चीनसँग ‘डिल’ गर्ने अमेरिकाको नयाँ योजना

गत हप्ता सम्पन्न शांग्रीला संवादमा अमेरिकी रक्षा सचिव (युद्ध सचिव) पिट हेगसेथले इन्डो–प्यासिफिक (हिन्द–प्रशान्त) क्षेत्रका लागि एउटा यस्तो दृष्टिकोण व्यक्त गरे, जसले ट्रम्प प्रशासनको उदीयमान रणनीतिक ढाँचालाई प्रतिबिम्बित गर्दछ ।

यो ढाँचा ‘शक्तिका माध्यमबाट शान्ति’को मर्मअन्तर्गत कठोर यथार्थवाद, जिम्मेवारीको बाँडफाँट (बर्डन–सेयरिङ) र चीनसँगको निरन्तर प्रतिस्पर्धाको एउटा संयोजन हो । भाषणको अधिकांश हिस्साले क्षेत्रीय शक्ति सन्तुलनका बारेमा अमेरिकाको लामो समयदेखिको चिन्तालाई नै पुनरावृत्ति गरे तापनि व्यापारिक (ट्रान्जेक्सनल) साझेदारी र साझेदारहरूको जिम्मेवारीमाथि यसले दिएको जोडले अमेरिकी रक्षा नीतिको भावी दिशाबारे महत्वपूर्ण संकेतहरू प्रदान गरेको छ ।

चीनको मामिलामा बेइजिङको तीव्र सैन्य आधुनिकीकरण र फैलिँदो क्षेत्रीय उपस्थितिलाई लिएर वासिङ्टनमा बढ्दै गएको चिन्तालाई हेगसेथको भनाइले जोड दिएको छ । चीनको सैन्य वृद्धिलाई अभूतपूर्व स्तरको भन्दै उनले इन्डो–प्यासिफिक क्षेत्रमा अनुकूल शक्ति सन्तुलन कायम राख्ने अमेरिकी उद्देश्यलाई दोहोर्‍याए, जहाँ कुनै पनि एकल राज्यले क्षेत्रीय प्रभूत्व कायम गर्न नसकोस् । तर उल्लेखनीय कुरा के छ भने भाषणले रणनीतिक व्यावहारिकताको हदलाई पनि प्रतिबिम्बित गरेको छ । पहिलो टापु शृंखला (फर्स्ट आइल्याण्ड चेन) मा रोक्ने रणनीतिलाई पुनः पुष्टि गर्दै हेगसेथले हालैका दिनहरूमा अमेरिका–चीन सम्बन्धमा आएको सुधारलाई स्वीकार गरे र गलत बुझाइको जोखिम कम गर्नका लागि तय गरिएका संवाद संयन्त्रहरूको महत्वमाथि जोड दिए । यसको सन्देश प्रस्ट थियो, चीनसँगको प्रतिस्पर्धा नै अमेरिकी रणनीतिको मुख्य आधार रहनेछ तर यसको अर्थ वार्ता वा संकट व्यवस्थापनका ढोकाहरू बन्द हुनेछन् भन्ने होइन ।

भारतको भूमिका

यस भाषणको सायद सबैभन्दा परिणाममुखी पाटो भनेको भारतप्रतिको दृष्टिकोण थियो । हेगसेथले भारतलाई दक्षिण एसियामा रणनीतिक सन्तुलन कायम राख्नका लागि एउटा मुख्य आधारको रूपमा वर्णन गरे र नयाँदिल्लीको उदयलाई क्षेत्रीय स्थिरताका लागि सकारात्मक विकासको रूपमा प्रस्तुत गरे । भारतको सैन्य आधुनिकीकरण, फैलिँदो औद्योगिक आधार र हिन्द महासागरमा बढ्दो लजिस्टिक (बन्दोबस्ती) क्षमतालाई उजागर गर्दै वासिङ्टनले द्विपक्षीय सम्बन्धलाई राजनीतिक प्रतीकात्मकताभन्दा माथि उठाएर अझ बढी परिचालन सान्दर्भिकता (अपरेसनल रेलिभेन्स) तर्फ लैजाने आफ्नो चाहनाको संकेत दिएको छ । रक्षा सहउत्पादन, औद्योगिक सहकार्य र ‘टाइगर ट्रायम्फ’ जस्ता संयुक्त अभ्यासहरूको सन्दर्भले के देखाउँछ भने संयुक्त राज्य अमेरिकाले भारतलाई केवल एक कूटनीतिक साझेदारको रूपमा मात्र नभई क्षेत्रीय सुरक्षामा योगदान पुर्‍याउने एक महत्वपूर्ण हिस्सेदारको रूपमा हेर्न थालेको छ ।

