फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फको उम्मेदवारीसमेत निर्वाचन आयोगमा पेस भइसकेपछि मुलुक औपचारिक रूपमा चुनावी प्रक्रियामा प्रवेश गरिसकेको छ । लोकतान्त्रिक व्यवस्थामा निर्वाचन जनताको सार्वभौम अधिकार प्रयोग हुने सबैभन्दा महत्वपूर्ण माध्यम हो ।
यस्तो निर्णायक घडीमा राजनीतिक दलहरू स्पष्ट दृष्टिकोण, सक्षम नेतृत्व र एकताबद्ध संगठनका साथ जनतामाझ उभिनुपर्ने हुन्छ । तर दुर्भाग्यवश, देशको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेस भने विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवादमा अल्झिँदै विभाजनको दिशातर्फ उन्मुख देखिएको छ । यो अवस्था कुनै एक दलको आन्तरिक विषयमा सीमित नरही देशकै लोकतान्त्रिक भविष्यसँग जोडिएको गम्भीर चिन्ताको विषय बनेको छ ।
नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक इतिहासको मेरुदण्ड मानिन्छ । राणा शासनविरुद्धको संघर्षदेखि बहुदलीय प्रजातन्त्र स्थापना, पञ्चायतकालीन निरंकुशताविरुद्धको आन्दोलन, २०४६ सालको जनआन्दोलन र २०६२/६३ को ऐतिहासिक परिवर्तनसम्म कांग्रेसको भूमिका निर्णायक रहँदै आएको छ । लोकतन्त्र, नागरिक स्वतन्त्रता र संवैधानिक शासनका मूल्यलाई संस्थागत गर्न कांग्रेसले दिएको योगदान अस्वीकार गर्न सकिँदैन । त्यसैले यति ठूलो ऐतिहासिक जिम्मेवारी बोकेको दल स्वयं आन्तरिक विवाद, गुटगत राजनीति र नेतृत्वको शक्ति संघर्षमा फस्नु लोकतन्त्रकै लागि दुर्भाग्यपूर्ण संकेत हो ।
आज कांग्रेसभित्र देखिएको महाधिवेशनसम्बन्धी विवाद सतहमा हेर्दा विधि र विधानको व्याख्यासँग जोडिएको देखिए पनि यसको जरो गहिरो राजनीतिक अविश्वास र नेतृत्वप्रतिको असन्तुष्टिमा रहेको छ । विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने बहस वास्तवमा भावी नेतृत्व, शक्ति सन्तुलन र राजनीतिक नियन्त्रणको प्रतिस्पर्धाको प्रतिफल हो । लोकतान्त्रिक दलभित्र बहस र प्रतिस्पर्धा स्वाभाविक भए पनि जब यसले पार्टीको एकता कमजोर बनाउँछ, संगठनलाई निष्क्रिय बनाउँछ र जनविश्वास घटाउँछ, तब त्यो स्वस्थ लोकतान्त्रिक अभ्यास रहँदैन ।
चुनाव नजिकिँदै गर्दा कांग्रेसको प्राथमिकता संगठन सुदृढीकरण, कार्यकर्तामा उत्साह भर्ने र जनताका मुद्दामा स्पष्ट धारणा प्रस्तुत गर्ने हुनुपर्ने थियो । तर पार्टीभित्रको निरन्तर खिचातानीले कार्यकर्तालाई निराश बनाएको छ र मतदातामा अन्योल सिर्जना गरेको छ । यसको प्रत्यक्ष असर आगामी निर्वाचन परिणाममा मात्र होइन, लोकतान्त्रिक शक्तिहरूको समग्र विश्वसनीयतामाथि पनि पर्न सक्छ । जब मुख्य लोकतान्त्रिक दल कमजोर हुन्छ, तब लोकतन्त्रप्रति अविश्वास राख्ने प्रवृत्ति र शक्तिहरू सक्रिय हुने खतरा बढ्छ ।
लोकतन्त्र बलियो हुन राजनीतिक दलहरू आन्तरिक रूपमा पनि लोकतान्त्रिक, पारदर्शी र उत्तरदायी हुन आवश्यक छ । विधि, विधान र सहमतिका आधारमा निर्णय गर्ने संस्कार नै लोकतान्त्रिक दलको पहिचान हो । तर कांग्रेसभित्र देखिएको गुटगत स्वार्थ, व्यक्तिगत महत्वाकांक्षा र शक्ति केन्द्रीकरणको प्रवृत्तिले यही संस्कारलाई कमजोर बनाइरहेको छ । इतिहासले पटक–पटक प्रमाणित गरेको छ कि लोकतान्त्रिक दलहरू कमजोर हुँदा त्यसको मूल्य सम्पूर्ण देश र जनताले चुकाउनुपर्छ ।
यस सन्दर्भमा कांग्रेस नेतृत्वले गम्भीर आत्मसमीक्षा गर्नैपर्छ । व्यक्तिगत आकांक्षा र गुटगत लाभभन्दा माथि उठेर पार्टीको ऐतिहासिक जिम्मेवारी र लोकतन्त्रप्रतिको दायित्व सम्झनु आजको आवश्यकता हो । संवाद, सहमति र विधिको सम्मानमार्फत आन्तरिक विवाद समाधान गर्नु नै परिपक्व राजनीतिक नेतृत्वको परिचायक हुनेछ । कांग्रेसको एकता केवल पार्टीका लागि मात्र होइन, देशको राजनीतिक स्थायित्व र लोकतान्त्रिक भविष्यका लागि अनिवार्य छ ।
लोकतन्त्र कुनै एक दलको सम्पत्ति होइन, तर नेपाली कांग्रेसजस्तो ऐतिहासिक दल कमजोर हुँदा लोकतन्त्र कमजोर हुनु स्वाभाविक हुन्छ । त्यसैले आज देखिएको आन्तरिक संकटलाई हल्का रूपमा लिन मिल्दैन । समयमै सही निर्णय र जिम्मेवार नेतृत्व नआए, कांग्रेसको यो संकट भोलि राष्ट्रिय लोकतान्त्रिक संकटमा परिणत हुन सक्ने खतरा स्पष्ट देखिन्छ । इतिहासको जिम्मेवारी बोक्ने दलले इतिहासकै चेतावनी गम्भीरतापूर्वक सुन्नु अब अपरिहार्य भइसकेको छ ।
मिति २०८२ पुस २० गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।


























