काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ले प्रदान गर्ने ‘बेस्ट बैंक नेपाल २०२६’ अवार्डबाट सम्मानित भएको छ।
यससँगै बैंकले लगातार तेस्रो वर्ष उक्त अवार्ड प्राप्त गर्दै अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा आफ्नो पहिचान थप मजबुत बनाएको छ ।
बैंकले यसअघि सन् २०२४ र २०२५ मा पनि ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक नेपाल’ अवार्ड प्राप्त गरेको थियो। लगातार तीन वर्षसम्म उक्त सम्मान प्राप्त गर्नु बैंकको वित्तीय क्षमता, संस्थागत विश्वसनीयता र ग्राहककेन्द्रित सेवाको उपलब्धिका रूपमा लिइएको छ ।
थाइल्यान्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।
ग्लोबल फाइनान्सले बैंकको वित्तीय स्रोत परिचालन गर्ने क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी र ग्राहकमैत्री सेवामा गरेको नवप्रवर्तनलाई मूल्यांकनको आधार बनाएको थियो । त्यसैगरी, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई)को प्रयोग, दिगो कर्जा प्रवाह र जोखिम व्यवस्थापनलाई समेत अवार्ड छनोटका महत्त्वपूर्ण मापदण्डका रूपमा लिइएको जनाइएको छ ।
समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वका विभिन्न देशका प्रतिष्ठित वित्तीय संस्थालाई समेत विभिन्न विधामा सम्मान गरिएको थियो । सम्मानित संस्थाहरूमा चीनको बैंक अफ चाइना र आईसीबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, मलेसियाको यूओबी मलेसिया, बंगलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंकलगायत रहेका थिए ।
ग्लोबल आइएमई बैंकले उक्त अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक भएको जनाएको छ । ग्लोबल फाइनान्सले विश्वभरका बैंकहरूको वित्तीय कार्यसम्पादन, सेवा प्रवाह र व्यावसायिक उपलब्धिको मूल्यांकन गर्दै विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ ।
देशभर ३४१ शाखामार्फत बैंकिङ सेवा
ग्लोबल आइएमई बैंकले आफ्नो सेवा सञ्जाललाई देशव्यापी रूपमा विस्तार गरेको छ। बैंकका अनुसार उसले मुलुकका सबै ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंकका रूपमा सेवा प्रदान गर्दै आएको छ ।
बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र तथा ६९ एक्सटेन्सन र राजस्व संकलन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ । यसका अतिरिक्त विदेशमा तीन प्रतिनिधि कार्यालय सञ्चालनमा रहेका छन्। यी सञ्जालमार्फत बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै आएको छ। यसले विदेशमा रहेका नेपालीलाई स्वदेशमा रकम पठाउन सहज बनाउनुका साथै देशको अर्थतन्त्रमा योगदान पुर्याएको बैंकको भनाइ छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान
ग्लोबल आइएमई बैंकले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको जनाएको छ । बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’, सन् २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा सन् २०२२, २०२४ र २०२५ मा ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ प्राप्त गरेको थियो ।
त्यसैगरी, सन् २०२४ मा ‘बेस्ट बैंक ईएसजी नेपाल’ र ‘बेस्ट इम्प्लोयर’लगायतका सम्मानसमेत प्राप्त गरेको बैंकले जनाएको छ ।
लगातार तेस्रोपटक ग्लोबल फाइनान्सको अवार्ड प्राप्त भएपछि बैंकले आगामी दिनमा अझ गुणस्तरीय, सुरक्षित र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्न थप प्रोत्साहन मिलेको जनाएको छ। बैंकले यस उपलब्धिका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अन्य नियामक निकाय, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गरेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा प्राप्त यो सम्मानले बैंकको पहिचान थप स्थापित गरे पनि ग्राहकको विश्वास कायम राख्दै डिजिटल बैंकिङ, वित्तीय पहुँच र सेवाको गुणस्तरमा निरन्तर सुधार गर्नु आगामी दिनमा बैंकका लागि महत्त्वपूर्ण रहनेछ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




































