गोसाइँकुण्ड र लाङटाङमा आन्तरिक पर्यटकको चहलपहल बढ्दो

रसुवा । भोटेकोशी बाढीपछि लामो समय सुनसानजस्तै रहेको विश्वमै लोकप्रिय रहेको पर्यटकीय गन्तव्य लाङटाङ तथा धार्मिक क्षेत्र गोसाइँकुण्डमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ ।

गत भदौ १० गतेको बाढीका कारण करिब २ महिना ठप्पजस्तै रहेका सडक तथा पदमार्गको सुधारसँगै यस क्षेत्रको पर्यटन विस्तारै लयमा फर्कन लागेको हो । लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार बाढीका कारण २ महिनासम्म पर्यटकीय गतिविधि पूर्ण रूपमा प्रभावित भएकामा वेत्रावतीमा बेलिब्रिज निर्माण भई सडक सञ्जाल पुनः जोडिएपछि पर्यटकको आगमन विस्तारै वृद्धि हुन थालेको छ । पर्यटन तथा होटल व्यवसायी सघं रसुवाका अध्यक्ष विशाल घलेका अनुसार अहिले लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउनेजाने क्रम उत्साहजनक रूपमा सुरु भएको छ । बाढीले केही समय पदमार्ग र सडकमा अवरोध पुर्‍याए पनि हाल मार्ग सहज तुल्याइएकाले पर्यटक निर्धक्क भएर गन्तव्यतर्फ लागिरहेका छन् ।

गोसाइँकुण्ड मार्गमा होटल सञ्चालन गरिरहेका व्यवसायी पासाङ ध्युमीले बाटो खुलेपछि धार्मिक तथा प्राकृतिक रूपमा महत्त्वपूर्ण मानिने गोसाइँकुण्ड पुग्ने पर्यटकको चहलपहलले व्यवसायीमा ठूलो आशा जगाएको प्रतिक्रिया दिए । त्यस क्षेत्रको अवलोकन भ्रमणमा पुगेका पर्यटकले अरूबाट सुनेको भन्दा आफैँ यहाँ आइपुग्दा निकै रमाइलो र सुरक्षित लागेको प्रतिक्रिया दिएका छन् । लाङटाङ घुम्न गएका नुवाकोट, नर्जाका शारदा खनाल र उनका छोराले बाटो सहज रहेको बताए । उनिहरूले भने, “बाढीका कारण बाटो अप्ठ्यारो होला कि भन्ने डर थियो, तर बाटो सहजै रहेछ । हामीले ढुक्कसँग प्रकृतिसँग रमाएर यात्रा पूरा गर्यौँ ।”

लाङटाङका स्थानीय होटल व्यवसायी निमा लामाले पनि आन्तरिक तथा बाह्य पर्यटकहरू विस्तारै आउन थालेकामा खुसी व्यक्त गरे । लामो समयको अन्तरालपछि पर्यटक देखिन थालेकाले अबका दिनमा आफ्नो व्यवसाय पनि चलायमान हुनेमा विश्वस्त रहेको धारणा व्यक्त गरे । शरद ऋतुको पर्यटकीय याम सुरु भएको तथा मौसममा आएको सुधारसँगै जिल्लाका विभिन्न पर्यटकीयस्थलमा पर्यटक भित्रिने क्रम बढेको छ । मानव बस्तीनजिकै रहेको हिमनदी र लाङटाङको क्याङजेन क्षेत्रको मनोरम दृश्यले त्यहाँ अवलोकन गर्न पुग्ने जोकोही पर्यटकलाई आकर्षित गरिरहेको छ ।

त्यस क्षेत्रमा पर्यटकको चहलपहल बढेपछि स्थानीय व्यवसायीमा नयाँ उत्साह थपिएको पर्यटन व्यवसायी डिण्डुप तामाङको भनाइ छ ।
पछिल्लो समय त्यस क्षेत्रको पदयात्रा नवयुवा पुस्ताको आकर्षणको केन्द्र बनिरहेको छ । सघंका अनुसार हाल दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटक गोसाइँकुण्ड र लाङटाङ पुग्ने क्रम बढदो छ । क्यान्जिन क्षेत्रका होटल व्यवसायी ग्याल्बु तामाङका अनुसार केही समयको सुस्ताएको पदमार्ग सुरक्षित भएसँगै रसुवाको पर्यटन उद्योगले नयाँ गति लिएको छ ।