काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान गरेका छन् ।
शुक्रबार साँझ नेपाली टोलीको नेतृत्व गर्दै मन्त्री भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा आयोजित ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन त्यस तर्फ प्रस्थान गरेका हुन् । जेठको १९ देखि ३० गतेसम्म जेनेभामा ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन सन्चालन भइरहेको छ ।
यसअघिका जारी सेसनहरुमा मन्त्रालयका तर्फबाट सचिव डा. कृष्णहरि पुष्करले सहभागिता जनाइरहेका छन् ।
यस अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा मन्त्री भण्डारीले प्लेनरी सत्रमा सम्बोधनका क्रममा अनौपचारिक श्रमलाई औपचारिकीकरण, सामाजिक न्याय प्रवर्द्धन, मर्यादित रोजगारी, नेपालको दस वर्षे आन्तरिक रोजगारीको योजना साथै मुलुकको दीर्घकालीन लक्ष्य र प्राथमिकताका विषयहरुलाई प्रस्तुत गर्ने छन् ।
सचिवालयले जनाइए अनुसार मन्त्री भण्डारीले जेठको २६ गते प्लेनरी सेसनलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सोही दिन अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक गिल्बबर्ल्ट एफ. हाउङवो र मन्त्री भण्डारीबीच द्धिपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ ।





































