हुन्डाईको नयाँ एसयूभी बायोन भारतमा सार्वजनिक, चाँडै नेपाल आउने

काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल निर्माता हुन्डाईले आफ्नो नयाँ मिडसाइज एसयूभी बायोन भारतीय बजारमा सार्वजनिक गरेको छ।

कम्पनीले बायोनलाई भेन्यू र क्रेटाको बीचमा राखेर बजारमा ल्याएको हो। भारतीय बजारमा सातवटा भेरियन्टमा उपलब्ध हुने बायोनको सुरुआती मूल्य ९ लाख ९९ हजार ९९९ भारतीय रुपैयाँ तोकिएको छ ।

आकर्षक डिजाइन, आधुनिक प्रविधि, आरामदायी सुविधा र सुरक्षाका विभिन्न फिचरले सुसज्जित बायोनले भारतीय एसयूभी बजारमा प्रतिस्पर्धा थप बढाउने अपेक्षा गरिएको छ । भारतमा सार्वजनिक भएसँगै यो एसयूभी चाँडै नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बायोन ल्याउने तयारी गरेको हो। यद्यपि, नेपालमा यसको बिक्री सुरु हुने मिति र मूल्यबारे कम्पनीले आधिकारिक जानकारी दिएको छैन ।

नयाँ हुन्डाई बायोनको बाहिरी डिजाइन बोल्ड र आकर्षक छ। यसको अगाडिको भागमा स्प्लिट हेडलाइट, पातला एलईडी डेटाइम रनिङ लाइट (डीआरएल) र अंग्रेजी अक्षर ‘एच’ आकारको लाइट डिजाइन दिइएको छ। साइड प्रोफाइलमा बाक्लो बडी क्ल्याडिङ, बाहिरतिर फैलिएका ह्वील आर्च र आकर्षक अलोय ह्वील छन् । पछाडिको भागमा पातला टेललाइट, रूफ स्पोइलर तथा टेलगेटमा बायोनको नाम राखिएको छ ।

आकारका हिसाबले बायोनको लम्बाइ ४ हजार २४५ एमएम, चौडाइ १ हजार ८१० एमएम र उचाइ १ हजार ६०५ एमएम छ। यसको ह्वीलबेस २ हजार ६०० एमएम र ग्राउन्ड क्लियरेन्स २०५ एमएम रहेको छ । यसमा ५०५ लिटर क्षमताको बुट स्पेस र ४३ लिटरको इन्धन ट्यांकी उपलब्ध छ ।
बायोनमा १.५ लिटरको नेचुरली एस्पिरेटेड चार सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ। उक्त इन्जिनले अधिकतम ११५ पीएस पावर र १४४ एनएम टर्क उत्पादन गर्छ। यसमा ६–स्पिड म्यानुअल र आईभीटी गियरबक्सको विकल्प उपलब्ध छ। युरोपेली बजारमा भने बायोन फरक १.० लिटर टी–जीडीआई पेट्रोल इन्जिनसहित उपलब्ध रहेको छ ।

आराम र सुविधालाई ध्यानमा राखेर तयार पारिएको यसको क्याबिनमा अगाडिका भेन्टिलेटेड सिट, पानोरामिक सनरुफ, विद्युतीय रूपमा समायोजन गर्न सकिने चालकको सिट, वायरलेस फोन चार्जिङ र बोस प्रिमियम अडियो सिस्टमजस्ता सुविधा छन् ।

ड्यासबोर्डमा १२.३ इन्चका डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र इन्फोटेनमेन्ट स्क्रिन उपलब्ध छन्। यसमा जेनेरेटिभ एआईमा आधारित भ्वाइस असिस्टेन्ट पनि दिइएको छ, जसले प्रप्लेक्सिटी र साउन्डहाउन्ड एआईको प्रविधि संयोजन गर्छ। उक्त प्रणालीले अंग्रेजी, हिन्दी, हिङ्लिश, तमिल, तेलुगु र बंगाली भाषामा ५०० भन्दा बढी भ्वाइस कमान्डलाई समर्थन गर्ने कम्पनीले जनाएको छ। केही कमान्ड इन्टरनेट कनेक्सनबिनासमेत प्रयोग गर्न सकिने बताइएको छ ।

बायोनमा हुन्डाईको ब्लुलिंक कनेक्टेड कार प्रविधि पनि उपलब्ध छ । यसमार्फत ७० भन्दा बढी कनेक्टेड सुविधा प्रयोग गर्न सकिन्छ। साथै, १९ वटा इलेक्ट्रोनिक कन्ट्रोल युनिटका लागि ओभर द एयर (ओटीए) सफ्टवेयर अपडेटको सुविधा दिइएको छ ।

सुरक्षाका लागि बायोनमा ३५ भन्दा बढी स्ट्यान्डर्ड फिचरसहित कुल ८५ भन्दा बढी सुरक्षा सुविधा रहेको कम्पनीको दाबी छ । यसमा २३ वटा सुविधासहितको लेभल २ प्रो एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, टायर प्रेसर मोनिटरिङ सिस्टम र हिल स्टार्ट असिस्टलगायतका फिचर उपलब्ध छन् ।

भारतीय बजारमा सातवटा भेरियन्टसहित सार्वजनिक भएको बायोनलाई हुन्डाईले आफ्नो एसयूभी लाइनअपमा भेन्यू र क्रेटाबीचको विकल्पका रूपमा प्रस्तुत गरेको छ । आधुनिक प्रविधि, प्रिमियम सुविधा र सुरक्षाका विशेषतासहित नेपालमा आउने तयारीमा रहेको यो एसयूभीले नेपाली बजारमा कस्तो मूल्य र प्रतिक्रिया पाउँछ भन्ने कुरा भने यसको आधिकारिक मूल्य तथा बिक्री सुरु भएपछि स्पष्ट हुनेछ ।