भाषणले इन्डो–प्यासिफिक क्षेत्र अमेरिकी रणनीतिक सोचको केन्द्रमै रहेको कुरालाई पुनः पुष्टि गरेको छ । हेगसेथले संयुक्त राज्य अमेरिका यस क्षेत्रमा स्थायी हित भएको एक प्रशान्त शक्ति (प्यासिफिक पावर) भएको कुरा बारम्बार दोहोर्‍याए । तैपनि यो प्रतिबद्धतासँगै मित्रराष्ट्र र साझेदारहरूले जिम्मेवारीको ठुलो हिस्सा आफैँले व्यहोर्नुपर्ने प्रस्ट अपेक्षा पनि जोडिएर आयो । ‘हामीलाई साझेदार चाहिन्छ, संरक्षित राज्य (प्रोटेक्टोरेट) होइन’ भन्ने बारम्बार दोहोरिएको विषयवस्तुले गठबन्धन व्यवस्थापनमा स्पष्ट रूपमा ट्रम्पवादी दृष्टिकोण झल्काउँछ । यस अवधारणामा सुरक्षा साझेदारीहरू बिना शर्त वा खुला प्रतिबद्धता हुनुको साटो पारस्परिक (रेसिप्रोकल) हुने अपेक्षा गरिन्छ । आफ्नै रक्षाका लागि बढी लगानी गर्ने र सामूहिक सुरक्षामा अर्थपूर्ण योगदान दिने देशहरूले अमेरिकी सैन्य प्रविधि, गुप्तचर सूचनाको आदानप्रदान र रक्षा सहकार्यमा बढी पहुँचको अपेक्षा गर्न सक्छन् ।

थप सैन्य शक्ति

भाषणले सैन्य क्षमता बिनाका केवल घोषणात्मक नीतिहरूप्रति असन्तुष्टि पनि व्यक्त गरेको छ । हेगसेथले थप जहाजहरू, थप पनडुब्बीहरू र थप लडाकु शक्तिका लागि गरेको आह्वानले सैन्य तत्परतालाई नै रोक्ने रणनीति (डिटरेन्स) को जगका रूपमा बुझ्ने व्यापक परिवर्तनलाई रेखांकित गरेको छ । वाक्पटुता वा भाषणबाजीभन्दा क्षमतामाथि दिइएको जोड आगामी राष्ट्रिय रक्षा रणनीति (नेसनल डिफेन्स स्ट्राटेजी) लाई आकार दिने रणनीतिक प्राथमिकताहरूसँग निकट रूपमा मिल्दोजुल्दो छ ।
समग्रमा यी विषयवस्तुहरूले अमेरिकी रक्षा नीतिमा देखा पर्दै गरेका केही उदीयमान प्रवृत्तिहरूलाई संकेत गर्छन् ।

नीतिमा ३ वटा परिवर्तनहरू

पहिलो, गठबन्धन सम्बन्धहरू बढ्दो रूपमा ससर्त र कार्यसम्पादनमा आधारित बन्दै गएका छन् । जापान, दक्षिण कोरिया र अष्ट्रेलिया जस्ता देशहरूले रक्षा खर्च बढाउनुपर्ने अपेक्षाले तीव्र बन्दै गएको महाशक्ति प्रतिस्पर्धाको युगमा परम्परागत सुरक्षा व्यवस्थाहरूको दिगोपनप्रति वासिङ्टनमा बढ्दै गएको चिन्तालाई झल्काउँछ ।

दोस्रो, चीन अमेरिकी सेनाका लागि गति निर्धारण गर्ने चुनौती (पेसिङ च्यालेन्ज) का रूपमा कायमै छ तर अमेरिकी रणनीति अनावश्यक तनाव बढ्न नदिने गरी बढ्दो रूपमा सन्तुलित देखिन्छ । बलियो रोक्ने उपायहरू र छनोटपूर्ण कूटनीतिक संलग्नताको संयोजनले प्रतिस्पर्धालाई प्रत्यक्ष द्वन्द्वमा परिणत हुन नदिई व्यवस्थापन गर्ने प्रयासलाई संकेत गर्छ । यस अर्थमा प्रशासनले रणनीतिक दृढता र व्यावहारिक लचकता (ट्रयाक्टिकल फ्लेक्सिबिलिटी) को रणनीति पछ्याइरहेको देखिन्छ ।

