाहरूको आदानप्रदान ।

दोस्रो कारण स्वार्थहरूको विविधता हो । अफ्रिकासँग एउटा मात्र नभई धेरै समुद्री तटहरू छन्, जहाँ खतराहरू फरक–फरक छन्‌ः गिनीको खाडीमा समुद्री डाँका र कच्चा तेलको चोरी, पश्चिमी हिन्द महासागरमा गैरकानुनी माछा मार्ने र तस्करी र भूमध्यसागरमा आप्रवासी प्रवाह ।
त्यस्ता भिन्न–भिन्न प्राथमिकताहरूबाट एउटै एजेन्डा बनाउनु एउटा कठिन काम हो र खण्डित हुनु नै सबैभन्दा कम प्रतिरोधको बाटोका रूपमा अगाडि आउँछ ।

तेस्रो कारण लागत र क्षमता हो । समुद्री क्षमताहरूको निर्माण नौसैनिक, तटरक्षक, निगरानी, गुप्तचर र लजिस्टिक असाधारण रूपमा महँगो छ र थोरै राष्ट्रहरूले मात्र यसलाई धान्न सक्छन् । समुद्री सुरक्षा एक सामूहिक हितको विषय भएकाले सामूहिक कारबाहीको परम्परागत समस्या सुरु हुन्छ, प्रत्येक राष्ट्रसँग अरूले बोझ व्यहोरोस् भनेर पर्खिने प्रोत्साहन हुन्छ ।

चौथो र सायद सबैभन्दा निर्णायक कारण सुरक्षाको बाह्यकरण हो । अन्तर्राष्ट्रिय मिसनहरू, सैन्य आधारहरू वा द्विपक्षीय सम्झौताहरूअन्तर्गत अफ्रिकी जलक्षेत्रमा विदेशी नौसेनाको स्थायी उपस्थितिले समुद्री सुरक्षा प्रदान गर्दछ । यो कार्यात्मक निर्भरताले आन्तरिक क्षमता निर्माणलाई निरुत्साहित गर्छ ।
पाँचौँ कारण के हो भने सम्भ्रान्त वर्गले क्षेत्रीय एकीकरणबाट भन्दा बाह्य शक्तिहरूसँगको द्विपक्षीय सम्बन्धबाट बढी फाइदा लिन्छन्, जसले गर्दा राजनीतिक र वित्तीय लाभ भित्रबाट बाहिर जानुको सट्टा बाहिरबाट भित्र प्रवाह हुन्छ ।

अन्त्यमा विद्रोह, सीमा विवाद, आन्तरिक सुरक्षा आदिले बजेट र ध्यान आकर्षित गर्छन्, जसले गर्दा समुद्र सधैँ पछाडि धकेलिने प्राथमिकतामा पर्छ ।

अफ्रिकालाई किन भूराजनीतिक चेतना चाहिन्छ ?

अफ्रिकामा समुद्र राजनीतिक रूपमा अदृश्य नै रहन्छ, जब कुनै अन्तर्राष्ट्रिय संकटले अफ्रिकी राष्ट्रहरूलाई विश्वव्यापी समुद्री करिडोरहरूमा उनीहरूको निर्भरताको सम्झना गराउँछ, तब मात्र यसले केन्द्रीयता प्राप्त गर्छ । यसको परिणामस्वरूप अफ्रिकाका विशाल रणनीतिक स्रोतहरू तेल, प्राकृतिक ग्यास, ऊर्जा रूपान्तरणका लागि महत्वपूर्ण खनिजहरू र एटलान्टिक, हिन्द महासागर र भूमध्यसागरलाई जोड्ने भौगोलिक स्थिति भूराजनीतिक स्वायत्ततामा रूपान्तरण हुँदैनन् ।

