महोत्तरी । मधेसको मिथिला क्षेत्रमा धार्मिक तथा सांस्कृतिक महत्वका साथ मनाइने झुलनोत्सव सम्पन्न भएको छ ।
साउन शुक्ल पक्षको तृतीयादेखि सुरु भएको १३ दिने झुला पर्व साउन पूर्णिमाको मध्यरातपछि झुलाको डोरी छिनाएर विधिवत् रूपमा समापन गरिएको हो ।
मिथिला क्षेत्रमा परम्परागत रूपमा मनाइँदै आएको झुलनोत्सवमा भगवान् विष्णु–लक्ष्मीका साथै राम–सीता र राधा–कृष्णका प्रतिमालाई कलात्मक झुलामा राखेर झुलाउने गरिन्छ । श्रद्धालु तथा साधुसन्तले झुलाको डोरी समाउँदै झुला गीत गाउने, नाच्ने र धार्मिक अनुष्ठानमा सहभागी हुने गरेका छन् ।
मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवका अनुसार साउन पूर्णिमाको मध्यरातपछि देवदेवीका प्रतिमा झुलाइएको झुलाको डोरी छिनाएर पर्व सम्पन्न गर्ने परम्परा छ । उनका अनुसार झुलनोत्सव वैष्णव परम्परासँग जोडिएको मिथिलाको पुरानो सांस्कृतिक पर्व हो ।
झुलनोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिर तथा महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ र लक्ष्मीनारायण मन्दिर परिसरमा रहेको झुलाघरमा विशेष कार्यक्रम आयोजना गरिन्छ । पायक पर्ने विभिन्न मठमन्दिरबाट राम–सीता तथा राधा–कृष्णका प्रतिमा ल्याएर सामूहिक रूपमा झुलाउने परम्परा छ ।
मटिहानीस्थित झुलाघरमा झुलनोत्सव विशेष आकर्षणका रूपमा रहँदै आएको छ । झुलनोत्सवकै लागि निर्माण गरिएको झुलाघरमा लक्ष्मीनारायण मठ तथा मन्दिरबाट विष्णु–लक्ष्मीका प्रतिमालाई डोलीमा बोकेर ल्याई झुलामा राखेर झुलाउने गरिन्छ । यस वर्ष नेपाल र भारतका विभिन्न मठमन्दिरबाट दर्जनौँ देवदेवीका प्रतिमा झुलाउन ल्याइएको महन्थ वैष्णवले जानकारी दिए ।
पर्वभरि मठमन्दिर क्षेत्रमा साधुसन्त, श्रद्धालु तथा स्थानीयवासीको बाक्लो उपस्थिति रहने गरेको छ । धार्मिक अनुष्ठानसँगै मल्हार र कजरी गीतका लयमा गीत गाउने तथा नाच्ने भएकाले झुलनोत्सव मिथिलाको धार्मिक पर्व मात्र नभई मौलिक लोकसंस्कृतिको उत्सवका रूपमा समेत स्थापित छ ।
मिथिला लोकपरम्पराका जानकारका अनुसार झुलनोत्सवको परम्परा राम र कृष्णसँग जोडिएको धार्मिक तथा सांस्कृतिक मान्यतासँग सम्बन्धित छ । जनकपुरस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार मिथिलामा झुला पर्वको परम्परा विक्रम संवत् १७८७ तिर सन्त सुरकिशोर दासले सुरु गरेको विश्वास गरिन्छ ।
साउन शुक्ल पक्ष मिथिलामा धान रोपाइँ सकिएपछिको समय पनि हो । खेतबारीमा हरियाली छाउने र किसानको मुख्य कृषि कार्य सम्पन्न हुने भएकाले यो समयलाई मैथिल समुदायले उत्सव र उल्लासको समयका रूपमा लिने गरेका छन् । धानबालीका लागि अनुकूल मौसमको कामना गर्दै धार्मिक तथा सांस्कृतिक गतिविधि गर्ने परम्परा पनि यस पर्वसँग जोडिएको छ ।
मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका प्राचार्य हेमनारायण लाल कर्णका अनुसार धान रोपाइँपछि फुर्सदको समयमा मैथिल समुदायले आफ्ना इष्टदेव राम, कृष्ण, सीता र राधासँग खेल्ने तथा रमाउने भावनाका साथ झुला पर्व मनाउँदै आएको हो । उनका अनुसार कृषि जीवन, धार्मिक आस्था र लोकसंस्कृतिको समन्वय झुलनोत्सवमा देखिन्छ ।
मिथिलामा झुलनोत्सव रामको जन्मभूमि अवध अर्थात् अयोध्या र कृष्णको बाललीलास्थल मानिने वृन्दावनको परम्पराबाट प्रभावित भएर विकास भएको विश्वाससमेत गरिन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सीताको माइती भएकाले मैथिल समुदायमा राम–सीताको सम्बन्धसँग जोडिएका विभिन्न सांस्कृतिक परम्परा प्रचलित छन् । यही परम्पराअन्तर्गत साउन शुक्ल पक्षका पछिल्ला १३ दिन राम–सीतालाई झुलाउने चलन रहेको प्राचार्य कर्णले बताए ।
झुला पर्वको सुरुआतसँग जोडिएको जनविश्वाससमेत जनकपुरधामको मणिपर्वतसँग सम्बन्धित छ । जनकपुरस्थित जानकी मन्दिरबाट करिब पाँच किलोमिटर उत्तरपश्चिममा रहेको मणिपर्वतमा साउन शुक्ल तृतीयाका दिन पूजा गरेपछि झुला पर्व सुरु गर्ने परम्परा रहेको बताइन्छ ।
मिथिलाको सांस्कृतिक पहिचानसँग जोडिएको झुलनोत्सवले धार्मिक आस्थासँगै स्थानीय लोकगीत, नृत्य, कला र परम्परालाई पुस्तान्तरण गर्ने माध्यमको काम गर्दै आएको जानकारहरू बताउँछन् । जलेश्वर–५ पतैली निवासी तथा याज्ञवल्क्य विद्यापिठका अवकाशप्राप्त नेपाली साहित्यका सहप्राध्यापक ध्रुव रायका अनुसार झुलनोत्सव मिथिलाको मौलिक लोकपरम्परा र सांस्कृतिक पहिचान बोकेको महत्वपूर्ण पर्व हो ।
झुलनोत्सव सम्पन्न भएसँगै मिथिला क्षेत्रमा साउन महिनासँग जोडिएको धार्मिक तथा सांस्कृतिक गतिविधिको एक महत्वपूर्ण चरण पनि पूरा भएको छ । पर्वका क्रममा मठमन्दिरमा देखिएको भक्तजनको सहभागिता र लोकसंस्कृतिको प्रस्तुतिले पुरानो परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेको छ ।


































