गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा नेपालकै दोस्रो लामो पुल निर्माण सम्मपन्न भएको छ ।
वर्षौँसम्म खोलापारिका दुई बस्तीबीचको दूरी केवल भौगोलिक समस्या मात्र थिएन, त्यो स्थानीयको शिक्षा, स्वास्थ्य, व्यापार, रोजगारी र विकासको गतिमा पनि ठूलो अवरोध थियो । वर्षायाममा जोखिमपूर्ण बाटो हुँदै घण्टौँ पैदल यात्रा गर्नुपर्ने बाध्यता अब अन्त्य भएको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ भट्कुवा र वडा नं. ३ फलाँटेलाई जोड्ने ५२५.१ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएसँगै स्थानीयको जीवनमा नयाँ आशा र नयाँ सम्भावनाको ढोका खुलेको छ ।
विशेषगरी दुई गाउँ जोड्ने पुल निर्माण गरिएकोमा उक्त पुल सिङगल स्पामतर्फ नेपालकै दोस्रो लामो पुल बनेको हो । यो झोलंगे पुल नेपालकै दोश्रो लामो झोलंगे पुलको रुपमा परिचित छ । पुल निर्माण सम्पन्न भए पछि रुरु क्षेत्र गुपालीका १ र ३ क हजारौँ स्थानीय प्रत्यक्ष रुपमा लाभंभित बनेका छन्। स्थानीयका अनुसार पुल निर्माणमा आए पछि दैनिक आवत जावत निकै सहज बनेको छ भने शिक्षा, स्वास्थ्य, व्यापार तथा अन्य अत्यावश्यक सेवामा पहुँच पनि सरल बनेको छन ।
नेपालकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा परिचित यो पुल सञ्चालनमा आएपछि दुई वडाबीचको दूरी केही मिनेटमा सीमित भएको छ । पुलले केवल दुई गाउँलाई मात्र जोडेको छैन, यसले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यापार तथा सरकारी सेवासम्मको पहुँचलाई पनि सहज बनाएको छ । स्थानीयका लागि यो पुल विकासको एउटा महत्वपूर्ण कोसेढुङ्गा बनेको छ ।
घण्टौँको यात्रा अब केही मिनेटमै
पुल निर्माणअघि भट्कुवाका बासिन्दाले मुख्य सडकसम्म पुग्न निकै कठिन यात्रा गर्नुपर्थ्यो । गाउँबाट पालिका केन्द्र, बजार वा अस्पताल जान लामो पैदल यात्रा गर्नुपर्ने अवस्था थियो । विशेषगरी वर्षायाममा बाटो हिलाम्मे हुने, खोलामा पानी बढ्ने र सवारी साधन पुग्न नसक्ने समस्याले स्थानीयको दैनिकी कष्टकर बन्ने गरेको थियो । तर अहिले पुल सञ्चालनमा आएपछि भट्कुवाका बासिन्दा केही मिनेटमै मदन भण्डारी राजमार्गसम्म पुग्न सक्ने भएका छन् । यसले गाउँलाई प्रत्यक्ष रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडेको छ । यातायातको सहज पहुँचले स्थानीयको दैनिक जीवनमा उल्लेखनीय परिवर्तन ल्याएको छ।
स्थानीयको जीवनशैलीमा ठूलो परिवर्तन
भट्कुवाकी सावित्रा थापाका अनुसार पहिले गाउँबाट पालिका केन्द्र वा अन्य कामका लागि निस्कन बिहानैदेखि तयारी गर्नुपर्थ्यो । गाउँमा सवारी साधन नियमित नआउने भएकाले समय मिलाएर यात्रा गर्नुपर्ने बाध्यता थियो । उनले भनिन्, “पहिले एउटा कामका लागि पूरै दिन खर्चिनुपर्थ्यो । अहिले पुल बनेपछि १० मिनेटमै मुख्य सडक पुग्न सकिन्छ । समय पनि बचत भएको छ, खर्च पनि कम भएको छ ।”
स्थानीय चम्फा थापाले पुल बनेपछि विद्यार्थीहरुलाई विद्यालय जान सहज भएको बताइन् । भड्कुवाका विद्यार्थीहरु रिडी माध्यमिक विद्यालयमा अध्ययन गर्छन । विद्यालयको आफ्नै गाडी भएपनि कच्ची बाटोको कारण नियमित पुग्न सम्भव थिएन । तर पुल बनेसँगै विद्यार्थी लिन गाडी भड्कुवा पुग्छ । फलाँटेका विद्यार्थीहरु पुल तरेर भड्कुवा आएपछि गाडी र विद्यार्थी दुवैलाई सहज भएको थापाको भनाई छ । अब विद्यालय जाने सबै विद्यार्थीलाई नियमित यातायातको सुविधा भएको उनले बताइन् ।
स्थानीय मीना भट्टराईले पुलले करिब डेढ घण्टाको यात्रा १० मिनेटमा सीमित गरिदिएको बताइन् । उनले भनिन्, “पहिले पालिका केन्द्र जान रिडी पुगेर अर्को बाटो समात्नुपर्थ्यो। अहिले गाउँमै गाडी आउँछ। समय र पैसाको ठूलो बचत भएको छ।” कमला भट्टराईका अनुसार पुलले गाउँलाई दुर्गम अवस्थाबाट सहज पहुँच भएको क्षेत्रमा रूपान्तरण गरेको छ । अब तम्घास, पाल्पा, बुटवल, रिडी तथा अन्य बजार क्षेत्रमा पुग्न निकै सजिलो भएको उनले बताइन् ।
शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच
