गत हप्ता सम्पन्न शांग्रीला संवादमा अमेरिकी रक्षा सचिव (युद्ध सचिव) पिट हेगसेथले इन्डो–प्यासिफिक (हिन्द–प्रशान्त) क्षेत्रका लागि एउटा यस्तो दृष्टिकोण व्यक्त गरे, जसले ट्रम्प प्रशासनको उदीयमान रणनीतिक ढाँचालाई प्रतिबिम्बित गर्दछ ।
यो ढाँचा ‘शक्तिका माध्यमबाट शान्ति’को मर्मअन्तर्गत कठोर यथार्थवाद, जिम्मेवारीको बाँडफाँट (बर्डन–सेयरिङ) र चीनसँगको निरन्तर प्रतिस्पर्धाको एउटा संयोजन हो । भाषणको अधिकांश हिस्साले क्षेत्रीय शक्ति सन्तुलनका बारेमा अमेरिकाको लामो समयदेखिको चिन्तालाई नै पुनरावृत्ति गरे तापनि व्यापारिक (ट्रान्जेक्सनल) साझेदारी र साझेदारहरूको जिम्मेवारीमाथि यसले दिएको जोडले अमेरिकी रक्षा नीतिको भावी दिशाबारे महत्वपूर्ण संकेतहरू प्रदान गरेको छ ।
चीनको मामिलामा बेइजिङको तीव्र सैन्य आधुनिकीकरण र फैलिँदो क्षेत्रीय उपस्थितिलाई लिएर वासिङ्टनमा बढ्दै गएको चिन्तालाई हेगसेथको भनाइले जोड दिएको छ । चीनको सैन्य वृद्धिलाई अभूतपूर्व स्तरको भन्दै उनले इन्डो–प्यासिफिक क्षेत्रमा अनुकूल शक्ति सन्तुलन कायम राख्ने अमेरिकी उद्देश्यलाई दोहोर्याए, जहाँ कुनै पनि एकल राज्यले क्षेत्रीय प्रभूत्व कायम गर्न नसकोस् । तर उल्लेखनीय कुरा के छ भने भाषणले रणनीतिक व्यावहारिकताको हदलाई पनि प्रतिबिम्बित गरेको छ । पहिलो टापु शृंखला (फर्स्ट आइल्याण्ड चेन) मा रोक्ने रणनीतिलाई पुनः पुष्टि गर्दै हेगसेथले हालैका दिनहरूमा अमेरिका–चीन सम्बन्धमा आएको सुधारलाई स्वीकार गरे र गलत बुझाइको जोखिम कम गर्नका लागि तय गरिएका संवाद संयन्त्रहरूको महत्वमाथि जोड दिए । यसको सन्देश प्रस्ट थियो, चीनसँगको प्रतिस्पर्धा नै अमेरिकी रणनीतिको मुख्य आधार रहनेछ तर यसको अर्थ वार्ता वा संकट व्यवस्थापनका ढोकाहरू बन्द हुनेछन् भन्ने होइन ।
भारतको भूमिका
यस भाषणको सायद सबैभन्दा परिणाममुखी पाटो भनेको भारतप्रतिको दृष्टिकोण थियो । हेगसेथले भारतलाई दक्षिण एसियामा रणनीतिक सन्तुलन कायम राख्नका लागि एउटा मुख्य आधारको रूपमा वर्णन गरे र नयाँदिल्लीको उदयलाई क्षेत्रीय स्थिरताका लागि सकारात्मक विकासको रूपमा प्रस्तुत गरे । भारतको सैन्य आधुनिकीकरण, फैलिँदो औद्योगिक आधार र हिन्द महासागरमा बढ्दो लजिस्टिक (बन्दोबस्ती) क्षमतालाई उजागर गर्दै वासिङ्टनले द्विपक्षीय सम्बन्धलाई राजनीतिक प्रतीकात्मकताभन्दा माथि उठाएर अझ बढी परिचालन सान्दर्भिकता (अपरेसनल रेलिभेन्स) तर्फ लैजाने आफ्नो चाहनाको संकेत दिएको छ । रक्षा सहउत्पादन, औद्योगिक सहकार्य र ‘टाइगर ट्रायम्फ’ जस्ता संयुक्त अभ्यासहरूको सन्दर्भले के देखाउँछ भने संयुक्त राज्य अमेरिकाले भारतलाई केवल एक कूटनीतिक साझेदारको रूपमा मात्र नभई क्षेत्रीय सुरक्षामा योगदान पुर्याउने एक महत्वपूर्ण हिस्सेदारको रूपमा हेर्न थालेको छ ।