यो दशकौँ पुरानो उल्झिनबाट बाहिर निस्किन अफ्रिकाले आफ्नै भूराजनीतिक सन्दर्भ निर्माण गर्नुपर्छ । यसको अर्थ समुद्री सुरक्षा, पूर्वाधार, ऊर्जा, मूल्य शृंखला, औद्योगिक एकीकरण, विदेश नीति र सबैभन्दा माथि रणनीतिक स्वायत्तताका क्षेत्रहरूमा महाद्विपीय प्राथमिकताहरू परिभाषित गर्नु हो । यहीँ नै ‘पोस्ट–हर्मुज युग’को अवधारणाले स्पष्टता प्राप्त गर्छ । यसले एउटै ऊर्जा चोकपोइन्टद्वारा प्रभूत्व जमाएको भूराजनीतिक प्रणालीबाट बहुकेन्द्रित प्रणालीतर्फको यात्रालाई जनाउँछ, जसमा विश्वको आर्थिक सुरक्षा धेरै रणनीतिक करिडोरहरूको संयोजनद्वारा निर्धारित हुन पुग्छ, स्वयं हर्मुज र बाब अल–मन्देब, रातो सागर, स्वेज नहर, मोजाम्बिक च्यानल, केप अफ गुड होप, पश्चिमी हिन्द महासागर र अन्ततः आर्कटिक पनि पारस्परिक रूपमा निर्भर करिडोरहरूको एउटा सञ्जाल जसमा अफ्रिकाले केन्द्रीय स्थान ओगट्छ ।
यस सन्दर्भमा अफ्रिका विश्वव्यापी प्रवाहहरूले पार गर्ने क्षेत्र मात्र नरहेर विश्व अर्थतन्त्रका लागि निर्णायक समुद्री करिडोरहरूको प्रणालीको एउटा भाग बन्न पुग्छ ।

महाद्वीपमा कागजमा समुद्री रणनीतिहरूको कमी छैन, अफ्रिकी युनियनले सन् २०१४ मा ‘२०५० अफ्रिकाको एकीकृत समुद्री रणनीति’ र सन् २०१६ मा ‘समुद्री सुरक्षा र संरक्षणसम्बन्धी अफ्रिकी बडापत्र’ अपनाएको थियो । तैपनि अघिल्लो ठूलो मात्रामा कार्यान्वयन हुन बाँकी छ र पछिल्लो अझै लागू हुनका लागि आवश्यक अनुमोदनको संख्याको पर्खाइमा छ । अफ्रिकालाई चाहिएको कुरा यी दस्तावेजहरूलाई व्यवहारमा उतार्नका लागि भूराजनीतिक चेतना हो । घोषित रणनीति र व्यावहारिक रणनीतिबिचको दूरी नै रणनीतिक ‘थालासोफोबिया’को मापन हो ।

अफ्रिकाले के गर्नुपर्छ ?

भूराजनीतिक चेतनाको निर्माण गर्नुको अर्थ सबैभन्दा पहिले अफ्रिकी राजनीतिक सम्भ्रान्तहरूले समुद्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु हो । जबसम्म यसलाई मुख्य रूपमा एउटा सीमा, निर्यात मार्ग वा बाह्य शक्तिहरूको हस्तक्षेपको क्षेत्रका रूपमा बुझिरहिन्छ, तबसम्म आफ्नै समुद्री क्षमताहरूमा लगानी गर्ने राजनीतिक इच्छाशक्ति उब्जने सम्भावना छैन ।

त्यसैले पहिलो रूपान्तरण बौद्धिक हो । यो स्वीकार गर्नु कि समुद्र परिधि नरहेर अफ्रिकी शक्तिको सुदृढीकरणका लागि मुख्य क्षेत्रहरूमध्ये एक बनेको छ । यसको अर्थ संस्था, बजेट र कमान्ड संरचनाहरूमा समुद्री महत्वाकांक्षालाई समावेश गर्नु हो । जहाँसम्म नेतृत्वको कुरा छ, महाद्विपीय नोकरशाहीका रूपमा केवल अफ्रिकी युनियनबाट मात्र यसको अपेक्षा गर्नु भ्रमपूर्ण हुनेछ । वास्तविक ऊर्जा समुद्री वजन र राजनीतिक इच्छाशक्ति भएका प्रमुख राष्ट्रहरूको गठबन्धनबाट आउनेछ, दक्षिण अफ्रिका, नाइजेरिया, मिश्र, मोरक्को, केन्या, अङ्गोला र सेनेगल जसले क्षेत्रीय आर्थिक समुदायहरू र विशिष्ट संयन्त्रहरूमार्फत काम गर्नेछन् ।

