धादिङ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापनसँगै स्थायी पुनर्निर्माण र पुन.स्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताए ।
धादिङको गल्छीस्थित बाढी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकनपछि उनले बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै अब पुनर्निर्माणको काम महत्त्वपूर्ण रहेको बताए। “भौतिक क्षति ठूलै भएको छ । अब बाढी प्रभावितका लागि राहतसँगै अब अस्थायी र स्थायी पुनर्निर्माण तथा पुन:स्थापनाको काममा ध्यान केन्द्रित गर्नुपर्छ”, उनले भने ।
संयोजक दाहालले विपद्पछि नेकपाले सुरुदेखि आफ्नोतर्फबाट पहल गर्दै आएको बताए।विपद् व्यवस्थापनसम्बन्धी अनुभव भएका पार्टी नेता गङ्गालाल तुलाधरको नेतृत्वमा कामको संयोजन गर्न समिति गठन गरिएको जानकारी दिँदै उनले पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा परिचालन गरिएको बताए ।
उनले बाढी प्रभावित क्षेत्रमा पार्टीको युवा सङ्गठन योङ कम्युनिष्ट लिग वाइसीएल ले गरेको कामको प्रशंसा गरे । “हाम्रा युवाहरू, मुख्यतः वाइसीएलले यसपटक प्रभावित क्षेत्रमा गएर समन्वयात्मक काम गरेका छन्, म उनहिरूलाई धन्यवाद दिन चाहन्छु”, दाहालले भने । दाहाल आज बाढीका कारण प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे जानकारी लिन धादिङको गल्छी आएका हुन् ।




































