काठमाडौँ उपत्यकाका लाखौँ तिर्खाएका व्यक्तिको प्यास मेटाउने ‘ड्रिम प्रोजेक्ट’ हो मेलम्ची खानेपानी आयोजना । सिन्धुपाल्चोकको हेलम्बुबाट २७.५ किलोमिटर लामो सुरुङ खनेर ल्याइएको पानी सुन्दरीजलमा प्रशोधन गरी उपत्यकाका घरघरमा वितरण गरिँदै आएको छ । तर यहीँ गौरवमय आयोजनाको मुहान र वितरण केन्द्र सुन्दरीजल आसपासका वासिन्दा वर्षौँदेखि काकाकुल बन्न बाध्य छन् ।
राजधानीका अन्य क्षेत्रलाई नियमित पानी आपूर्ति गर्ने मुख्य थलोमै स्वच्छ खानेपानी नपाउनु विडम्बनापूर्ण अवस्था हो । यसले राज्यको वितरण प्रणाली, योजना निर्माण र नागरिकप्रतिको न्यूनतम दायित्वमाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।
सुन्दरीजल क्षेत्रमा मेलम्चीको आधुनिक प्रशोधन केन्द्र मात्र होइन, पञ्चायतकालदेखि नै बागमती नदीको पानी प्रशोधन गर्ने पुरानो केन्द्र समेत सञ्चालनमा छ । तर विडम्बना ! गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरैजसो बस्तीका नागरिक आज पनि खानेपानीका लागि पुरानै ढुङ्गेधारा, कुवा र सार्वजनिक धाराको भर पर्नुपर्ने अवस्था छ ।
कागेश्वरी मनोहरा–३ भद्रवासकी सावित्री सापकोटाले १० लिटर पानीका लागि आधा घण्टा हिँडेर रुप्सेटार पुग्नुपर्ने र २ घण्टा लाममा बस्नुपर्ने बाध्यता बताइन् । यसले विकासको धरातलीय यथार्थ उजागर गरेको छ । संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको मौलिक हक प्रत्याभूत गरे पनि पानीको स्रोतस्थलकै बासिन्दालाई खानेपानीको हकबाट वञ्चित गरिनु राज्यको लाचारी हो ।
आँगनमा पानीको अथाह भण्डार हुँदाहुँदै १ गाग्रो पानीका लागि घण्टौँ लाममा बस्नुपर्ने नियति दुःखद हो । यस क्षेत्रमा खानेपानीको संकट हुनुको मुख्य कारण काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को पुरानो, जीर्ण र संकुचित वितरण प्रणाली हो ।
पञ्चायतकालमा निर्माण गरिएको पाइपलाइनले अहिलेको तीव्र जनघनत्वलाई धान्न सक्ने अवस्था रहेको छ । गोकर्णेश्वर नगरपालिकाले पाइप बिछ्याएर केयूकेएललाई हस्तान्तरण गर्दा समेत व्यवस्थापकीय अक्षमताका कारण पानी वितरण हुन नसक्नुले सरकारी निकायबिचको समन्वयहीनतालाई उजागर गरेको छ । सुन्दरीजलस्थित पुरानो बागमती पानी प्रशोधन केन्द्र लामो समयदेखि मर्मत–सम्भारको अभावमा प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन ।
जसका कारण अत्तरखेल र बौद्ध क्षेत्रसम्म वितरण हुने पानी धमिलो आउने गरेको र स्थानीयले छाला चिलाउने जस्ता स्वास्थ्य समस्या भोग्नुपरेको छ । मुहान क्षेत्रका बासिन्दाको सास्ती र उपेक्षा अब आक्रोशमा परिणत हुन थालेको छ । संसद्को खानेपानी तथा पूर्वाधार समितिको बैठकमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर क्षेत्रमा खानेपानीको समस्या समाधान नभए मेलम्चीको पानी राजधानीमा आपूर्ति हुन नदिने चेतावनी दिए, यसलाई हल्का रूपमा लिन मिल्दैन ।
यस्तो चेतावनी वर्षौँदेखि राज्यद्वारा ठगिएका स्थानीय जनताको सामूहिक आक्रोशको अभिव्यक्ति हो । यदि समयमै स्थानीयको माग सम्बोधन नगरिए यसले भोलि मेलम्ची आयोजनाको समग्र सञ्चालनमै गम्भीर अवरोध र मुठभेडको स्थिति निम्त्याउन सक्छ ।
दाताको अर्बौँ ऋण र मुलुकको ठूलो लगानीमा बनेको मेलम्ची आयोजनाको न्यायोचित वितरण अनिवार्य शर्त हो । काठमाडौँका अन्य भव्य महलहरूमा पानी पुर्याउनुअघि सुन्दरीजल, गोकर्णेश्वर र कागेश्वरी मनोहराका रैथाने नागरिकको घरका धारामा पानी पुग्नुपर्छ । स्थानीयलाई प्राथमिकता दिनु मुहान क्षेत्रप्रतिको दायित्व र प्राकृतिक स्रोतको न्यायोचित बाँडफाँटको विश्वव्यापी सिद्धान्त पनि हो ।
केयूकेएल र खानेपानी मन्त्रालयले सुन्दरीजल क्षेत्रमा देखिएको संकट समाधानका लागि तत्काल काम थाल्नुपर्छ । सांसद पाण्डे र केयूकेएलका प्रबन्ध निर्देशकबिच नयाँ वितरण प्रणाली निर्माण गर्ने भनी भएको छलफलले मूर्तरूप पाउनुपर्छ ।
पञ्चायतकालीन जीर्ण पाइपलाइनलाई तत्काल विस्थापित गरी नयाँ र आधुनिक वितरण सञ्जाल बिछ्याउने काम द्रूतगतिमा अघि बढाइनुपर्छ । पुरानो बागमती प्रशोधन केन्द्रको शीघ्र मर्मत गरी बौद्ध र अत्तरखेल क्षेत्रका नागरिकलाई शुद्ध पानीको प्रत्याभूति गराउनुपर्छ ।
मिति २०८३ असार ३० गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।
