तेस्रो, हेगसेथको भनाइले क्वाड, औकस र विभिन्न द्विपक्षीय साझेदारीहरू जस्ता सञ्जालीकृत सुरक्षा संरचनाहरूको महत्वलाई थप बल पुर्‍याएको छ । अमेरिकी शक्तिको विकल्पका रूपमा काम गर्नुको साटो यी व्यवस्थाहरू यसको प्रभावकारिता बढाउन र यसको दिगोपनलाई सुदृढ गर्नका लागि लक्षित छन् । यसरी एकीकृत प्रतिरोध (इन्टिग्रेटेड डिटरेन्स) क्षेत्रीय साझेदारहरूको क्षमता र योगदानमा बढ्दो रूपमा निर्भर हुँदै गएको छ ।

भारतका लागि यसको निहितार्थ विशेष रूपमा महत्वपूर्ण छ । ‘ट्रम्प २.०’का धेरै कम भनाइहरूले भारतलाई चीन विरुद्धको क्षेत्रीय सन्तुलनको मुख्य स्तम्भका रूपमा यति स्पष्ट रूपमा प्रस्तुत गरेका छन् । हिन्द महासागरमा भारतको भूमिका र यसको बढ्दो लजिस्टिक एवं औद्योगिक क्षमतामाथि दिइएको जोडले के देखाउँछ भने वासिङ्टनले नयाँदिल्लीलाई इन्डो–प्यासिफिक स्थिरताका लागि एक अपरिहार्य योगदानकर्ताको रूपमा हेर्छ । महत्वपूर्ण कुरा के छ भने विकासोन्मुख साझेदारी भारतको रणनीतिक स्वायत्तताको चाहनासँग अनुकूल छ, जसले गर्दा भारतलाई औपचारिक सैन्य गठबन्धनको ढाँचामा बाँधिनु बिना नै संयुक्त राज्य अमेरिकासँग सहकार्य गहिरो बनाउन सहज हुन्छ ।

साझा जिम्मेवारी

भाषणले क्षेत्रीय प्रधानता (क्षेत्रीय वर्चस्व) लाई कायम राख्नका लागि थप जिम्मेवारी बाँडफाँट र स्रोतहरूको बढी कुशल बाँडफाँड आवश्यक पर्ने अमेरिकी स्वीकारोक्तिलाई प्रतिबिम्बित गर्दछ । वासिङ्टनका लागि चुनौती भनेको व्यापारिक दृष्टिकोणले गठबन्धनको एकतालाई कमजोर बनाउनुको साटो बलियो बनाओस् भन्ने सुनिश्चित गर्नु हुनेछ । यदि साझेदारहरूले आफ्ना क्षमताहरू विस्तार गरेर र थप जिम्मेवारीहरू लिएर सकारात्मक प्रतिक्रिया जनाए भने रोक्ने रणनीति थप सुदृढ हुन सक्छ । यदि त्यसो भएन भने अपेक्षाहरू र प्रतिबद्धताहरूलाई लिएर तनाव उत्पन्न हुन सक्छ ।

बेइजिङका लागि पनि यो सन्देश उत्तिकै सन्तुलित थियो । रोक्ने रणनीतिको पुनरावृत्ति र सैन्य विस्तारप्रतिको चिन्ताले अमेरिकी संकल्पलाई निरन्तरता दिएको छ भने सम्बन्ध सुधारमा जोड र शासन–परिवर्तनको महत्वाकांक्षालाई अस्वीकार गर्नुले सम्भव भएसम्म सहकार्यका च्यानलहरू खुला राख्ने इच्छालाई संकेत गरेको छ । अर्को शब्दमा प्रतिस्पर्धा नै यस सम्बन्धको परिभाषित विशेषता रहनेछ तर आवश्यक रूपमा प्रत्यक्ष मुठभेड नै होइन ।

