विदेशबाट फर्केपछि स्वदेशमै उद्यम गरेर स्वरोजगार

वैदेशिक रोजगारीका नाममा दैनिक हजारौँको संख्यामा नेपाली युवाहरू खाडी मुलुक र मलेसिया पलायन भइरहेको वर्तमान अवस्थामा स्वदेशमै उद्यमशीलताको एउटा बलियो र अनुकरणीय उदाहरण गुल्मीमा देखिएको छ ।

गुल्मीको इस्मा गाउँपालिका–३ का युवा गोकर्ण नेपालीले ७ वर्षअघि दुबईको रोजगारी छाडेर आफ्नै जन्मभूमि फर्की सुरु गरेको कृषि कर्मले नेपाली युवा समाजलाई एउटा सकारात्मक सन्देश दिएको छ ।
मेहनती र लगनशील भएर काम गर्दा खाडी मुलुकको तातो बालुवामा पसिना बगाउनु पर्दैन, बरु नेपालकै झाडी र माटोमा सुन फलाउन सकिन्छ भन्ने तथ्यलाई उनले व्यवहारतः प्रमाणित गरेका छन् । उनको व्यावसायिक यात्राले स्वदेशमै उद्यम गर्दा कसरी स्वरोजगार र आत्मनिर्भर बन्न सकिन्छ भन्ने मार्गचित्र प्रस्तुत गरेको छ ।

गोकर्ण नेपालीले विक्रम सवत् २०७६ सालमा ८० हजार रुपैयाँको न्यून लगानीबाट ‘ग्यालेक्सी कृषि तथा पशुपक्षी फर्म’ दर्ता गरी घाँस खेतीबाट आफ्नो व्यवसाय सुरु गरेका थिए । अहिले फर्मको भौतिक संरचनामा ६० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । कफी खेतीतर्फ कृषकहरूको आकर्षण घट्दै गइरहेको अवस्थामा यसको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ उनले कफीको नर्सरी स्थापना गरे । यस वर्षको असार पहिलो हप्तासम्म मात्र उनले आफ्नो नर्सरीबाट ६५ हजार कफीका बिरुवा बिक्री गरेर २२ लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गरिसकेका छन् । अरेबिका र कटौरा जातका कफीका बिरुवाहरू लमजुङ, सुर्खेत, कास्की, नुवाकोट, बागलुङ र पाल्पा जस्ता विभिन्न जिल्लाहरूमा ४ ट्रकभन्दा बढी निर्यात भइसकेका छन् ।

कृषि ज्ञान केन्द्र, सहकारी र कृषक समूहहरू उनको फर्ममै पुगेर बिरुवा खरिद गर्ने गरेका छन् । कफीका अतिरिक्त १० रोपनीमा कफी नर्सरी र १२० रोपनी क्षेत्रफलमा ९५ प्रजातिका उन्नत घाँसको व्यावसायिक खेती गरेर उनले कृषि क्षेत्रमा विविधीकरणको उत्कृष्ट नमूना प्रस्तुत गरेका छन् । आगामी वर्ष २ लाख ५० हजार कफीका बिरुवा उत्पादन गर्ने र २५ ट्रकभन्दा बढी बिरुवा जिल्ला बाहिर पठाउने उनको लक्ष्यले ग्रामीण अर्थतन्त्रमा उद्यमशीलता सन्देश दिन्छ । उनको व्यवसायले स्थानीय स्तरमा २० जनाभन्दा बढी नागरिकलाई रोजगारी समेत प्रदान गरेको छ ।

स्वदेशमै सम्भावना बोकेका र सफल भइसकेका उद्यमीले पनि अझै केही चुनौतीको सामना गरिरहेका छन् । व्यवसायी नेपालीलाई ग्रामीण क्षेत्रमा कृषि सडक र सिँचाइको अभाव नै मुख्य तगारो बनेको छ । उत्पादित बिरुवाहरूलाई ट्रकमा लोड गर्नका लागि टाढासम्म बोकेर लैजानुपर्ने बाध्यात्मक अवस्था छ । नेपालका दुर्गम गाउँहरूमा गोकर्णजस्ता हजारौँ जाँगरिला र दूरदर्शी किसानहरू छन् । तर राज्यका तर्फबाट आवश्यक भौतिक पूर्वाधार (सडक, सिँचाइ, शीतभण्डार र बजार) को अभावका कारण चाहेर पनि व्यवसायलाई थप विस्तार गर्न सकिएको छैन ।

लुम्बिनी प्रदेश सरकार, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल, इस्मा गाउँपालिका र डिभिजन वन कार्यालय जस्ता सरकारी निकायहरूले उनलाई प्रोत्साहन र सहयोग गर्नु सकारात्मक पक्ष हो । तर सहयोग औपचारिकता र साना अनुदानमा मात्र सीमित हुनु हुँदैन । सरकारले व्यावसायिक कृषि फर्महरू रहेका क्षेत्रमा प्राथमिकताका साथ सडक सञ्जाल र बाह्रै महिना चल्ने सिँचाइ प्रणालीको ग्यारेन्टी गर्नुपर्छ ।

गोकर्ण नेपालीको सफलताको कथा युवाहरूका लागि प्रेरणाको स्रोत हो । कृषिप्रधान देशका नागरिकले बाहिरबाट चामल, तरकारी र कफी आयात गरेर खानुपर्ने अवस्थालाई मेटाउन यस्ता भूइँतहका उद्यमीहरूको ठूलो योगदान रहन्छ । सरकारले पनि स्वरोजगारको भावनालाई आत्मसात् गर्दै वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सीप र पुँजीलाई कृषि क्रान्तिमा जोड्ने ठोस राष्ट्रिय नीति र पूर्वाधार योजना ल्याउनु आवश्यक छ ।

मिति २०८३ असार १४ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।