साइमा वाजेदले डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक पदबाट राजीनामा दिइन्‌

जेनेभा । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक पदबाट राजीनामा दिएकी छिन् ।

वित्तीय अनियमितताको आरोपमा अनुसन्धान भइरहेका बेला उनले सेप्टेम्बर ९ मा महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसससमक्ष राजीनामा बुझाएकी हुन् । डब्लुएचओको क्षेत्रीय समितिले सेप्टेम्बर ८ मा उनको नियुक्ति समाप्त गर्न सिफारिस गरेको थियो । उक्त सिफारिस कार्यकारी बोर्डले विचार गर्नुपर्ने थियो । डब्लुएचओले विषयलाई स्थापित प्रक्रिया र नियामक व्यवस्थाअनुसार निष्पक्षरूपमा अघि बढाइएको जनाएको छ । वाजेदलाई बङ्गलादेशमा भ्रष्टाचार, धोखाधडी, जालसाजी तथा शक्तिको दुरुपयोगको आरोपमा अनुसन्धान भइरहेको छ ।

डब्लुएचओले जुलाई २०२५ मा उनलाई बेतलबी बिदामा पठाएको थियो भने बङ्गलादेशको भ्रष्टाचारविरोधी आयोगले सोही वर्ष उनि विरुद्ध मुद्दा दायर गरेको थियो । सन् २०२३ मा क्षेत्रीय निर्देशकमा निर्वाचित वाजेदले सन् २०२४ को सुरुआतमा ५ वर्षे कार्यकालका लागि पदभार सम्हालेकी थिइन् । राजीनामा पत्रमा उनले डब्लुएचओ नेतृत्वप्रति विश्वास नरहेको तथा लामो समय बेतलबी बिदामा राखिँदा आर्थिक कठिनाइमा परेको बताएकी छिन् । नयाँ क्षेत्रीय निर्देशक नियुक्त नभएसम्म नीलेश बुद्धले कार्यवाहक प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।