भाषणले इन्डो–प्यासिफिक क्षेत्र अमेरिकी रणनीतिक सोचको केन्द्रमै रहेको कुरालाई पुनः पुष्टि गरेको छ । हेगसेथले संयुक्त राज्य अमेरिका यस क्षेत्रमा स्थायी हित भएको एक प्रशान्त शक्ति (प्यासिफिक पावर) भएको कुरा बारम्बार दोहोर्याए । तैपनि यो प्रतिबद्धतासँगै मित्रराष्ट्र र साझेदारहरूले जिम्मेवारीको ठुलो हिस्सा आफैँले व्यहोर्नुपर्ने प्रस्ट अपेक्षा पनि जोडिएर आयो । ‘हामीलाई साझेदार चाहिन्छ, संरक्षित राज्य (प्रोटेक्टोरेट) होइन’ भन्ने बारम्बार दोहोरिएको विषयवस्तुले गठबन्धन व्यवस्थापनमा स्पष्ट रूपमा ट्रम्पवादी दृष्टिकोण झल्काउँछ । यस अवधारणामा सुरक्षा साझेदारीहरू बिना शर्त वा खुला प्रतिबद्धता हुनुको साटो पारस्परिक (रेसिप्रोकल) हुने अपेक्षा गरिन्छ । आफ्नै रक्षाका लागि बढी लगानी गर्ने र सामूहिक सुरक्षामा अर्थपूर्ण योगदान दिने देशहरूले अमेरिकी सैन्य प्रविधि, गुप्तचर सूचनाको आदानप्रदान र रक्षा सहकार्यमा बढी पहुँचको अपेक्षा गर्न सक्छन् ।
थप सैन्य शक्ति
भाषणले सैन्य क्षमता बिनाका केवल घोषणात्मक नीतिहरूप्रति असन्तुष्टि पनि व्यक्त गरेको छ । हेगसेथले थप जहाजहरू, थप पनडुब्बीहरू र थप लडाकु शक्तिका लागि गरेको आह्वानले सैन्य तत्परतालाई नै रोक्ने रणनीति (डिटरेन्स) को जगका रूपमा बुझ्ने व्यापक परिवर्तनलाई रेखांकित गरेको छ । वाक्पटुता वा भाषणबाजीभन्दा क्षमतामाथि दिइएको जोड आगामी राष्ट्रिय रक्षा रणनीति (नेसनल डिफेन्स स्ट्राटेजी) लाई आकार दिने रणनीतिक प्राथमिकताहरूसँग निकट रूपमा मिल्दोजुल्दो छ ।
समग्रमा यी विषयवस्तुहरूले अमेरिकी रक्षा नीतिमा देखा पर्दै गरेका केही उदीयमान प्रवृत्तिहरूलाई संकेत गर्छन् ।
नीतिमा ३ वटा परिवर्तनहरू
पहिलो, गठबन्धन सम्बन्धहरू बढ्दो रूपमा ससर्त र कार्यसम्पादनमा आधारित बन्दै गएका छन् । जापान, दक्षिण कोरिया र अष्ट्रेलिया जस्ता देशहरूले रक्षा खर्च बढाउनुपर्ने अपेक्षाले तीव्र बन्दै गएको महाशक्ति प्रतिस्पर्धाको युगमा परम्परागत सुरक्षा व्यवस्थाहरूको दिगोपनप्रति वासिङ्टनमा बढ्दै गएको चिन्तालाई झल्काउँछ ।
दोस्रो, चीन अमेरिकी सेनाका लागि गति निर्धारण गर्ने चुनौती (पेसिङ च्यालेन्ज) का रूपमा कायमै छ तर अमेरिकी रणनीति अनावश्यक तनाव बढ्न नदिने गरी बढ्दो रूपमा सन्तुलित देखिन्छ । बलियो रोक्ने उपायहरू र छनोटपूर्ण कूटनीतिक संलग्नताको संयोजनले प्रतिस्पर्धालाई प्रत्यक्ष द्वन्द्वमा परिणत हुन नदिई व्यवस्थापन गर्ने प्रयासलाई संकेत गर्छ । यस अर्थमा प्रशासनले रणनीतिक दृढता र व्यावहारिक लचकता (ट्रयाक्टिकल फ्लेक्सिबिलिटी) को रणनीति पछ्याइरहेको देखिन्छ ।