नजिर विद्यमान छ र यो अफ्रिकी नै हो । गिनीको खाडीका राष्ट्रहरूद्वारा सिर्जना गरिएको ‘याउन्डे आर्किटेक्चर’ले समन्वय र सूचना आदानप्रदान केन्द्रहरू स्थापना गर्‍यो, जसले त्यस क्षेत्रमा समुद्री डाँकागिरी घटाउन मद्दत गर्‍यो । यो १ कार्यात्मक, आन्तरिक र अनुकरणीय मोडल हो, जसलाई पश्चिमी हिन्द महासागर र मोजाम्बिक च्यानलसम्म विस्तार गरिनुपर्छ । ठोस नीतिको सन्दर्भमा ६ वटा क्षेत्र प्राथमिकतामा परेका देखिन्छन् । पहिलो, पहिले नै विद्यमान संयन्त्रहरूलाई अनुमोदन र सञ्चालन गर्नु । दोस्रो, साझा समुद्री ज्ञानको निर्माण गर्नु, साझा निगरानी, स्याटेलाइट र राडार गुप्तचरको संयोजन, अन्तर–सञ्चालन योग्य तटरक्षकहरू, संयुक्त गस्ती र एउटा राज्यका एजेन्टहरूलाई अर्को राज्यका जहाजहरूमा चढ्न अनुमति दिने सम्झौताहरू ।

तेस्रो, बाह्य दाताहरूमाथिको निर्भरता तोक्न आफ्नै स्रोतसाधन र अफ्रिकी विकास बैंकमा आधारित अफ्रिकी समुद्री सुरक्षा कोष स्थापना गर्दै वित्तपोषणको प्रश्न समाधान गर्नु । चौथो, बन्दरगाह र करिडोरहरूलाई एकीकरणको भौतिक मेरुदण्डका रूपमा लिँदै अफ्रिकी महाद्विपीय मुक्त व्यापार क्षेत्र (एएफसीएफटीए)सँग समुद्री प्रयासलाई जोड्नु । पाँचौँ, ऊर्जा लचिलापनलाई सुदृढ गर्नु । प्रशोधन क्षमता र रणनीतिक भण्डारणको विकास गर्नु, ताकि उत्पादकहरूले कच्चा तेल निर्यात गर्ने र चोकपोइन्टहरूमा हुने कुनै पनि अवरोधबाट प्रभावित हुने प्रशोधित उत्पादनहरू आयात गर्ने क्रम अन्त्य होस् ।
छैटौँ, समुद्रको मानवीय र औद्योगिक पुँजीमा लगानी गर्नु । समुद्री एकेडेमीहरू, हाइड्रोग्राफी, जहाज मर्मत र निर्माण, अफ्रिकी फ्ल्याग रजिस्ट्रिहरू र आफ्नै समुद्री बिमा, ताकि आज महाद्वीपबाट बाहिरिइरहेको मूल्यलाई कब्जा गर्न सकियोस् ।

संक्षेपमा भूराजनीतिक चेतना त्यसै क्षण वास्तविक हुन्छ, जब कोषयुक्त संस्थाहरू, कार्यान्वयन गरिएका बजेटहरू र सञ्चालन योग्य कमान्डहरूमा रूपान्तरण हुन्छ, अनुमोदन वा वित्तपोषणको पर्खाइमा रहेको अर्को दस्तावेजमा मात्र सीमित हुँदैन । पोस्ट–हर्मुज युग अफ्रिकाका लागि खतरा होइन । यो सायद यसको सबैभन्दा ठूलो अवसरको ढोका हो । निर्णायक प्रश्न अब अफ्रिकाले नयाँ विश्व भूराजनीतिमा स्थान ओगट्छ कि ओगट्दैन भन्ने रहेन । त्यो स्थान यसको भूगोल र स्रोतको बलले गर्दा अस्तित्वमा छ । वास्तविक प्रश्न के हो भने महाद्वीपसँग इतिहासको वस्तुका रूपमा नभई कर्ताका रूपमा त्यसलाई ओगट्नका लागि आवश्यक रणनीतिक दृष्टिकोण हुनेछ कि छैन ? (अलजजिराबाट भावानुवाद)