विराटनगर । जाडो मौसम चरममा पुगिसक्दा पनि सिरक र डस्ना बनाउने काम ठप्पजस्तै भएपछि विराटनगरका धुनियाहरूको परम्परागत पेसा संकटमा परेको छ । अघिल्ला वर्षहरूमा मङ्सिरदेखि नै व्यस्त हुने धुनियाहरू यस वर्ष माघ लाग्दासमेत काम नपाएर चिन्तामा परेका हुन् ।
स्थानीय जनपथटोलमा अस्थायी बसोबास गर्दै आएका महमद इस्लाम विगत २३ वर्षदेखि धुनियाको काम गर्दै आएका छन् । यही पेसाबाट उनले पाँच जनाको परिवारको पालनपोषण गर्दै आएका थिए । गत वर्षदेखि सिरक–डसना बनाउन आउने ग्राहक घट्दै गएपछि अहिले बिहान–बेलुकाको छाक टार्नसमेत गाह्रो हुन थालेको उनी बताउछन् ।
चौवन्न वर्षीय इस्लामका अनुसार अन्य मौसममा खासै काम नहुने भए पनि जाडो सुरु भएसँगै दैनिक चार सयदेखि एक हजार ५०० रुपैयाँसम्म कमाइ हुने गरेको थियो । पहिलेपहिले एकै दिनमा आठ–दशवटा सिरक–डसना बनाउने गरेको अनुभव सुनाउँदै उनी भन्छन् , “बाबुबाजेको पालादेखि यही काम गर्दै आएको हुँ । तर यो वर्ष त पुस आधा बितिसक्दा पनि एउटा पनि माग आएन । यसरी त यो पेसाले अब खानै धान्न गाह्रो हुने देखियो ।”
इस्लामजस्तै पीडा विराटनगर–तीनटोलियाका रफिक सेखको पनि उस्तै छ । धुनियाको कामबाट परिवार पाल्दै आएका सेख यस वर्ष बजारको अवस्थाले वैकल्पिक पेसा खोज्न बाध्य भएको बताउछन् । बाबुको पेसागत बिँडो आफैले सम्हाले पनि नौवर्षे छोरालाई भने यही पेसामा नलगाउने निर्णय गरेको उनले बताए ।
“यो मसँगै काम गर्दै आएको थियो”, छेउमै खेलिरहेको छोरातर्फ देखाउँदै सेखले भने, “तर अब यसलाई धुनियाको काममा राख्दिन । यो काम मेरो हातमै आउन छाड्यो भने यसले के गर्छ ? त्यसैले अब अरु नै काम सिकाइदिन्छु, जसले सधै धेरथोर कमाइ गरिरहोस् ।”
जनपथटोलका महमद इस्लाम र तिनटोलियाका रफिक सेखमात्र होइन, जाडो महिना सुरु भइसक्दा पनि सिरक–डसनाको माग नदेखिएपछि विराटनगरका धुनियाहरू मात्र होइन, यससँग जोडिएका व्यापारी पनि चिन्तित बनेका छन् ।
विगतका वर्षहरूमा मंसिरको दोस्रो सातादेखि नै सिरक– डसना को कारोबार बढ्ने गरेको भए पनि यस वर्ष माघ लागिसक्दा पनि माग शून्यजस्तै रहेको व्यवसायी बताउछन् ।
बाटारोडस्थित जगदम्बा वस्त्रालयका व्यवसायी दुर्गादत्त अग्रवालका अनुसार पहिले जाडो सुरु हुनासाथ रेडिमेड सिरकसमेत ‘स्टक’ गरेर राखिन्थ्यो । तर अहिले ग्राहक देखाउनका लागि मात्र केही सिरक राख्नुपर्ने अवस्था आएको उनले बताए ।
“पहिले जाडोमा सय प्रतिशत कपास प्रयोग हुन्थ्यो”, अग्रवाल भन्छन् , “अहिले त्यसको तुलनामा १० प्रतिशत पनि प्रयोग हुदैन । गत वर्ष मंसिरको दोस्रो हप्तादेखि नै माग आउथ्यो, यसपालि त माघ लागिसक्यो, एउटा पनि माग आएको छैन ।”
उनका अनुसार विगतका वर्षहरूमा सिरक–डसना बनाउन नेपाली कपासको माग उच्च हुने गरेको थियो, तर यस वर्ष पुरानो मौज्दात कपाससमेत प्रयोग हुन नसकेको अवस्था छ ।
महावीररोडस्थित शिवम् इम्पोरियरका व्यवसायी विशाल शाहले पनि यस वर्ष सिरक–डसनाको माग शून्य बराबर रहेको बताए । “पहिले ग्राहक ‘अर्डर’ दिएर मात्र बनाउथे”, उनले भने, “अहिले त्यसको तुलनामा १० प्रतिशत पनि व्यापार छैन । केही वर्षअघिसम्म बजारमा सधै भीडभाड हुन्थ्यो ।”
शाहका अनुसार पछिल्लो समय धुनियाहरू घरघरमै पुगेर सिरक–डस्ना बनाइदिने भएकाले पनि पसलमा आउने माग घटेको छ । यधपि, पसलमा बनाइने सिरक–डसनामा प्रयोग हुने कपास प्रायः स्थानीय र गुणस्तरीय हुने भएकाले घरमै बनाइने भन्दा राम्रो हुने दाबी उनको छ ।
“हामी गार्मेन्टका कतरनलाई पेलेर बनाइएको फ्रेस कपास प्रयोग गर्छौ, त्यसैले हाम्रो सामानको गुणस्तर राम्रो हुन्छ”, शाहले भने । “सिरक– डसना कपडाजस्तो बर्सेनि फेर्ने सामान होइन । त्यसैले बनाउदा प्रयोग हुने कपासको गुणस्तरमा ग्राहकले ध्यान दिनुपर्छ ।”
उनका अनुसार एउटा सिरक बनाउन चारपाँच केजीसम्म कपास लाग्ने गर्छ भने ग्राहकको चाहनाअनुसार कम–बढी गरेर पनि बनाइन्छ । व्यापारीका अनुसार बजारमा एक जोर सिरकको मूल्य रु एक हजारदेखि आठ हजारसम्म पर्छ भने डसनाको मूल्य रु छ सयदेखि चारपाँच हजारसम्म पर्छ ।
माग घट्दै जाँदा धुनियाको परम्परागत पेसामात्र होइन, यससँग जोडिएको स्थानीय कपास, साना व्यवसाय र श्रमिकको जीविकोपार्जनमा समस्या भएको छ ।































