काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गभर्नर विश्वनाथ पौडेललाई बोलाएर मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री शाहले आज गभर्नर पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिषरिषद्को कार्यालयमा बोलाएर छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । ‘मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवद्र्धनका लागि आगामी आर्थिक वर्षका लागि जारी गरिएको मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन प्रधानमन्त्रीले सुझाव दिनुभएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो ।
प्रधानमन्त्री शाहले गभर्नरसँग करिब एक घण्टा छलफल गरेका थिए । यसअघि प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीहरुसँग छलफल गरेका थिए । उद्योगी व्यवसायीहरूले राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिले बैंकिङ र व्यवसायिक क्षेत्रको समस्या सम्बोधन नगरेको गुनासो गरेका थिए । प्रधानमन्त्री शाहले असार २४ मा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रनिनिधिहरूसँग आफ्नै कार्यकक्षमा छलफल गरेका थिए ।
उक्त छलफलमा उद्योग व्यवसायीहरूले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले निजी क्षेत्रले उठाएको माग सम्बोधन नगरेको भनेर प्रधानमन्त्रीसँग गुनासो गरेका थिए । त्यसदिन प्रधानमन्त्रीले भोलिपल्ट नै गभर्नरसहित उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको अध्यक्षसहितको छलफल राख्ने बताएका थिए । तर, गभर्नर पौडेल विदेशमा भएका कारण अन्तिम समयमा आएर उक्त छलफल रद्द भएको थियो ।
उक्त छलफलमा प्रधानमन्त्री शाहले मौद्रिक नीतिले अप्ठ्यारो पारेको विषयमा राष्ट्र बैंकलाई मौद्रिक नीति नै संशोधन गर्न लगाउने आश्वासन दिएको असार २४ मा छलफलमा सहभागी भएका एक व्यवसायीले बताए । प्रधानमन्त्री शाहले आज गभर्नरलाई बोलाएर निजी क्षेत्रले राखेको गुनासोका बारेमा छलफल गरेका हुन् । प्रधानमन्त्रीले सरकार र केन्द्रीय बैंक दुवैको सहकार्यबाट मात्र मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने भएकाले मौद्रिक नीतिलाई सोही अनुसार कार्यान्वयन गर्न गभर्नरलाई भनेका छन् । ‘प्रधानमन्त्रीज्यूले पुँजी बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताहरूको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका खेल्नुपर्नेमा विशेष जोड दिनुभयो,’ प्रधानमन्त्री सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । मौद्रिक नीतिमा रहेका कतिपय सीमा वा अप्ठ्यारा प्रावधानहरूलाई खुकुलो पार्दै सेयर बजारमा लगानी गर्ने वातावरणलाई थप सहज र उत्साहजनक बनाउन सुझाव दिँदै प्रधानमन्त्रीले उद्यम क्षेत्रमा सकारात्मक सुधारको खाँचो औँल्याएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
‘मुलुकभित्रै उद्योग, व्यवसाय र रोजगारी सिर्जना गर्न चाहने साना तथा ठूला उद्यमीहरूलाई बिनाकुनै त्रास सहज रूपमा लगानी गर्ने वातावरण सुनिश्चित गर्न र बैंकहरूको ब्याजदर एवं कर्जा प्रवाहका सर्तहरूलाई उद्यममैत्री बनाउन प्रधानमन्त्रीज्यूले गभर्नरलाई आग्रह गर्नुभएको छ,’ सचिवालयले भनेको छ । यसका साथै, नेपालको जगैदेखिको आर्थिक विकासका लागि महिला उद्यमीहरू र आर्थिक–सामाजिक रूपमा पछाडि परेका क्षेत्रका व्यवसायीहरूलाई कर्जा सहुलियतमा विशेष प्राथमिकता दिई उनीहरुलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने गरी मौद्रिक उपकरणहरू परिचालन गर्नु पनि प्रधानमन्त्रीले गभर्नरलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको कुरा सुनेपछि गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंक आगामी मौद्रिक नीति र आफ्ना कार्यदिशालाई अत्यन्त व्यावसायिक, लचिलो र समयसापेक्ष बनाउन प्रतिबद्ध रहेको बताएको प्रधानमन्त्रीको सचिवालयका अधिकारीले बताए ।
‘उहाँले सरकार र राष्ट्र बैंक दुवैको साझा लक्ष्य अर्थतन्त्रलाई गति दिनु नै भएको स्पष्ट पार्दै राष्ट्र बैंकले कसैलाई पनि अप्ठ्यारो पार्ने वा त्रसित बनाउने नीति नलिने दृढता व्यक्त गर्नुभयो,’ प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो । सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई राष्ट्र बैंकले नीतिगत रूपमा पूर्ण रूपमा सहजीकरण गर्ने र मुलुकको समग्र अर्थतन्त्रलाई गतिशील बनाउने प्रतिबद्धता पौडेलले प्रधानमन्त्रीसँग व्यक्त गरेका छन् ।


































