सहरमा लैंगिक हिंसाविरुद्धको अभियान, गाउँका महिला हिंसाका सिकार

गोरखा । मंगलबारबाट विश्वभर लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको छ । लैङ्गिक हिंसा न्यूनिकरण गर्ने मुल उद्देश्यका साथ हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रुपमा यो अभियान संचालन हुने गरेको हो । नेपालमा पनि स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म विभिन्न कार्यक्रम, सभा गरेर अभियान मनाउने प्रचलन रहेको छ । हरेक वर्ष भव्यताका साथ लैङ्गिक हिंसा बिरुद्धको अभियान संचालन गरेता पनि त्यसको उपलब्धि(परिणाम) भने देखिएको छैन । गोरखामा पनि मंगलबार गोरखा नगरपालिकाको आयोजनामा ‘लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान’ सुरु भएको छ ।

गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाको प्रमुख आतिथ्यतामा अभियानको उद्घाटन भएको हो । जिल्ला प्रशासन कार्यालयदेखि ठुलोआँगनसम्म प्रभातफेरी गरेर अभियान सुरुवात गरेको गोरखा नगरपालिकाको सामाजिक बिकास शाखा प्रमुख बिजयभक्त उपाध्यायले बताए । गोरखा नगरपालिकाले जिल्ला प्रशासन, जिल्ला प्रहरी एवं सुरक्षा निकायहरु, सामाजिक बिकास कार्यालय, जिल्लाका क्रियाशील विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरेर अभियान अवधिभर विभिन्न कार्यक्रमहरु संचालन गर्ने उनले जानकारी दिए । ‘सबै निकायलाई फरक फरक जिम्मेवारी दिएर १६ दिने अभियानभर विभिन्न कार्यक्रमहरु संचालन हुनेछ’, उनले भने, ‘मानसिक रोग र लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण, सडक नाटक लगायत विभिन्न कार्यक्रम हुन्छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानभित्र अपाङ्गता दिबस, एड्स दिवस, भ्रष्टाचार बिरुद्धको दिवस, मानव अधिकार दिवस पनि पर्ने हुँदा उक्त दिवसहरु पनि मनाउँछौँ ।’ समग्रमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मुल नारासहित यस वर्षको १६ दिने अभियान भव्यताका साथ मनाउने योजना रहेको उनको भनाई छ ।

नगरपालिका लगायत सरकारी तथा गैरसरकारी निकायले भव्यताका साथ मनाइरहेको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानले गाउँ गाउँका लैङ्गिक हिंसा पीडितलाई छोएको छैन । सदरमुकाम नजिकैको सहिदलखन गाउँपालिका १ बक्राङकी २२ वर्षकी मनिका परियार ६ महिनासम्म न्वारन पनि नभएको छोरालाई लिएर लाचार जीवन बिताउन बाध्य छिन् । हिन्दु परम्परा अनुसार बच्चा जन्मेको ११ दिनमा न्वारन गर्ने प्रचलन छ । बच्चाको न्वारानपछि नामाकरण हुने र चोखिने चलन विद्यमान छ । तर, मनिकाको ६ महिने छोरोको हालसम्म पनि न्वारन हुन सकेको छैन । उनले जेठ २ गते प्रदेश अस्पताल गोरखामा एक्लै छोरा जन्माएकी थिइन् । बक्राङबासीले चन्दा उठाएर मनिका र उनको छोराको अस्पताल खर्च, सुत्केरी खर्चको जोहो गरे । जातिय विभेदको सिकार बनेकी उनी र बच्चालाई अस्वीकार गर्ने उनका श्रीमान धादिङका मिलन श्रेष्ठलाई गोरखा प्रहरीले पक्राउ पनि गर्‍यो । तर, केही समयपछि मिलनले रिहाइ पाए ।

अहिले मनिकाको मुद्दा जिल्ला सरकारी वकिल कार्यालयमा बिचाराधीन अवस्थामा छ । त्यसपछि के हुन्छ ? अदालले मुद्दाको विषयमा आवश्यक अनुसन्धान गर्छ र सोही आधारमा फैसला गर्ला । उ दण्ड सजायँको भागिदार बन्ला वा उम्केला त्यो त अदालतकै गर्भमा छ । तर मनिका, एउटी अति न्युन वर्गीय परिवारको छोरीले आफ्नो जीवनभर दुखकष्ट ब्यहोर्नु परिरहेको छ । लैङ्गिक हिंसा बिरुद्धका अभियानहरु चलाउँदा मनिका परियार र उनी जस्ता युवती लक्षित कार्यक्रमहरु संचालन गर्नुपर्ने पत्रकार भिमलाल श्रेष्ठ बताउँछन् । ‘आजभोलि यस्ता अभियानहरु औपचारिकताका लागि मात्र संचालन गर्ने अवस्था छ । सरोकारवाला निकायहरुले जिल्ला लैङ्गिक हिंसाको अवस्था बुझेको जस्तो लाग्दैन’, उनले भने, ‘मिडियाहरुले पनि अभियान मनायो भनेर औपचारिक समाचारको पछाडि मात्र दौडिरहेको देखिन्छ । त्यसको सट्टा लैङ्गिक हिंसामा परेकाहरुको विषयलाई जरैदेखि खोजेर उजागर गर्नुपर्छ ।’ यस्तै, मानव अधिकारकर्मीहरुले पनि औपचारिकताका लागि मात्र कार्यक्रम नगरी बास्तवमै हिंसा पीडितहरुको अवस्था बुझ्ने, त्यसको कारण पत्ता लगाउने र न्यूनीकरणको उपायहरु सोचेर कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।