पुल निर्माणसँगै विद्यालय जाने विद्यार्थी, बिरामी, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा आपत्कालीन अवस्थाका सेवाग्राही सबैले प्रत्यक्ष लाभ पाएका छन्। स्वास्थ्य संस्थासम्म छिटो पुग्न सकिने भएकाले आकस्मिक अवस्थामा समयमै उपचार पाउने सम्भावना बढेको छ।
यसअघि सामान्य स्वास्थ्य परीक्षणका लागि समेत घण्टौँ यात्रा गर्नुपर्ने अवस्था थियो । अहिले एम्बुलेन्स तथा अन्य सवारी साधन गाउँ नजिकसम्म पुग्न थालेपछि स्वास्थ्य सेवामा पहुँच सहज बनेको स्थानीय बताउँछन् ।
कृषक र व्यवसायीलाई नयाँ अवसर
रुरुक्षेत्रका अधिकांश नागरिक कृषि पेशामा निर्भर छन् । पुल निर्माणअघि कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन धेरै समय र खर्च लाग्थ्यो । ढुवानी खर्च महँगो हुँदा किसानले उत्पादनको उचित मूल्य पाउन सकेका थिएनन् । अब भने पुल र सडकको सहज पहुँचका कारण तरकारी, फलफूल, दूध, अन्न तथा अन्य कृषि उत्पादन सजिलै बजारसम्म पुग्न थालेका छन्। यसले स्थानीय उत्पादनको बजारीकरण बढ्ने र कृषकको आम्दानीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
स्थानीय व्यवसायीका अनुसार बजारसँगको पहुँच सहज भएपछि व्यापारिक गतिविधि पनि विस्तार हुने सम्भावना बढेको छ ।
पर्यटन विकासको नयाँ आधार
रुरुक्षेत्र धार्मिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा परिचित छ। पुल सञ्चालनमा आएपछि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ। पुल आफैं पनि आकर्षक संरचनाका रूपमा विकसित हुने विश्वास गरिएको छ। प्राकृतिक सौन्दर्यले भरिएको रुरुक्षेत्रमा आउने पर्यटकले अब सुरक्षित र सहज रूपमा विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्न सक्नेछन्। यसले स्थानीय होटल, पसल, यातायात तथा अन्य पर्यटन व्यवसायलाई समेत प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
निर्धारित समयअघि सम्पन्न
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, बुटवलमार्फत भीम शिखर–हिरा कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको पुलको लागत रु ८ करोड ८४ लाख ३४ हजार रहेको छ । २०८२ असार १९ गते सम्झौता गरिएको पुल २०८४ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्माण कम्पनीले निर्धारित समयभन्दा करिब एक वर्षअघि नै निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको हो । हाल नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल बागलुङमा रहेको ५६७ मिटर लामो पुल हो भने रुरुक्षेत्रको यो पुल नेपालकै दोस्रो लामो झोलुङ्गे पुल बनेको छ।
दीर्घकालीन विकासको आधार
रुरुक्षेत्र गाउँपालिकाले यस पुललाई गाउँपालिकाको गौरवको आयोजना तथा महत्वपूर्ण भौतिक पूर्वाधारका रूपमा लिएको जनाएको छ । गाउँपालिकाका अनुसार पुलले स्थानीयको आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा दीर्घकालीन योगदान पुर्याउनेछ । गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले चुनावी प्रतिबद्धताअनुसार पुल निर्माण सम्पन्न भएको उल्लेख गर्दै यसले स्थानीयको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार पुलले कृषिजन्य उत्पादनलाई बजारसँग जोड्ने, विद्यार्थीको आवतजावत सहज बनाउने, स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने, जङ्गली जनावरको जोखिम कम गर्ने तथा पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनेछ।
उनले विकासको वास्तविक अर्थ नागरिकको जीवन सहज बनाउनु भएको उल्लेख गर्दै यस्ता पूर्वाधारले गाउँको आर्थिक गतिविधिलाई गति दिने र आगामी दिनमा थप विकास आयोजनाको आधार तयार गर्ने विश्वास व्यक्त गरे । स्थानीयका लागि यो झोलुङ्गे पुल केवल नदीमाथि बनेको संरचना मात्र होइन, दशकौँदेखिको कठिन यात्राको अन्त्य, विकासको नयाँ सुरुआत र समृद्ध भविष्यतर्फको भरोसाको पुल बनेको छ। अब रुरुक्षेत्रका बासिन्दाले सुविधा, अवसर र विकाससँगको दूरी होइन, त्यससँगको निकटता महसुस गर्न थालेका छन् ।



































