काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी काण्डमा संलग्नहरुलाई जोगाउन खोजिए झैँ भिजिट भिसा प्रकरणलाई सामसुम पार्न खोजिएको आरोप लगाएका छन् ।
पार्टीको भातृ संगठन राष्ट्रिय किसान संगठन नेपालद्वारा आज असार १५ धान दिबसमा आयोजित कार्यक्रममा बोल्दै थापाले तर यस्ता भ्रष्टाचारका काण्डको छानबिन र दोषीलाई कानुनको कठघरामा उभ्याउने कार्यलाई जनताले बाध्य तुल्याउने समेत स्पष्ट पारे ।
‘भन्न लाई त नेपाललाई कृषि प्रधान देश भनिन्छ आज धान रोप्ने दिनको आधा समय बितिसक्दा पनि किसानले पर्याप्त रासायनिक मल नपाउने बिडम्बनापूर्ण अवस्था छ,’ थापाले भने ।
किसान, मजदुर, युवाहरुको पक्षमा सरकारले कुनै आशालाग्दो काम गर्न नसकेको तर भ्रष्टाचार र ब्रम्हलुटमा सरकार लिप्त भएको थापाको भनाइ थियो । जनताको सशक्त दबाबमा गिरिबन्धु टी स्टेट जग्गा काण्ड, वाइडबडी जहाज काण्ड, ओम्नि र यति काण्ड, माओवादी नक्कली लडाकु घोटालालगायतका सबै भ्रष्टाचारका फाइलहरू खोलिने र दोषीले उन्मुक्ति नपाउने समेत उनले दाबी गरे ।
२०८४ को निर्वाचनमा जनताले कांग्रेस, एमाले र माओवादीलाई कुनै पनि हालतमा मत नदिने मनस्थिति बनाइ सकेको भन्दै थापाले जनता विकल्पको खोजीमा रहेको बताए । राप्रपा नेपालले आफ्नो एजेन्डाका बारेमा जनतालाई राम्रोसँग बोध गराई विकल्पका रुपमा प्रस्तुत गर्न सक्नुपर्ने आबश्यकता रहेको विचार व्यक्त गरे ।
कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्षहरु डाक्टर बिष्णु भण्डारी, तेजकुमार कुरुङ्वाङ, महामन्त्री इन्द्र चित्रकार, किसान संगठनका अध्यक्ष डम्बरप्रसाद शिवाकोटी, ज्ञानेश्वर उपाध्याय लगायतले बोलेका थिए ।




