तेस्रो, हेगसेथको भनाइले क्वाड, औकस र विभिन्न द्विपक्षीय साझेदारीहरू जस्ता सञ्जालीकृत सुरक्षा संरचनाहरूको महत्वलाई थप बल पुर्याएको छ । अमेरिकी शक्तिको विकल्पका रूपमा काम गर्नुको साटो यी व्यवस्थाहरू यसको प्रभावकारिता बढाउन र यसको दिगोपनलाई सुदृढ गर्नका लागि लक्षित छन् । यसरी एकीकृत प्रतिरोध (इन्टिग्रेटेड डिटरेन्स) क्षेत्रीय साझेदारहरूको क्षमता र योगदानमा बढ्दो रूपमा निर्भर हुँदै गएको छ ।
भारतका लागि यसको निहितार्थ विशेष रूपमा महत्वपूर्ण छ । ‘ट्रम्प २.०’का धेरै कम भनाइहरूले भारतलाई चीन विरुद्धको क्षेत्रीय सन्तुलनको मुख्य स्तम्भका रूपमा यति स्पष्ट रूपमा प्रस्तुत गरेका छन् । हिन्द महासागरमा भारतको भूमिका र यसको बढ्दो लजिस्टिक एवं औद्योगिक क्षमतामाथि दिइएको जोडले के देखाउँछ भने वासिङ्टनले नयाँदिल्लीलाई इन्डो–प्यासिफिक स्थिरताका लागि एक अपरिहार्य योगदानकर्ताको रूपमा हेर्छ । महत्वपूर्ण कुरा के छ भने विकासोन्मुख साझेदारी भारतको रणनीतिक स्वायत्तताको चाहनासँग अनुकूल छ, जसले गर्दा भारतलाई औपचारिक सैन्य गठबन्धनको ढाँचामा बाँधिनु बिना नै संयुक्त राज्य अमेरिकासँग सहकार्य गहिरो बनाउन सहज हुन्छ ।
साझा जिम्मेवारी
भाषणले क्षेत्रीय प्रधानता (क्षेत्रीय वर्चस्व) लाई कायम राख्नका लागि थप जिम्मेवारी बाँडफाँट र स्रोतहरूको बढी कुशल बाँडफाँड आवश्यक पर्ने अमेरिकी स्वीकारोक्तिलाई प्रतिबिम्बित गर्दछ । वासिङ्टनका लागि चुनौती भनेको व्यापारिक दृष्टिकोणले गठबन्धनको एकतालाई कमजोर बनाउनुको साटो बलियो बनाओस् भन्ने सुनिश्चित गर्नु हुनेछ । यदि साझेदारहरूले आफ्ना क्षमताहरू विस्तार गरेर र थप जिम्मेवारीहरू लिएर सकारात्मक प्रतिक्रिया जनाए भने रोक्ने रणनीति थप सुदृढ हुन सक्छ । यदि त्यसो भएन भने अपेक्षाहरू र प्रतिबद्धताहरूलाई लिएर तनाव उत्पन्न हुन सक्छ ।
बेइजिङका लागि पनि यो सन्देश उत्तिकै सन्तुलित थियो । रोक्ने रणनीतिको पुनरावृत्ति र सैन्य विस्तारप्रतिको चिन्ताले अमेरिकी संकल्पलाई निरन्तरता दिएको छ भने सम्बन्ध सुधारमा जोड र शासन–परिवर्तनको महत्वाकांक्षालाई अस्वीकार गर्नुले सम्भव भएसम्म सहकार्यका च्यानलहरू खुला राख्ने इच्छालाई संकेत गरेको छ । अर्को शब्दमा प्रतिस्पर्धा नै यस सम्बन्धको परिभाषित विशेषता रहनेछ तर आवश्यक रूपमा प्रत्यक्ष मुठभेड नै होइन ।
अन्ततः हेगसेथको सम्बोधनले इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिको थप कठोर र कम वैचारिक दृष्टिकोणको रूपरेखा प्रस्तुत गरेको छ । यसका उद्देश्यहरू अघिल्ला प्रशासनहरूसँग धेरै हदसम्म मिल्दाजुल्दा छन्, चिनियाँ प्रभूत्वलाई रोक्नु, अनुकूल शक्ति सन्तुलन कायम राख्नु र यस क्षेत्रमा अमेरिकी प्रभावलाई कायम राख्नु । यस दृष्टिकोणलाई फरक बनाउने तत्व भनेको यसले पारस्परिकता, जिम्मेवारीको बाँडफाँट र मापनयोग्य परिणामहरूमा दिएको जोड हो । यो उद्देश्यका हिसाबले रणनीतिक निरन्तरता हो तर साधनका हिसाबले स्पष्ट रूपमा ट्रम्पवादी प्रस्थान हो ।