अन्ततः हेगसेथको सम्बोधनले इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिको थप कठोर र कम वैचारिक दृष्टिकोणको रूपरेखा प्रस्तुत गरेको छ । यसका उद्देश्यहरू अघिल्ला प्रशासनहरूसँग धेरै हदसम्म मिल्दाजुल्दा छन्, चिनियाँ प्रभूत्वलाई रोक्नु, अनुकूल शक्ति सन्तुलन कायम राख्नु र यस क्षेत्रमा अमेरिकी प्रभावलाई कायम राख्नु । यस दृष्टिकोणलाई फरक बनाउने तत्व भनेको यसले पारस्परिकता, जिम्मेवारीको बाँडफाँट र मापनयोग्य परिणामहरूमा दिएको जोड हो । यो उद्देश्यका हिसाबले रणनीतिक निरन्तरता हो तर साधनका हिसाबले स्पष्ट रूपमा ट्रम्पवादी प्रस्थान हो ।
तथापि यो दृष्टिकोणका केही सम्भावित सीमाहरू पनि छन् । व्यापारिक लेनदेनमा अत्यधिक जोड दिँदा गठबन्धन राजनीतिको कम मूर्त तर उत्तिकै महत्वपूर्ण जगहरू जस्तैः रणनीतिक आश्वस्तता, दीर्घकालीन विश्वसनीयता र परम्परागत रूपमा अमेरिकी नेतृत्वलाई बल पुर्‍याउँदै आएको आदर्शात्मक प्रभावको अवमूल्यन हुने जोखिम रहन्छ । जिम्मेवारीको बाँडफाँट एक वैध उद्देश्य भए तापनि सफल गठबन्धनहरू अन्ततः केवल क्षमतामा मात्र नभई दिगो प्रतिबद्धताहरूमाथिको विश्वासमा पनि निर्भर हुन्छन् ।

एउटा मसिनो रेखा

यस रणनीतिको प्रभावकारिता यसको कार्यान्वयनमा निर्भर हुनेछ । वासिङ्टनले आफ्नो रक्षा–औद्योगिक आधारलाई पुनरुत्थान गर्न, इन्डो–प्यासिफिक क्षेत्रमा विश्वसनीय सैन्य उपस्थिति कायम राख्न र अपेक्षाहरूलाई यथार्थभन्दा अगाडि बढ्न नदिई भारतसँग रणनीतिक सहकार्यलाई गहिरो बनाउन सक्छ भन्ने कुरा प्रमाणित गर्नुपर्नेछ । थप प्रतिस्पर्धात्मक रणनीतिक वातावरणमा यदि क्षेत्रीय साझेदारहरूले आफ्नै सुरक्षामा बढी स्रोतहरू लगानी गरेर र क्षेत्रीय शक्ति सन्तुलनमा बढी सक्रिय रूपमा योगदान दिएर प्रतिक्रिया जनाए भने यस दृष्टिकोणले रोक्ने रणनीतिलाई बलियो बनाउन सक्छ । तर यदि मित्रराष्ट्रहरू यी अपेक्षाहरू पूरा गर्न अनिच्छुक वा असमर्थ साबित भएमा वा बेइजिङले अमेरिकी थकानका संकेतहरूलाई घट्दै गएको संकल्पको प्रमाणका रूपमा व्याख्या गरेमा रणनीतिले यसको अभिप्रेत उद्देश्यविपरीत परिणामहरू ल्याउन सक्छ । यसको जोखिम के छ भने अनुकूल शक्ति सन्तुलन कायम राख्नका लागि गरिएका प्रयासहरूले अन्जानमै चिनियाँ प्रभाव र आक्रामकताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सक्छन् ।

हेगसेथको भाषणले एकआपसमा बाझिएका आवश्यकताहरूलाई सन्तुलनमा राख्न खोजिरहेको एउटा प्रशासनलाई प्रतिबिम्बित गर्दछ, अत्यधिक विस्तारबाट जोगिँदै चीनसँग रणनीतिक प्रतिस्पर्धा कायम राख्नु, र ती साझेदारीहरूको जग रहेको विश्वासलाई कमजोर नबनाई साझेदारहरूबाट थप योगदानको माग गर्नु । यो सन्तुलन कायम राख्न सकिन्छ कि सकिँदैन भन्ने कुरा अझै अनुत्तरित नै छ । यो चुनौती निकै कठिन छ र इतिहासले के देखाउँछ भने गठबन्धनको एकतालाई जोगाउँदै महाशक्ति प्रतिस्पर्धाको व्यवस्थापन गर्नु कहिल्यै पनि सजिलो काम भएको छैन । (लेखक पन्त नयाँदिल्लीस्थित अब्जर्भर रिसर्च फाउन्डेसनका स्टडीज विभागका उपाध्यक्ष हुन् ।) एनडीटीभीबाट भावानुवाद

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।