तथापि यो दृष्टिकोणका केही सम्भावित सीमाहरू पनि छन् । व्यापारिक लेनदेनमा अत्यधिक जोड दिँदा गठबन्धन राजनीतिको कम मूर्त तर उत्तिकै महत्वपूर्ण जगहरू जस्तैः रणनीतिक आश्वस्तता, दीर्घकालीन विश्वसनीयता र परम्परागत रूपमा अमेरिकी नेतृत्वलाई बल पुर्याउँदै आएको आदर्शात्मक प्रभावको अवमूल्यन हुने जोखिम रहन्छ । जिम्मेवारीको बाँडफाँट एक वैध उद्देश्य भए तापनि सफल गठबन्धनहरू अन्ततः केवल क्षमतामा मात्र नभई दिगो प्रतिबद्धताहरूमाथिको विश्वासमा पनि निर्भर हुन्छन् ।
एउटा मसिनो रेखा
यस रणनीतिको प्रभावकारिता यसको कार्यान्वयनमा निर्भर हुनेछ । वासिङ्टनले आफ्नो रक्षा–औद्योगिक आधारलाई पुनरुत्थान गर्न, इन्डो–प्यासिफिक क्षेत्रमा विश्वसनीय सैन्य उपस्थिति कायम राख्न र अपेक्षाहरूलाई यथार्थभन्दा अगाडि बढ्न नदिई भारतसँग रणनीतिक सहकार्यलाई गहिरो बनाउन सक्छ भन्ने कुरा प्रमाणित गर्नुपर्नेछ । थप प्रतिस्पर्धात्मक रणनीतिक वातावरणमा यदि क्षेत्रीय साझेदारहरूले आफ्नै सुरक्षामा बढी स्रोतहरू लगानी गरेर र क्षेत्रीय शक्ति सन्तुलनमा बढी सक्रिय रूपमा योगदान दिएर प्रतिक्रिया जनाए भने यस दृष्टिकोणले रोक्ने रणनीतिलाई बलियो बनाउन सक्छ । तर यदि मित्रराष्ट्रहरू यी अपेक्षाहरू पूरा गर्न अनिच्छुक वा असमर्थ साबित भएमा वा बेइजिङले अमेरिकी थकानका संकेतहरूलाई घट्दै गएको संकल्पको प्रमाणका रूपमा व्याख्या गरेमा रणनीतिले यसको अभिप्रेत उद्देश्यविपरीत परिणामहरू ल्याउन सक्छ । यसको जोखिम के छ भने अनुकूल शक्ति सन्तुलन कायम राख्नका लागि गरिएका प्रयासहरूले अन्जानमै चिनियाँ प्रभाव र आक्रामकताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सक्छन् ।

हेगसेथको भाषणले एकआपसमा बाझिएका आवश्यकताहरूलाई सन्तुलनमा राख्न खोजिरहेको एउटा प्रशासनलाई प्रतिबिम्बित गर्दछ, अत्यधिक विस्तारबाट जोगिँदै चीनसँग रणनीतिक प्रतिस्पर्धा कायम राख्नु, र ती साझेदारीहरूको जग रहेको विश्वासलाई कमजोर नबनाई साझेदारहरूबाट थप योगदानको माग गर्नु । यो सन्तुलन कायम राख्न सकिन्छ कि सकिँदैन भन्ने कुरा अझै अनुत्तरित नै छ । यो चुनौती निकै कठिन छ र इतिहासले के देखाउँछ भने गठबन्धनको एकतालाई जोगाउँदै महाशक्ति प्रतिस्पर्धाको व्यवस्थापन गर्नु कहिल्यै पनि सजिलो काम भएको छैन । (लेखक पन्त नयाँदिल्लीस्थित अब्जर्भर रिसर्च फाउन्डेसनका स्टडीज विभागका उपाध्यक्ष हुन् ।) एनडीटीभीबाट भावानुवाद
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।































